कालिकापीठ कालीस्थानको १७ औं बार्षिक अनुष्ठान शुरु

0
758

कालीस्थान।

अर्जुनधारा नगरपालिका–९ मा रहेको देवीको सिद्ध शक्तिपीठ कालिकापीठ कालीस्थानको १७ औं बार्षिक अनुष्ठान आजदेखि शुरु भएको छ । पीठको बार्षिकउत्सवको अवसर पारेर तुलसीकृत रामायणको अखण्ड पाठपारायण प्रारम्भ गरिएको हो ।

बार्षिक उत्सवको अवसर पारेर प्रत्येक बर्ष सप्ताहब्यापी पुराणादि कार्य गरिदै आएको भएपनि यसबर्ष कोरोना संक्रमणका कारण दुईदिवसीय कार्यक्रम तय गरिएको हो । कालिकापीठ ब्यवस्थापन समितिका अध्यक्ष ज्योतिषाचार्य लक्ष्मीप्रसाद पोखरेलको अध्यक्षतामा पीठमा आयोजित संक्षिप्त कार्यक्रमका बीच आचार्य रघुनाथ रिजालले बैदिक मन्त्रोच्चारण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

आ. रिजालको आचार्यत्वमा सम्पन्न हुने अनुष्ठानमा पं. खडानन्द खतिवडा, पं भोलानाथ पोखरेल, पं. शिव अधिकारी, पं. ओमनाथ दाहाल, पं. तोया खनाल, पं. खोम मिश्रलगायतको सहआचार्यत्व रहने बताइएको छ ।

पूर्वकै प्रसिद्ध र सिद्ध शक्तिपीठको रुपमा स्थापित पीठको पूर्वीय वैदिक सभ्यता र संस्कृतिको संरक्षणका लागि ब्राम्हण बटुकहरुलाई वेदाध्ययन तथा पूर्वीय वैदिक ग्रन्थादिको अध्यापन गराइदै आएको छ । कालिकापीठले २०६३ सालबाट सञ्चालनमा ल्याएको कालिका संस्कृत विद्यापीठमा ५० अधिक बटुकहरु अध्ययनरत रहेको प्राचार्य रिजालले जानकारी दिनुभयो ।

वि.सं. २०३३ सालमा उक्त पीठ परिषरमा आयोजित बृहद आध्यात्मिक भेलामा योगी नरहरीनाथले शक्तिस्वरुपा पराम्बा दुर्गा देवीले राक्षसहरुको बध गर्ने क्रममा कञ्चनजंघा हिमालबाट चालेको पहिलो पाइलो ताप्लेजुङको पाथीभरामा र दोस्रो पाइलो कालिकापीठ कालीस्थानमा परेको शास्त्रीय प्रमाण सार्वजनिक गरेपछि पीठको महत्व बढेर गएको हो ।

पीठको दर्शन तथा पूजा आरधना गर्ने भक्तजनको मनोकांक्षा पूर्ण हुने भएकाले पनि देश–विदेशबाट भक्तजनहरु आउने गरेको बताइन्छ । धार्मिक, आध्यात्मिक र शैक्षिक क्षेत्रका सहयोगी दलमान तामाङ (चैनपुरे बा) ले ११ कठ्ठा जग्गा दान गरेपछि दानदाताहरुको स्वतस्फूर्त सहयोगबाट ५ करोड बढीका भौतिक संरचनाहरु निर्माण गरिएका छन् ।

दानदाताको सहयोगमा देवीथान, शिवालय, सप्तऋषि आश्रम, नवग्रह मन्दिर तथा त्यहाँ अध्ययनरत बटुकहरुका लागि पाठशाला, पाकशाला, यज्ञशाला, गौशाला आदि निर्माण गरिएको छ । पीठ परिषरमा रहेको अक्षयवृक्षमुनी २००५ साल अघिदेखि नै पूजाआरधना हुने गरेको भएपनि २०५६ ÷०५७ सालमा ज्योतिषाचार्य लक्ष्मीप्रसाद पोखरेलको अध्यक्षतामा पीठ ब्यवस्थापन समिति गठन भएपछि भौतिक निर्माणादि कार्यले तिब्रता पाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here