प्रकाशचन्द्र न्यौपानेको कविता संग्रह ‘गमलाको पीपल’

0
1600

नेपाली साहित्यको काव्य भण्डारमा अर्को एउटा नवीन कृतिको आगमन भएको छ । बुद्धशान्ति गाउँपालिका वडा नं. १ का प्रकाशचन्द्र न्यौपानेको कविता संग्रह ‘गमलाको पीपल’ भर्खरै प्रकाशित भएको छ । कृतिमा ४४ वटा कविता समेटिएका छन् । ‘घर दलान साहित्य अभियान बुद्धशान्ति’को काव्य गोष्ठीहरुमा बाचन गरिएका अधिकांश कविताहरु नै यस कृतिमा प्रकाशित भएका र सो अभियानले आपूmलाई कृति प्रकाशन गर्न प्रेरणा प्रदान गरेको कवि न्यौपानेले बताएका छन् । कमर्स विषयमा महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा प्राध्यापनरत् न्यौपानेले बाल्यकालदेखि नै कविता सिर्जना गर्दै आएका हुन् । हजुरबुबाले सानैमा सुनाएका महाभारत लगायतका कथाहरुबाट काव्यीक गुण आपूmले हासिल गरेको बताएका छन् । माता, पिता, जीवन संगीनी तथा आफन्तहरुबाट समेत साहित्य सिर्जनाका लागि अटुट हौसला पाएको बताउँछन् स्रष्टा न्यौपाने ।

कुनै एक घरमा पुग्दा, टिनको गमला बनाएर त्यसमा पीपलको बिरुवा रोपेर, बाँधेर र पूजा गरेर राखेको देखेपछि सो बारे कविता लेख्न मन लागेको कवि न्यौपाने बताउँछन् । खुल्ला ठाउँमा उम्रन, हुर्कन र बढ्न पाउँदो हो त पीपल कत्रो हुने थियो ? बढेमानको पीपलले आखिर मान्छे कै त सेवा गर्दथ्यो । त्यहीँ गएर पूजा गर्न सकिँदैनथ्यो र ? तर, मानिसहरुले वनस्पतीलाई उसको प्राकृतिक अधिकार हनन् गरेर, गमलामा जकडाएर, पेवा बनाएर राखेको देख्दा कविको मन कटक्क खाएको हुुनुपर्छ ।

यी हुन् कवि न्यौपानेका सिर्जनाहरुका विशेषताहरु । प्रा.डा. गोविन्दराज भट्टराईको विचार । ‘कृतिको शीर्षक ‘गमलाको पीपल’ एक प्रतिकात्मक, सौन्दर्य र प्रेमको प्रतिक साथै संकुचन सीमितता दर्शाउँदछ । समस्त कवितामा कुनै नैतिक दृष्तान्टका छन्, अधिकांश मानिसका बाह्याडम्बरका, पीडा, घृणा, प्रेम र आकांक्षाका छन् । पढ्दै जाँदा कवि भाइको अध्ययनमा पूर्वीय चिन्तनका सूक्ष्म भिल्काहरु देख्छु । जस्तैः ‘मलाई रुख बनाऊ मा छ ।’ संग्रहका ‘मूर्ति’, ‘प्रेम के हो ?’ जस्ता सुन्दर रचनामा कविको मीठो सिर्जनाकला छ । कविताहरुमा भित्र–भित्र गहिरो सन्देश छ ।’
मदन पुरस्कार बिजेता साहित्यकार कृष्ण धराबासीका विचारबाट गमलाको पीपल कृति नियालौँ । ‘यस कविता कृतिभित्र अनेकौँ बोन्साइ भावहरु छटपटाइरहेका छन् । कविता गद्यशैलीमा लेखिएका वर्तमान माथिका चिन्ताहरु हुन् । यस संग्रहभित्र रहेका करिब दुई कोरी कविताहरु आजको स्वतन्त्रताभित्रको निराशाका प्रतिकहरु हुन् । यी कविताहरुले सोच्न, चिन्ता गर्न र भविष्यमाथि शंका गर्न सिकाउँछन् ।’

साहित्यकार तथा गजलकार केशव आचार्यका शब्दहरुमा गमलाको पीपल कृति । ‘विम्व, प्रतिक र मिथकहरुलाई कुशलतापूर्वक प्रयोग गरी कविता कुँद्न सिपालु कवि हुन्– प्रकाशचन्द्र न्यौपाने । कवि न्यौपानेको गमलाको पीपल पढेपछि मलाई यस्तो लाग्यो, उनी समकालीन कविहरुको हाराहारीमा उभिन ल्याकत् राख्ने शक्तिशाली कवि हुन् ।’
शिक्षासेवी तथा साहित्यकार गणेश निरौलाका शब्दमा गमलाको पीपल । ‘बुद्धशान्ति गाउँपालिकामा हामीले ‘घरदलान साहित्य’को मेलो थाल्यौँ । पहिलो वर्ष नै चिल्ला पाते कवि चन्द्रप्रकाश न्यौपाने ‘वर्ष कवि’ घोषित भए । गमलाको पीपल जन्मनुमा घरदलान साहित्यको कहीँ, कतै, केही न केही आडभरोस छ भन्ने आत्मबोधले यसका अभियन्ताहरुको खुट्टा भुँइमा छैन ।’
दिग्गज, विद्वान तथा उच्च प्रतिभाहरुका यी उद्गारहरुबाट कवि तथा स्रष्टा न्यौपानेका सिर्जनाहरु कस्ता विशेषताका छन् ? थाहा लागिसकेका छन् । कृतिको नाम ‘गमलाको पीपल’ले नै कवि न्यौपानेका कविताहरुको अर्थ स्पष्ट पार्दछ । संसारका मानिसहरु, हाम्रा चाहनाहरु, अधिकारहरु, सम्भावना, स्वतन्त्रता र सार्वभौमिकताहरु, पीपल गमलामा जकडिए जस्तै जकडिएका छन् । यस्तो, कतिपय शासकका निरंकुशता, विकासवाद, क्रान्तिका नाममा मीठा सपना, अर्थतन्त्र, भूमण्डलीकरण, करपोरेट जगत अनि थुप्रै कारणले भए होलान् । विशालकाय हुनसक्ने पीपल बबुरो हुन बाध्य भएको छ । ऊ घरमै ध्वजाले बाँधिन र आकार सीमित राख्न बाध्य छ । ऊ पुजिन्छ रामै्र कुरा हो, तर गमलामा बाँधिएको पीपलले कति आशिर्वाद दिन सक्ला ? कठैबरा पीपल ? पीपल चौबाटोमा रोपिन्थे होलान्, तर कथित भौतिक विकासवादीले ठुन्क्याइ त हाल्छन् । फेरि, कोही हत्यारा, भ्रष्ट, सामन्त, शोषक, निरङ्कुशको शालिक ठड्याउनु र पुज्नु छ त्यहाँ त । त्यही भएर त पीपललाई सानो टिनको गमलामा बाँधेको । यस्तो अर्थ केवल कुनै वनस्पतिमा मात्र होइन, आम मानव समाजमा नै लागू हुन्छ । कवि न्यौपानेका कविताहरुले यस्तै उच्च सन्देश र मार्गदर्शन दिन्छन् ।

‘म, मान्छे र रोबर्ट’ कविताको केही हरफ पढौँ । ‘अब म कहिल्यै बिद्रोह गर्ने छैन, कहिल्यै अधिकार खोज्ने छैन, कहिल्यै संगठन गर्ने छैन, कहिल्यै सुविधाहरु माग्ने छैन ।’ वास्तवमा संसारका शासक, व्यवस्थाहरुले जनतालाई रोबर्ट बनाउँदैछन् ता कि जनताहरु खुरुखुरु काममात्र गरुन र शासकहरुलाई पोषुन्, बिद्रोह नगरुन् ।

‘कुरुक्षेत्रको युद्धभूमिमा, मैले कृष्ण र अर्जुनको संवाद सुने, अर्जुनले जति नै मैले पनि सुने, गीताको कर्मण्येधिकारस्ते माफलेषु ः कदाचन, युद्ध जिते अर्जुनले, र मेरै पिठ्युँमा चढेर विजय अभिमानको शंखघोष गरे, म नै त हुँ, महाभारत युद्धमा अर्जुनको बग्गी घिसार्ने घोडा, म रगताम्य थिएँ ।’ ‘बग्गीको घोडा’ शीर्षकको कविताको अन्तिम लाईनले भन्छ, ‘गुमनाम, हराएँ इतिहासको गर्भमा ।’ यो घोडाको विवश कथा भएपनि, यसको सन्देश आम मानिसहरुमा पनि लागू हुन्छ । हो यस्तै बलिया, अकाट्य, चोटीला र मन नै छेड्ने कविताहरु छन् यो कृतिभित्र ।

‘आमा’ कविताबाट केही लाईन पढौँ, ‘कोख पट्ट फुटाएर धर्तीमा टेकाइन्, रगतको आहालबाटै बेहोस–बेहोसमै, उसलाई पहिलो स्पर्श गरिन्, असह्य प्रसव पीडा, गर्भमा छोपेर आमा मुस्कुराइन्, सन्तान सुखको आनन्दमा, निमग्न निदाइन र सपना देखिन्, एउटा सुन्दर भविष्यको ।’ अब पढौँ यसै कविताको अन्तिम दुई लाईन्, ‘अनि मरिसकेकी आमाको स्मृतिमा, एकजोडी सुकिला सेता लुगा फेर्न आउँछ ।’ आजको बृद्धाश्रम र विदेश जाने संस्कृतिप्रति यो कविताले दह्रो सन्देश दिएको छ । अनि बाबुबारे पनि लेखिएको ‘मेरा बा’ शीर्षकको कविता पढ्न लायक छ ।

कवि न्यौपानेका सिर्जनाहरु उत्कृष्ट सन्देशमूलक तथा मार्गदर्शनमूलक त छन् नै त्यति नै कवि व्यक्तित्वमा पूर्वीय, पाश्चात्य र अन्य ज्ञानको ठूलो भण्डार रहेको पनि यसै कृतिले दर्शाउँदछ । झापाका त हुँदै हुन्, नेपालकै उच्च कोटीका कवि साहित्यकार हुन सक्ने प्रतिभा उनमा रहेको कुरा यस कृतिमा भूमिका, विचार व्यक्त गर्नुहुने अग्रज विद्वानहरुका शब्दहरुले नै बताउँदछन् । स्वादिला नयाँ खुराकको रुपमा आएको यस ‘गमलाको पीपल’ कविता संग्रहभित्रका कविताहरुले पाठकवर्गमा नयाँ चेतना भर्दछन् र सुधारिएका भविष्य निर्माणका प्रति जागरुक गराउँदछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here