नेपालकै दोस्रो लामो झोलुङ्गेपुल महाशाखालाई हस्तान्तरण

0
849

विमल दहाल, इलाम ।

माई-६ महमाईकी ७० बर्षिय अमृतमाया फ्याक माई खोला तर्दा बिताएका कहाली लाग्दो घटना संझदै एकोहोरो बन्नु हुन्छ । वहाँ रोकिदै भन्नु हुन्छ-‘३ बर्ष अघि ३ जना आफन्त नानिहरु स्कुलबाट घर फर्कदा यहि खोलाले बगाएर अहिले सम्म बेपत्ता भएको छन, वारीपारी गर्नेलाई ज्यान जोखिममा राखेर तर्नु पर्ने बाध्यता थियो, बिस्तारै ती दुखका दिन हटदै गएका छन’ ।

बृद्धअबस्थाकी फ्याक बिगतमा बिताएको बाध्यात्मक कष्टकर जीवन अब हटेको भन्दै पुल निर्माण गराउने सबैलाई आशिर्बाद दिएको बताउनु हुन्छ । माई-६ को बिहिबारे र माई -१ को घण्टे जोडने माईखोलामा नेपालकै दोस्रो लामो ८ सय २२ दशमलब २२ मिटर लामो पुल बनेपछि अबका सन्तान खोलामै बगेर ज्यान फाल्नु पर्ने दिन सकिएको महमाई-६ का ७६ बर्षिय निल बहादुर फत्र भनाई छ ।

बहाँ शनिबार मात्र आवतजावत खुला गरिएको झोलुङ्गे पुलको बिच भागमा अडिएर अबका सन्तानलाई खोलामै बगेर मर्नु पर्ने दिन सकिएको भन्दै खुशी ब्यक्त गर्नु हुन्छ । माई-१ का दिपक श्रेष्ठ माई नगरको माझीटार, खत्रपा,ज्वाले, घन्टे, महमाई लगायत जितपुर सिद्धिथुम्का, देउमाईका बासिन्दालाई झोलुङ्गेपुलले कष्टकर दिन हटाएको बताउनु हुन्छ । स्थानीय भानुभक्त राई खाध्यान्न लगायतका सामाग्री ट्युवमा हालेरै भएपनि जीवन गुजारेको संझदै ती दिन सकिएकोमा आफु लगायत गाँउनै खुशी भएको जानकारी दिनुभयो ।


निर्माण कम्पनि उमा थानी हिमशिखर जेभीले २०७७ असार २२ गते संझौता गरि २०७९ असार १९मा सम्पन्न गर्नु पर्ने भए पनि लक्ष्यभन्दा ६ महिनाअघि नै १० करोड ३ लाख ७४ हजार १ सय १२ रुपैया २३ पैसामा पुल निर्माण सम्पन्न गरेको हो । निर्माण सम्पन्न पुल शनिबार झोलुङ्गे पुल महाँशाखालाई हस्तान्तरण गरिएको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विभाग एसपेन्सन ब्रिज डिभिजन पुलचौक ललितपुरका सब इन्जिनियर उपेन्द्र देवकोटाले जानकारी दिनुभयो । सब ईन्जिनियर देवकोटाले माईका मेयर दिपक कुमार थेबे र वडा नम्बर -६ का वडाध्यक्ष मुखराज आङ्दम्बेको प्रमुख सकृयतामा पुल बन्न सकेको जानकारी दिनुभयो ।

सात वटा पिलरसहित निर्माण भएको पुलमा चार वटा मुख्य टावर छन् भने ३ वटा मेन एक्करेज ब्लक रहेको छ । माईका मेयर दिपक कुमार थेबेले निर्माण सम्पन्न पुलको अनुगमन गर्दै केही दिनमै प्रबिधिक परिक्षण पछि महाँशाखा मार्फत स्थानीय समुदायले जिम्मेवारी ग्रहण गरिने जानकारी दिनुभयो ।झोलुङ्गे पुललाई पर्यटकीय महत्त्वका हिसाबले पनि विशेष मानिएको छ । अहिले टिकटक बनाउने र सेल्फी खिच्नेको भिड लाग्न थालेको छ । पैदल हिड्दा १५ मिनेट लाग्ने पुलको विच भागमा नगरकै लगानीमा छानो सहितको प्रतिक्षालय बनाईने मेयर थेबेले बताउनु भएको छ ।

निर्माण भएका झोलुङ्गे पुलहरुमा महाकालीको चाँदनी दोधारा जोड्ने १ हजार ४ सय ५२ मिटर लामो पुललाई नेपालकै लामो मानिन्छ भने माई खोलामा निर्माण सम्पन्न यो पुल दोस्रो हो । नेपालको भुभाग त्रिवेणी सुस्ताको सिमाना नारायणी नदिमा भने १५ सय ७२ मिटर लामो झोलुङ्गे पुल निर्माणाधिन अबस्थामा रहेको बताईएको छ ।

पछिल्लो ४ बर्षको अबधिमा यो संगै अन्य ४ बटा झोलुङ्गे पुल र एक पक्की पुल बनि सकेको माईका मेयर दिपक कुमार थेबेले जानकारी दिनुभयो । माई-१ को चेप्टी र माई-८ को दुङदुङ्गे, चेप्टी र भतभते तथा ढकने र भतभते बिचमा साथै माई-१ को पालटार र माई-७ को लक्ष्मीबाधको चण्डालघाटमा ५ सय ५० मिटर लामो पक्की मोटरेबल पुल निर्माण सम्पन्न भईसकेका छन भने माई-६ को सेतिखहरे र माई-१ को ज्बाले बिचमा टेन्डर लागि सकेको छ । यो संगै ईलामको कर्णाली भनेर चिनिने महमाई अहिले चौतर्फी विकासले फड्को मार्दै रहेको वताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here