
युरोपको व्यस्त मुलुक बेल्जियम । राजधानी ब्रसेल्सको बसोबास । जीविकोपार्जनका लागि आफ्नै व्यवसायको व्यस्तता । तर, इच्छाशक्ति हुने हो भने असम्भव केही छैन भन्ने उदाहरण बनेका छन्– विमल गिरी । दुई दशकदेखि ब्रसेल्समा रहेका उनले आफ्नो जिविकोपार्जनका अनेकन व्यस्तताका बीच नेपाली भाषा साहित्यमा महत्वपूर्ण योगदान दिँदै आएका छन् । ‘साहित्य साधना मेरो लागि अम्मल जस्तै भएको छ’– विमल भन्छन् । युरोपमा बिना काम कोही रहँदैन, काम नगर्नेहरुको जीवन अझै मुस्किल हुन्छ ।
दिनभरिको काम, शारीरिक एवम् मानसिक थकानलाई उनी साहित्य साधनाबाट मेटाउँदै आएका छन् । झापाको बिर्तामोड–२ चारपानेका स्थायी बासिन्दा उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियम शाखामा पनि आबद्ध रहेर भाषा साहित्यका गतिविधिमा सक्रिय छन् । त्यहाँ नेपालीहरु संगठितरुपमा नेपालको विकास, भाषा र साहित्यको विस्तारमा चिन्तन गर्छन् । ब्रसेल्समा विमल नेपाली भाषा साहित्यमा राम्रो दख्खल राख्ने साहित्यकारको रुपमा परिचित छन् ।
लेख्ने समय कम भए पनि उनले विशेषतः गीत, मुक्तक, हाइकु र कवितामा राम्रो छाप छोडेका छन् । उनका आधा दर्जन कृति प्रकाशित भइसकेका छन् भने केही कृति प्रकाशोन्मुख अवस्थामा छन् । उनका गीतमा प्रकृति चित्रण, मायाप्रेमदेखि राष्ट्रप्रेम छताछुल्ला पोखिएको पाइन्छ ।
सम्झनाका बाछिटा हृदयमा छरिरहेँ
सम्झँदै परेलीमा आँशु बनि झरिरहेँ
यादहरुलाई बिर्सिएर दुख्ने घाउ छोपेँ भने
माफ गरे हुन्छ मलाई कतै चोट रोपेँ भने
कालले देखोस् भनेर म यताउता सरी रहेँ
सम्झँदै परेलीमा आँशु बनि झरी रहेँ
छातिभित्र मुटुसँगै तिमी त छौ भन्थेँ म
सिरानीमा आँशु झार्दै ताराहरु गन्थेँ म
तड्पिएर के मर्नु पल–पल आफैं मरिरहेँ
सम्झँदै परेलीमा आँशु बनि झरिरहेँ ।
मुक्तक उनको लेखनको अर्को रुचीको विधा हो । निकै राम्रा र चर्चित मुक्तकहरु उनले रचना गरेका छन् । सुन्नेहरु उति नै रमाउँछन् ।
बिना सम्झौता सौदाको दाउपेच हुन्छ
भिडभाड हुन्छ, कुर्सी हुन्छ, मेच हुन्छ
निःसङ्कोच निर्लज्ज हुँदै ठाउँको ठाउँ
मेरो मुलुकमा त, संसद किनबेच हुन्छ ।
चुनावको बेला सम्बन्ध जोड्नेहरुदेखि होसियार
धान भनेर खेतमा सामा छोड्नेहरुदेखि होसियार
डेमोक्रेसीका ठूला कुरा गर्ने र जनमतसँग तर्सिने
राजनीतिज्ञको गेरुवस्त्र ओड्नेहरुदेखि होसियार ।
थुङ्गाथुङ्गा मिलेर फूल बनि बास्ना छरूँ
आयु छोटै होस् बरु राम्रो काम गरूँ
मेरो इच्छा लामो आयु चाहिन्न मलाई
सुवासित भई बाँचू सुवासित भई मरूँ ।
उस्तै लाग्छ अचेल तिमी पनि जून पनि
हेरी रहुँ लाग्छ सधैँ डर लाग्छ छुन पनि
थाहै नपाई मनमुटुमा रहिरन्छ्यौ पापिनी
अहिलेसम्म सकिनँ तिम्रो नजिक हुन पनि ।
उनको लेखनको अर्को रुचीको विधा हो– हाइकु । नेपाली साहित्य क्षेत्रमा उत्कृष्ट हाइकु रचना गरेर उनी उत्तिकै चर्चामा छन् । उनका हाइकु अर्थपूर्ण लाग्छन् । उनको हाइकु पढ्दै गर्दा या सुन्दै गर्दा कति साहित्यप्रेमी सँगै भावनामा बग्छन् ।
डुङ्गा उस्तै छ
छैन माझी अचेल
आलै छ याद ।
यादको छाल
जून निभेको साँझ
तिमी अनि म ।
उसैगरी कविता मा उनी उत्तिकै डुबुल्की मार्छन् ।
अहँ, होइन रहेछ
के हो यो
सपनी या विपनी
बहुलाउनु पनि नहुने
चिच्याउँदै बहकिनु पनि नहुने
निरन्तर, निरन्तर
दुःखी रहेकी छु
मनको बलेसीमा
बह बगाउँदै
हरेक साँझमा हुने घामको आत्महत्यासँगै
कठिन परिस्थितिमा
कसरी पोखौँ मनका बह
जम्मै याद छ
भुलौ पनि कसरी
खुशीका ती पलहरू
एक्लै छोड़ेर
नआउने बाटो गयौ
नफर्किने गरेर
अगाडि जाउ अँध्यारो छ
पछि जाउ लड्ने डर
पुराना तिनै
तिम्रै मीठा यादहरू
बोकेर सुस्ताउँदै
ठिक त्यही ठाउँमा
जिन्दगीलाई पछाडि फर्केर
जतनसित
समयले धमिल्याइ दिएको
तिम्रो फोटो हेर्दै
नितान्त एक्लो
महशुस गरिरहेकी छु
भन न प्रिय
तिमी कहाँ छौ ?
उनका गजलले समेत साहित्यप्रेमीलाई उत्तिकै मन्त्रमुग्ध बनाउँछ । उनका रचना जीवनप्रतिको आशा, उत्साह र ऊर्जा थप्ने हुन्छन् । चाहे त्यो मानव प्रेम या राष्ट्र प्रेममा होस् ।
बैंश त्यसै ओइलियो रहरमा हजुरको
सम्झना हुन्छ हरेक प्रहरमा हजुरको
एक्लै दुःख अलापी मन भुलाउँदैछु
के छ खबर कोन्त शहरमा हजुरको
सग्लो जीवन बाँच्न धेरै गाह्रो भो यहाँ
बैंशको मधुमास छैन रहरमा हजुरको
जिन्दगी यो दुई दिनको सँगै बिताउँदै
फैलिन पाउँ सागर झै लहरमा हजुरको ।
भोजपुरको दोभाने–४ सालेभामा जन्मिएका उनका उपसना गिती सिडी– २०६५, सम्झनाका तरेलीहरु गिती संग्रह– २०६६, गोधुली मन मुक्तक संग्रह– २०६९, स्पन्दन छालहरु मुक्तक संग्रह– २०७२, विभाजित मन– २०७३ प्रकाशित भइसकेका छन् । उनका साल्पा कविता संग्रह, हाइकु संग्रह र मुक्तक संग्रह प्रकाशनको तयारीमा छन् ।
अनेसास संयुक्त राज्य अमेरिकाका आजीवन सदस्य उनी अनेसास बेल्जियम च्याप्टरको अध्यक्ष भएर नेतृत्व समेत गरिसकेका छन् । ०६८–०७० सम्म अध्यक्ष रहेका उनले आफ्नो कार्यकालमा नेपाली भाषा साहित्यको विकास र विस्तारमा थुप्रै गतिविधिमार्फत उल्लेख्य योगदान गरेका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास बेल्जियम शाखा सन् २००७ देखि स्थापना भएको बेल्जियम भूमिमा छरिएका नेपाली भाषीहरुको साझा चौतारी हो ।
यस चौतारीले नेपाली भाषा, संस्कृती र साहित्यप्रेमीहरुलाई शितल छाहारी प्रदान गरी सिर्जनाका लागि सँधै ओतप्रोत गराइराखेको छ, जसको फलस्वरूप थुप्रै पुस्तकहरु प्रकाशन भएका छन् । उनका अनुसार बेल्जियम डायस्पोरामा नेपाली भाषा र संस्कृतिको उठानमा लागीपरेको पाइन्छ । यसरी प्रवासी भूमिमा बसेर पनि दिएको भाषिक, सांस्कृतिक र साहित्यिक योगदानले सिंगो नेपाली बांग्मयको विकासमा प्रत्यक्ष टेवा पु¥याइरहेको प्रमाणित हुन्छ ।
बेल्जियम नेपाली डायस्पोरामा अनेसास बेल्जियम शाखाले स्थापनाकालदेखि नै बिभिन्न साहित्यिक कार्यक्रमको आयोजना गर्ने, साहित्यकारहरुको सम्मान गर्ने, नया स्रष्टाहरुलाई उत्साह दिने, प्रकाशनमा सहयोग पु¥याउने जस्ता उदाहरणीय कामहरु गर्दै आएको छ । शुरुदेखि नै भाषिक र साहित्यिक उत्थानको लागि आफ्नो कार्यक्रमहरु तीव्ररुपमा अघि बढाइरहेको उनी बताउँछन् ।
२०६७ सालमा अनेसास बेल्जियमबाट प्रकाशित श्रद्धाञ्जली पत्रिकाको उपसम्पादक समेत भएर उनले भूमिका निर्वाह गरेका छन् । प्रवासमा रहेर पनि नेपाली भाषा, साहित्यमा विमलले गरेको योगदानको कदर गर्दै २०७० मा भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतले उनलाई पुरस्कृत ग¥यो । नेपाल सरकारले समेत उनको योगदानको कदर गरेको छ । ‘भानुभक्त स्वर्ण पदक २०७२’ मा सरकारले विमललाई प्रदान ग¥यो । युरोपका सबै मुलुकसहित वंगलादेश, थाइल्याण्ड, साउदी, बहराइन, कतार लगायतका मुलुकको उनले समय–समयमा भ्रमण समेत गरेका छन् ।
साहित्य साधना मात्र होइन त्यहाँका नेपालीहरु बीच हुने निक्कै प्रभावशाली र प्रिय व्यक्तित्वको रुपमा आफ्नो परिचय बनाउन सफल भएका छन् । जिविकोपार्जनका लागि ब्रसेल्समा उनी आफ्नै व्यवसायमा व्यस्त हुन्छन् । व्यवसायमा जीवनसंगीनी उषा गिरीको साथ छ । छोरा–छोरी उतै उच्च शिक्षासँगै रोजगारीमा छन् । कुशल अभिभावक, व्यवसायी उनी जति नै व्यस्त भए पनि ‘अम्मल’ बनेका कारण साहित्य साधनामा रमाउने गर्छन् । युरोप भ्रमणका क्रममा रहने उच्च पदस्त नेपालीदेखि आफ्ना आफन्तहरु त्यहाँ पुग्ने गर्छन् । सबैलाई उत्तिकै आतिथ्य प्रदान गर्छन् । बोलीमा युवा ऊर्जा र मिठास उनका अर्को विशेषता हुन् । नेपाली भाषा, साहित्य क्षेत्रमा उनको क्रियाशीलता अझ बढेर जाओस्–शुभकामना ।
– पूर्वाञ्चल डेस्क




























