मानव सेवा आश्रमको सम्मानयोग्य कार्य

0
956

मानव सेवा आश्रमले यतिबेला सडकमा रहेका बेसाहारा मानिसको उद्धार गरिरहेको छ । आश्रमले सरकारको लक्ष्यलाई समेत सम्बोधन गर्ने गरी राष्ट्रिय उद्धार अभियान सञ्चालन गरेको हो । सरकारले वि.सं. २०७८ भित्र मुलुकलाई बेसाहारा सडक मानवरहित बनाउने उद्घोष गरेको छ भने आश्रमले त्यसको पूर्णता हुनेगरी मेची–महाकाली सडक यात्रा गरी सडकमा रहेका बेसाहाराहरुलाई साहारा दिने अभियान सञ्चालन गरेको छ । यही पुस ९ गते मेची नदीको किनारबाट शुरु भएको अभियान प्रदेश नं. २ मा पुग्दा साधन, स्रोत र क्षमताले नभ्याउने भइसकेको छ । तीन सय जनालाई उद्धार गर्ने लक्ष्य राखिएकोमा प्रदेश नं. १ बाटै अढाई सयभन्दा बढीको उद्धार गरिएको छ । उद्धार गरिएकाहरुलाई सर्लाहीको हरिओनमा रहेको मानव सेवा आश्रममा खाने, बस्ने र लाउनेको प्रबन्ध गरिएको छ । सडकमा रहेका बेसाहारा र सहयोगापेक्षीहरुलाई मानवीय सहयोग गर्ने गरी युवा उद्धारकर्मीहरु परिचालित छन् ।

उद्धारकर्मीहरुका अनुसार सडकमा मागेरै जिविका चलाउने, मद्यपान गर्नेहरु र कतिपय घर–परिवार भएकाहरु पनि छन् । काम गर्नको गाह्रोले मागेर खाने र दुव्र्यसनमा लागेकाहरु पनि सडकमा थुप्रै छन् । अभियानका क्रममा भेटिएका त्यस्ता व्यक्तिको पहिचान गरी वास्तविक बेसाहारा र सहयोगापेक्षीलाई मात्र आश्रममा व्यवस्थापन गर्ने उद्धारकर्मी तथा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताएका छन् । ‘काम गर्नको दुःखले जोगी भएँ, जोगी भएको भोलिपल्ट भोकै रहेँ’ यो भनाइ हिजोआज असत्य हुन थालेको छ । अर्थात् जोगी भएपछि भोको बस्नुपर्ने अवस्था आज नरहकाले सडक मानवको संख्या दिनहुँ बढ्ने क्रममा छ । जोगी हुँदा भोकै परिने रहेछ भन्ने अनुभूत गराउने वातावरण तयार नहुञ्जेल यो कहिल्यै नटुङ्गिने सुकम्बासी समस्या सरह बन्नेछ । यसलाई ठीक बाटोमा हिँडाउन स्थानीय सरकार र स्थानीय प्रशासनले गहिरो अनुगमन गर्नैपर्छ । सडकमा आएकाहरु कहाँबाट, कस्तो परिवेशले र कसरी भन्ने जवाफ नखोजी उद्धार गर्दा सडक मानवरहीत सडक बनाउन सकिँदैन ।

खुल्ला सीमानाका कारण भारतबाट आउने सडक मानवहरुको संख्या पनि त्यत्तिकै छ । ती कुन परिस्थिति, परिवेश र प्रबन्धबाट सडकमा आइपुगे त्यसको खोजी गर्न जरुरी छ । त्यसका लागि प्रहरी, स्थानीय प्रशासन, स्थानीय सरकार र स्थानीय जनप्रतिनिधिहरुको साझा भूमिका र जिम्मेवारी हुनुपर्दछ । परिवारबाटै अपहेलित कति सडकमानवलाई परिवारमा स्थापित गर्ने अभियान पनि सञ्चालन गर्दै दुव्र्यसनी बनेकाहरुलाई बाटोमा ल्याउने र रहेका सहयोगापेक्षीलाई मात्र आश्रममा संरक्षण गर्ने नीति बनाइए अभियान सफल हुन सक्छ । मेची–महाकाली अभियानमा संलग्न युवाहरुको उच्च मानवीय भाव र संवेदना उदाहरणीय मात्रै होइन, सम्मानयोग्य छ । अझ अभियानकै क्रममा सामाजिक सचेतना प्रदान गर्ने, स्थानीय तहहरुलाई खबरदारी गर्ने गरिएकाले सडकमा जीवन बिताउन खोज्नेहरु दुरुत्साहित हुन सक्छन् । तिनलाई सडकमा आउन नदिन वडाका प्रतिनिधिहरु, स्थानीय सरकारका प्रमुखहरु र स्थानीय प्रहरीले सहयोग गर्ने हो भने अभियानले सफलता प्राप्त गर्नेछ । मानवसेवा आश्रमको स्तुत्य सेवा अनि मात्र लक्षित उद्देश्य प्राप्तिमा सहायक बन्न सक्छ, ‘मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो’ पुष्टि हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here