काठमाण्डौं ।

नेपाल र भारतबीच कालापानी क्षेत्रलाई लिएर असमझदारी कायमै रहेका बेला हुन लागेको प्रधानमन्त्री शेरबहादुर देउवाको दिल्ली भ्रमणले आपसमा विश्वासको वातावरण तयार गर्ने अपेक्षा भारतीय पक्षले गरेको छ । देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीको भेटवार्ताले दुई देशबीच देखिएका समस्या समाधानका लागि बाटो पहिल्याउने आशासमेत उनीहरूले गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणमा देउवा शुक्रबार नयाँदिल्ली आउँदै छन् । देउवाले दोस्रो दिन भारतीय समकक्षीसँग भेटवार्ता गर्ने कार्यसूची छ । नेपालबाट प्रधानमन्त्री स्तरको भारत भ्रमण चार वर्षपछि हुन लागेको हो । यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली २०७४ चैतमा भारत आएका थिए । यसबीचमा दुई देशबाट जारी छुट्टाछुट्टै नक्सा, नेपाली भूमि मिचेर भारतद्वारा संरचना निर्माण, भारतीय अधिकारीहरूका अभिव्यक्तिलगायत विषयले नेपाल–भारत सम्बन्ध चिसिएको थियो । भारतले सन् २०१९ नोभेम्बरमा लिपुलेकसम्मको क्षेत्र समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो । त्यसपछि जेठ पहिलो साता नेपाल सरकारले लिम्पियाधुरासम्मको भूमि समेटेर नयाँ ल्यायो, जसलाई संविधान संशोधनमार्फत निसाना छापमा पनि राखियो । नेपालले नयाँ चुच्चे नक्सा प्रकाशन गरेपछि भारतीय अधिकारीले चीनको उक्साहटमा त्यस्तो गरिएको धारणासमेत राखेका थिए । देउवा पाँचौंपटक प्रधानमन्त्री भएदेखि भारतसँग सम्बन्ध सुधार गर्न खोजिरहेका छन् ।
दिल्लीकी पत्रकार ज्योति मल्होत्रा नेपालको सत्तामा देउवा आएपछि दुई देशबीचको सम्बन्धमा सकारात्मक विकास भएको देख्छिन् । ‘दुई अनुभवी नेताबीच राम्रो समझदारी विकास हुन सक्छ,’ उनले भनिन्, ‘सीमा मामिला नयाँ होइन, ब्रिटिस कालदेखिकै हो । यसलाई समाधानको दिशामा लान दुवै नेताले केही पहलकदमी लिन सक्ने विश्वास गर्न सकिन्छ ।’ ‘द प्रिन्ट’ की वरिष्ठ सम्पादक मल्होत्राको बुझाइमा केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि नेपाललाई ‘एन्टी–इन्डिया प्लेटफर्म’ का रूपमा विकास गरिएको थियो ।
‘ओलीजीकै अभिव्यक्तिहरू पनि विवादमा आउँथे । ओली सत्ता सम्हालेको केही समयसम्म चीन पक्षधर नेताको रूपमा चिनिएका थिए,’ उनले भने । पत्रकार मल्होत्राले ओलीको अभिव्यक्तिका कारण भारतमा पनि नागरिक स्तरमा नेपालप्रति दृष्टिकोण बदलिएको बताउँछिन् । ‘पछि ओलीजी भारतसँग व्यक्तिगत सम्बन्ध सुधार्ने क्रममा हुनुहुन्थ्यो तर त्यहाँ सरकार बदलियो,’ उनले भनिन् । माओवादी नेता पुष्पकमल दाहाल पनि भारतमा ‘प्रो–चाइना’ (चीन पक्षधर) व्यक्तिका रूपमा चिनिने गरेको उनले उल्लेख गरिन् । ‘त्यसैले कांग्रेस र त्यसका नेता देउवाले सरकारको नेतृत्व गरेका बेला भारतसँगको सम्बन्ध विश्वसनीय हुन सक्छ,’ उनले भनिन् ।
नेपाली कांग्रेस र भारतीय कंग्रेस पार्टीबीच परम्परागत सम्बन्ध छ । तर अहिले भारतमा कंग्रेस कमजोर अवस्थामा छ । यस्तो स्थितिमा नेपाली कांग्रेसले भाजपासँग सम्बन्ध बढाउन जोड दिनुपर्ने र भाजपाले पनि त्यो अवसर लिनुपर्ने पत्रकार मल्होत्रा बताउँछिन् । देउवा सरकार आएपछि नेपालमा चीनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको उनको बुझाइ छ ।
साउथ एसियन युनिभर्सिटीको अन्तर्राष्ट्रिय विभागका सहायक प्राध्यापक धनञ्जय त्रिपाठी नेपाल धेरै नै ‘प्रो–चाइना’ हुन पुगेको मान्यता राख्नेको संख्या भारतमा बढेको बताउँछन् । देउवाको आगमनले त्यसलाई चिर्ने र आपसी विश्वास बढाउने अपेक्षा भारतले गरेको उनले बताए ।
‘चीन दक्षिण एसियमा प्रभाव बढाउने प्रयत्नमा छ, प्रायःजसो देश चीनतिर ढल्किएका छन्,’ त्रिपाठीले भने । अमेरिकी अनुदान रहने एमसीसी सम्झौतालाई नेपालको संसद्ले अनुमोदन गरेपछि नेपालको राजनीतिक ‘डिस्कोर्स’ ठीक ठाउँमा आएको उनको भनाइ छ । ‘नेपाल र भारतबीच अगाडि आएका विवाद लामो समय राख्दा जनस्तरकै सम्बन्धमा अप्ठ्यारो पर्न सक्छ । दुवै नेताले निकास दिन सक्नुपर्छ,’ उनले भने ।
नेपाल–भारत सम्बन्धलाई नजिकबाट नियाल्ने जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) की प्राध्यापक संगीता थपलियाल दुई देशका प्रधानमन्त्रीहरूबीच निरन्तर संवाद भइरहनुपर्ने बताउँछिन् । कुनै एउटा विषयमा समस्या देखिँदैमा भारत–नेपाल सम्बन्ध बिग्रियो भन्नु गलत हुने उनको भनाइ छ । ‘दुई देशबीच धेरै प्रकारका सम्बन्ध छन् । सीमा क्षेत्रलाई लिएर उत्पन्न असमझदारीले बाँकी सम्बन्ध खराब भयो त ?’ उनले भनिन्, ‘दुई देशबीच विवाहबारी, आउजाउ, व्यापार व्यवसाय, धार्मिक, सांस्कृतिक, राजनीतिक, सर सहयोगको सम्बन्ध त रोकिएन ।’ जेएनयूमा सेन्टर फर इनर एसियन स्टडिजकी प्रमुख रहेकी थपलियालले सीमालाई लिएर देखिएको असमझदारी वार्ता र संवादबाट हल हुँदै जाने विश्वास व्यक्त गरिन् । उनले भारत र नेपालबीच राजनीतिकबाहेक भावनात्मक र व्यक्ति व्यक्तिबीचको सम्बन्ध रहेकाले नेताहरूले त्यसमा सहजीकरण दिए पुग्ने बताइन् ।
नेपालसम्बन्धी विषयमा अनुसन्धान गर्दै आएका निहार आर नायक लामो अन्तरपछि दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता हुनु स्वागतयोग्य रहेको बताउँछन् । उनले पनि देउवाको भ्रमणले विश्वासको वातावरण निर्माण गर्ने धारणा राखे । तत्कालीन प्रधानमन्त्री ओलीका सार्वजनिक अभिव्यक्तिले पनि भारतमा नेपालप्रति अविश्वासको वातावारण बनाउन सघाएको उनको पनि बुझाइ छ ।
मनोहर परिकर रक्षा अध्ययन एंव विश्लेषण संस्थानका अनुसन्धानकर्ता नायकले देखिएकामध्ये सीमाको मुद्दा ठूलो रहेकाले सीमासम्बन्धी संयन्त्रलाई सक्रिय पार्नुपर्नेमा जोड दिन्छन् । नेपाली कांग्रेस पुरानो, लोकतन्त्र, बहुदल र मानवअधिकारमा विश्वास राख्ने पार्टी भएको र भारत ठूलो लोकतान्त्रिक देश रहेको हुनाले सम्बन्ध विस्तारका लागि अहिले दुवैतिर अनुकूल स्थिति रहेको उनले बताए ।-ekantipur


























