पूर्वाञ्चल क्यान्सर अस्पतालले १० हजार महिलाको पाठेघर क्यान्सरको निःशूल्क परीक्षण गर्ने

0
445

बिर्तामोड ।

झापामा स्तन क्यान्सर र पाठेघर क्यान्सरका बिरामीको संख्या बढ्दै गएका छन् । ४० वर्ष उमेर समूहमाथिका महिलाहरुमा मात्र देखिने गरेको स्तन क्यान्स पछिल्लो समय युवतीहरुमा समेत देखा पर्न थालेको पूर्वाञ्चल क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डाक्टर विरेन्द्रकुमार यादवले जानकारी दिए । खानपान र वातावरण परिर्वतनका कारण पछिल्लो समय क्यान्सर रोगीको संख्यामा बृद्धि भएको बताइएको छ ।

यसैबीच पूर्वाञ्चल क्यान्सर अस्पतालले १० हजार महिलाको पाठेघर क्यान्सरको निःशूल्क परीक्षण गरिदिने लक्ष्य लिएको छ । पहिलो चरणमा एक हजार महिलाको परीक्षण गरिने भएको हो । अस्पतालका सिइओ डा. निराजन प्रसाईले निःशूल्क परीक्षणसँगै एक लाखबराबरको उपचार खर्च पनि व्यहोर्ने बताए ।

महिलाको पाठेघरमा क्यान्सर रोगको जोखिम अत्यधिक भएको भन्दै स्वास्थ्यको पहुँच नपुगेका महिलाको चेतना बढाउन पनि अस्पतालले निःशूल्क परीक्षण गर्न लागेको बताए । सोमबार अस्पतालमा पत्रकार सम्मेलन गर्दै अस्पतालले एक हजार गरिब परिवारको स्वास्थ्य बिमा गराउने योजना पनि अघि सारेको जानकारी दिए ।

महिलामा पाठेघर क्यान्सर, स्तन क्यान्सर र अण्डादानी क्यान्सरको स्थिति भयावह बन्दै गएको उल्लेख गर्दै डा प्रसाईले अस्पतालको सामाजिक उत्तरदायित्व अन्तर्गत दुवै योजना अघि सारिएको बताए । उनले भदौ ६ गतेदेखि निशूल्क ओपीडी सञ्चालसँगै २५ प्रतिशत छुटमा स्वास्थ्य सेवा उपलब्ध गराउने पनि जानकारी गराए । क्यान्सर पीडितलाई मध्यनजर गर्दै आउँदो सातादेखि अन्को फुड सर्भिस शुरु गर्ने बताए ।

विपन्न नागरिक कोष सञ्चालन गरिसकेको अस्पतालले ५४० जनालाई सेवा दिइसकेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here