झापा।

१ नं. प्रदेशकै चर्चित र प्रख्यात पत्रकार तथा साहित्यकार नकुल काजीको २२ औं कृति प्रकाशमा आएको छ ।
‘राजनीतिक उगाल’ शीर्षकको सो पुस्तक लेखकको व्यंग्य विधा तर्फको तेस्रो पुस्तक हो । २०१९ सालदेखि नै हास्यव्यंग्य विधामा लेख्न थालेका उनका फुटकर रूपमै विभिन्न पत्रपत्रिकाहरूमा हालसम्म लगभग १३÷१४ हजार व्यंग्य प्रकाशित भइसकेका छन् ।
कृतिगत रूपमा यो पछिल्लो सिर्जनासहित साहित्यकार काजीका कविता, खण्डकाव्य, कथा, निबन्ध, उपन्यास समेतका गरी २२ वटा कृति प्रकाशित छन् ।
७७ वर्षीय स्रष्टा काजीको नयाँ सिर्जना ‘राजनीतिक उगाल’ देशको राजनीतिलाई विषयवस्तु बनाएर लेखिएको व्यंग्यात्मक कृति हो । जसमा मुख्य पात्र हरिराम बाजे मार्फत २०७८ सालको जेठ महिनाभरिका लोकतन्त्रविरोधी राजनीतिक उतारचढावलाई केन्द्रमा राखेर तीखो व्यंग्यवाण प्रहार गरिएको छ ।
ठेट नेपाली लवज प्रयोग गरेर लेखिएको यो ‘राजनीतिक उगाल’ नामक पुस्तकले रोचकताका साथ पाठकलाई भरपूर मनोरञ्जन दिन्छ ।


























