
बिर्तामोड । पूर्वाञ्चल दैनिकका डेस्क सम्पादक लक्ष्मण ढकाललाई उत्कृष्ट सञ्चारकर्मीको सम्मान प्रदान गरिने भएको छ ।
झापा जिल्ला सहकारी संघले ढकाललाई उत्कृष्ट सञ्चारकर्मीको सम्मान प्रदान गर्ने भएको हो । पुरस्कारको राशि नगद १० हजार ५५५ रुपैयाँ रहेको छ । ०३४ साल मा विश्वदीप मासिकबाट पत्रकारिता यात्रा सुरु गरेका ढकाल पत्रकारितामा निरन्तर क्रियाशील छन् ।
संघले यस वर्ष सम्मान तथा पुरस्कृत गर्ने संस्था र व्यक्तिको नाम सार्वजनिक गरेको छ । संघका अध्यक्ष गणेश ढकालले यस वर्ष संघले सम्मान गर्नेहरुको नाम घोषणा गरेका हुन् ।
झापा जिल्ला सहकारी संघ लिमिटेडले ६५ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर झापामा पहिलोपटक आयोजना गरेको जिल्लास्तरीय सहकारी सम्मेलनको उद्घाटनका अवसरमा उक्त घोषणा गरिएको हो ।
यस वर्ष झापा सहकारी सम्मान पुरस्कार दिपकप्रकाश बाँस्कोटालाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि नगद २५ हजार ५५५ रुपैयाँ रहेको छ । त्यस्तै, पूर्वसञ्चालक सम्मान हरिकिशोर आचार्य लाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि नगद १० हजार ५५५ रुपैयाँ रहेको छ ।
त्यस्तै, उत्कृष्ट बहुउद्देश्यीय सहकारीका रुपमा गणेश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, उत्कृष्ट बचत तथा ऋण सहकारीका रुपमा सिम्रिक साकोस, उत्कृष्ट कृषि सहकारीमा लगनशील कृषि सहकारी संस्था रहेका छन् ।
उत्कृष्ट बचत कारोबारमा नेपाल बहुउद्देश्यीय र उत्कृष्ट कर्जा कारोबारमा फाल्गुनन्द साकोस रहेका छन् । उनीहरु सबैलाई पुरस्कारस्वरुप नगद १० हजार ५५५ रुपैयाँ प्रदान गरिने अध्यक्ष ढकालले बताए ।
यसैबीच, उत्कृष्ट व्यवस्थापक महिलामा हिमाञ्चल साकोसकी अरुणा राई र पुरुषमा विराट बहुउद्देश्यीयका रुद्र सिटौला रहेका छन् । उनीहरुलाई नगद ५ हजार ५५५ रुपैयाँसहित पुरस्कृत गरिनेछ ।
पुरस्कृत संस्था तथा व्यक्तिहरुलाई संघको आगामी साधारणसभा सम्मान तथा पुरस्कार प्रदान गरिने जनाइएको छ ।































