पोलिटब्युरोमा प्रस्तुत दुई अध्यक्षका अवधारणा

0
776

थालनी ः
पंक्तिकारले केही समयदेखि नेकपाको अन्तरसंघर्ष, त्यसमा नेताहरुले अभिव्यक्त गरेका धारणा तथा आफ्नो केही अनुभवलाई जोडेर विश्लेषणात्मक कुराहरु लेख्दै आएको छ । यसै प्रसंगमा यसपटक २०७७ साल मंसीर २१ गते आइतबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी नेकपाको पोलिट ब्युरो (स्थायी समिति)मा प्रस्तुत दुई अध्यक्षका अवधारणालाई शीर्षक दिएर विश्लेषण गर्ने जमर्को गरिएको छ ।
त्यस पोलिटब्युरो बैठकमा दुईवटा अवधारणा प्रस्तुत भए भन्ने कुरा बाहिर आएको छ । एउटा अवधारणा पार्टीका पहिला अध्यक्ष कमरेड केपी शर्मा ओलीको र अर्को कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको । प्रचण्डको अध्यक्षतमा बसेको बैठकमा पहिला अध्यक्ष ओली सशरीर उपस्थित नभए पनि उनको अवधारणापत्र पार्टीकै सदस्य ईश्वर पोखरेलले वाचन गरेर सुनाए । उनको लिखितपत्र पेश भएकोले त्यही पत्रलाई उनको बैठकमा उपस्थिति मानेर सुनाइएको त्यो पत्र सार्वजनिक पनि गरियो ।
दोश्रो अवधारणा बैठककै अध्यक्षता गरिरहेका प्रचण्डले मौखिक रुपमै राखे । उनको अवधारणा बाहिर आयो । तर, त्यो जस्ताको त्यस्तै हो वा केही मिलाइएको छ, त्यो थाहा नभए पनि बाहिर आएको अवधारणा यो आलेख तयार पार्दासम्म गलत हो नभनिएकोले अहिले त्यही अवधारणालाई विश्वास गर्नुपर्ला ।

ओलीको अवधारणाको सकारात्मक सार ः
स्थायी कमिटीका सदस्यहरुलाई सम्बोधन गरी लेखेको आफ्नो दुई पृष्ठको पत्रमा ओलीले भनेका छन्– प्रचण्ड कमरेडले पेश गरेको प्रतिवेदन राजनीतिक होइन । त्यो अभियोग पत्र मात्र हो । त्यसलाई बैठकको एजेण्डा बनाउनुहुन्न । पार्टीलाई विभाजनको डिलमा पु¥याएको त्यस्तो संगीन आरोप–पत्रका बारेमा छलफल हुने बैठकमा उपस्थित हुन सक्दिन । त्यो फिर्ता लिनुपर्छ । एकीकृत हुँदाका खेलका नियमलाई अहिले केही कमरेडहरुले बदलेका छन् । सत्तामोहका कारण यस्तो भएको हो ।

मैले आउँदो महाधिवेशनमा अध्यक्ष पनि हुन्न र आउँदो आम निर्वाचनमा निर्वाचनमा पनि उठदिन भनेर पटक–पटक मौखिक र लिखितरुपमै भनिसकेको छु । महाधिवेशन चाँडै गर्नतिर नलागि त्यसअघि नै मलाई हटाउन खोजिएकोले मैले नमानेको हो मान्दिन पनि । तर, अहिलेको संकटले निकास पाओस् भन्ने मेरो सकारात्मक धारणा छ । स्थायी समितिका सदस्य कमरेडहरुको सामुहिक विवेकमाथि विश्वास छ । गत भदौ २६ गतेको स्थायी कमिटीको बैठकमा कमरेडहरुले अहिले जस्तै संकटबाट पार्टीलाई सकुशल अवतरण गराउनुभएको थियो । आशा छ, कमरेडहरुले यसपटक पनि व्यक्ति विशेषका स्वार्थका लागि आन्दोलन कै शिकार हुने गरी सिर्जना भएको बर्तमान संकटपूर्ण अवस्थालाई आफ्नो सक्रिय पहलकदमीबाट सकारात्मक हस्तक्षेप र विवेकबाट निकास दिनु हुनेछ ।

प्रचण्डको अवधारणाको सकारात्मक अंश ः
प्रचण्डले बैठकको अध्यक्षता गर्दै विभिन्न कुराहरु राखे । प्रचण्डका केही भनाई हेरौं । उनले भने– आफूले पेश गरेको प्रस्ताव फिर्ता लिन्न बरु ७८ पृष्ठको जवाफ लेख्न तयार छु । ओलीजीले फायरिङ खोलेपछि हामीले पनि जवाफी फायरिङ खोल्दा अहिलेको परिस्थिति आएको हो । बैठकको लागि पत्र लेखेको थियो, तर ओलीजी सार्वजनिकरुपमा उत्रनु भयो ।
गणतान्त्रिक प्रणाली र पार्टी एकतालाई संस्थागत बनाउन व्यक्ति र पद ठूलो कुरा होइन । हामी छँदै नेकपाको नेतृत्वमा नयाँ पुस्ता ल्याउन म पनि अध्यक्ष छोड्न तयार छु । मैले मेरो ठीक र ओलीजीको बेठीक भनेको होइन । दुबै जनाको पत्रबारे छलफल गरौं । स्थायी कमिटीमा एउटा निष्कर्षमा पुग्न सक्छ र नयाँ प्रस्ताव बनेपछि त्यसले स्वतः दुबै प्रस्तावलाई विस्थापन गर्छ । त्यहाँ नभए केन्द्रीय कमिटिमा जाउँला । त्यहाँबाट पनि नभए महाधिवेशनमा जाउँला ।

दुई जनाको एउटै कुरा ः
ओली र प्रचण्ड दुबैको अस्तित्व एक रहनुमा छ भन्ने दुबैले बुझेका छैनन् भन्ने पंक्तिकारलाई विश्वास लाग्दैन । मिलेकै कारण अहिले नेपालमा, कम्युनिष्ट नामधारी सरकार ओलीको नेतृत्वमा छ । छुट्टिने बित्तिकै कम्युनिष्ट सरकार रहँदैन । यो पनि दुबैले बुझेकै छ । त्यसैगरी दुबै जना पार्टी फुटको अपजस पनि लिन चाहँदैनन् । त्यसैले पहिले तँ पहिले तँ को कुटनीतिको सहारामा अहिले नेकपामा अन्तरसंघर्ष चलिरहेको छ र यो पुटको दिशातिर उन्मुख छ ।

अब छलफल ः
देशबाट प्रकाशित भएका केही पत्र पत्रिकामा दुई अध्यक्षका अवधारणाका आधारमा भनेका छन्– ओली रक्षात्मक बन्दै जान थाले, प्रचण्ड नेपाल पक्ष आक्रामक बन्दै गए । तर, पंक्तिकारको विचारमा दुई अध्यक्षका अवधारणामा सकारात्मक कुरा खोज्न सकिन्छ । ओलीजी बैठकमै उपस्थित हुन्न भन्दै पत्र पठाएर घुमाउरो पारामा बैठकमा उपस्थित भए । कमिटीका सदस्यहरुले विवेकपूर्ण ढंगले पार्टीको एकतालाई जोगाउन गरेको निकासमा आफ्नो मञ्जुरी छ । पहिले पनि एउटा निकास दिएर पार्टीको एकता बचाएकै हो । अब पनि बचाउने आशा छ ।

प्रचण्डले दुबैका अबधारणा पत्रलाई औपचारिक एजेण्डा बनाएनन् । तर, छलफल पनि गराए र आफ्ना कुरा पनि राखे । त्यसमा उनले भने मेरो ठीक ओलीजीको बेठीक भनेको होइन । दुबै पत्रमा छलफल गरौं । एउटा निकास निकालौं । स्थायी समितिमा नयाँ प्रस्ताव बनेपछि दुबैलाई नयाँ प्रस्तावले विस्थापन गर्छ । भएन केन्द्रीय कमिटी र त्यहाँ पनि नभए महाधिवेशनसम्म जाऔं । आफू पनि नयाँ पुस्तालाई नेतृत्वमा ल्याउन अध्यक्ष छोड्न तयार छु ।

दुबै अध्यक्षका यी संयमित विचार हुन् । अब यी संयमित विचारलाई विहंगम छलफल गरेर सदस्य कमरेड र तल्ला तहका कमरेडहरुले पनि विवेकपूर्ण विचार व्यक्त गर्दै दुबै अध्यक्षले पार्टीलाई विधान र पद्धतिमा चलाउनुपर्छ र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताका लागि काम गर्नुपर्छ भन्ने पक्षलाई शीरमा राखेर निचोडमा पुग्न कोशिस भए पार्टी फुटी हाल्ने अवस्थामा जाँदैन । होइन विचारभन्दा स्वार्थ हाबी हुन दिने हो भने भीबाट लड्ने गोरुलाई राम राम भन्न सकिन्छ काँध थाप्न सकिन्न । आगे कमरेडहरुकै हातमा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here