चिठ्ठा परेको भन्दै ठगी

0
582

रत्नबहादुर बस्नेत
झापा,झापाका एक व्यक्ति सामाजिक सञ्जालबाट चिठ्ठाको प्रलोभनमा ठगिएका छन् । बिर्तामोड नगरपालिका–१० ठुटेबर निवासी लयप्रसाद तिवारी २५ लाखको चिठ्ठा परेको प्रलोभनमा परेर भारतीय अपराधिक गिरोहले ४० हजार रुपैयाँ असुलेपछि ठगिएको रहस्य खुलेको हो ।
लामो समयदेखि बिर्तामोड–३, सैनिकमोडमा बिराट होमियो फार्मेसी सञ्चालन गर्दै आएका तिवारी भारतीय टेलिभिजन शो कौन बनेगा करोडपतिको नाममा सामाजिक सञ्जालमार्फत ठगहरुको फन्दामा फसेको पाइएको हो ।
फार्मेसी सञ्चालक तिवारीका अनुसार प्रशिद्ध भारतीय टेलिभिजन शो कौन बनेगा करोडपतिको नाममा कथित ठगहरुबाट मोबाइलमा सामाजिक सञ्जाल फेसबुकमार्फत ह्वाट्सएप नम्बरसहित म्यासेज प्राप्त भएपछि उनी विभिन्न खेल प्रतियोगितामा सहभागी भएका थिए ।
उक्त म्यासेजमा अमिताभ बच्चन जस्तो देखिने व्यक्तिको फोटोसहित ठेगाना उल्लेख गरिएको थियो । भारतीय टेलिभिजन च्यानलमा देखाइने शो ‘कौन बनेगा करोडपति’ को नाममा ठगी हुने गरेको पाइएको हो । यसैक्रममा केही दिनमा उनलाई २५ लाख जितेको र उक्त रकम प्राप्त गर्न सरकारी कर बापत विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने भन्दै मुम्बईको ठेगानामा बैंक खाता नम्बर दिइएको थियो ।
उनले त्यहाँ तीन पटक गरेर १८ हजार रुपैयाँ जम्मा गरेका थिए भने उनीहरुको निर्देशन अनुसार बैंकमार्फत चितवनमा २२ हजार रुपैयाँ पठाएका थिए । चितवनपछि काठमाण्डौको अनलाइन ठेगानासहित सम्पर्क गर्न भनिएको थियो । ‘यसपछि जब उनीहरुले काठमाडौको पुतलीसडकमा कार्यालय रहेको र त्यहाँ पुनः ४० हजार रुपैयाँ बुझाएर भाग्य चिठ्ठामा जितेको रकम बुझ्नु भनेपछि शंका लाग्यो’– मोबाइलमा सुरक्षित विवरण देखाउँदै तिवारीले भने– ‘लगत्तै काठमाण्डौका एक साथीलाई बुझ्न लगाएँ, तर उनीबाट त्यस्तो कहीं नभएको र ठगीमा परेको जवाफ पाएँ ।’
यसबीचमा विश्वास दिलाउन भाग्य चिठ्ठा तथा पुरस्कार जितेका व्यक्ति भन्दै धेरैको फोटोसहित सम्पर्क ठेगाना समेत पठाएको र उनीहरुसँग फोन सम्पर्क पनि गरेको उनको भनाइ छ । उनले फोनमा कुराकानी हिन्दी भाषामा र आर्थिक कारोबार एसबीआई बैंकमार्फत गरेका थिए । ठगी भएको जानकारी गराउन प्रहरीमा जान खोजे पनि केही नहुने भनेर एक नेताले सल्लाह दिएपछि आफू चुपचाप बसेको तिवारीले बताए । झापाका तिवारी मात्र नभई टेलिभिजनमा जस्तै चाँडै करोडपति बन्ने सपना पूरा गर्न खोज्ने धेरै नेपाली र भारतीय समेत ठगिने गरेको पाइएकाले सबै सचेत रहनुपर्ने अधिवक्ता गुरुभक्त निरौला बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here