झापा, नेपाली कांग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको सामूहिक बलात्कार गरेको आरोप लगाएका छन् । उनले दुवै जना मिलेर मध्यरातमा इतिहासको कोतपर्व गरिएको टिप्पणी गर्दै भनेका छन् – यो अधिनायकवादतर्फको यात्रा हो ।

संसद विघटन गरेर मध्यावधि निर्वाचनमा जाने सरकारको निर्णयको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको हो ।
‘‘महामारीमा मृत्युुसंग जुधिरहेका जनतालाई निर्मम उपहार मध्यावधि इतिहासको भिन्न कोतपर्वपछि प्रधानमन्त्री अधिनायकवादको हाइवेको भ्रममा ’
प्रधानमन्त्री केपी ओलीलाई सचेत गराउँदै शर्माले भनेका छन् – ‘हेक्का रहोस्, जनता पछि होइन अघि हुनेछन्, हामी अघि हुनेछौं, जीत जनताको हुनेछ, लोकतन्त्रको हुनेछ र संविधानलाई पुनर्जीवन दिइनेछ ’
महाभारतको सार उल्लेख गर्दै शर्माले सामाजिक सञ्जाल ट्वीटरमा उल्लेख गरेका छन् – ‘अहंकारको वृक्षमा विनाशको फल लाग्छ, सिंगो महाभारतको संक्षिप्त सार यत्ति हो ।’
कारोना महामारीका समयमा निर्वाचनको रंगीन सपना महँगो पर्ने भन्दै उनले राष्ट्रपति र प्रधानमन्त्री दुबैलाई खबरदारी गर्दै लेखेका छन् – ‘बुझि राख्नु राष्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजी, महाब्याधिका बेला मध्यावधिको रंगीन सपना महंगो पर्नेछ’ संविधानको सामुहिक बलात्कारको दुश्परिणाम महंगो पर्नेछ ।’






























