कसिलो गठबन्धनले एमालेलाई ‘धक्का’, झापालाई लालकिल्ला बनाउने एमालेको दाउ

0
441

सुरेन्द्र भण्डारी

झापा, राष्ट्रियस्तरको गठबन्धन कसिलो बन्दै जाँदा सँधै राजनीतिको चर्चाको शिखरमा रहने झापामा यसपटक स्थानीय तहको निर्वाचनमा फरक परिणाम आउने आंकलन गरिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका नेताद्वय कृष्णप्रसाद सिटौला र विश्वप्रकाश शर्मा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको गृह जिल्ला भएका कारण पनि झापा सँधै राजनीतिको केन्द्रमा रहँदै आएको छ । यद्यपि यसपटक गठबन्धनमा रहेका दलहरुबीच कसिँदै गएको सम्बन्धले मूलतः पहिलो शक्तिको रुपमा स्थापित नेकपा एमालेलाई स्थानीय तहको निर्वाचन निक्कै सकस पूर्ण हुने आँकलन गरिएको हो ।


२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पहिलो शक्तिको रुपमा रहेको नेकपा एमालेले सात वटा स्थानीय तहमा प्रमुख र ११ वटा स्थानीय तहमा उपप्रमुख जितेको थियो । नेपाली कांग्रेसले पाँच स्थानमा प्रमुख र २ स्थानमा उपप्रमुख तथा राप्रपाले तीन वटा स्थानमा प्रमुख र एक स्थानीय तहमा उपप्रमुख जितेको थियो । नेकपा एमालेले २०७४ सालमा भएको निर्वाचनमा आठ बटा नगरपालिकामध्ये ६ वटा नगरपालिका अर्जुनधारा, कनकाई, दमक, भद्रपुर, बिर्तामोड र शिवसताक्षीमा जीत हासिल गरेको थियो । त्यसमा पनि पाँच नगरपालिका बिर्तामोड, भद्रपुर, अर्जुनधारा, दमक र कनकाईमा प्रमुख, उपप्रमुख दुवै पद नेकपा एमालेले जितेको थियो । सात गाउँपालिकामध्ये नेकपा एमालेले एउटा मात्रै गाउँपालिकामा प्रमुख र उपप्रमुख पद आफ्नो पक्षमा पारेको थियो ।


कमल गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष पद जितेपनि अन्य छ वटा गाउँपालिकामा नेपाली कांग्रेस र राप्रपाले जीत हासिल गरेका थिए । नेकपा एमालेले सात गाउँपालिकामध्ये तीन वटा पालिकामा उपाध्यक्ष पद जितेको थियो । समग्रमा हेर्ने हो भने २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा झापाका १५ पालिकामध्ये नेकपा एमालेले सात वटा स्थानीय तहमा प्रमुख पदमा विजयी हासिल गरेको थियो भने ११ वटा स्थानीय तहमा उपप्रमुख पदमा जित हासिल गरेको थियो ।
यता दोस्रो शक्तिका रुपमा देखा परेको नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा १५ स्थानीय तहमध्ये सात स्थानमा प्रमुख पद जितेको थियो भने उपप्रमुख पदमा दुई वटा स्थानीय तहमा मात्रै जित हासिल गरेको थियो । नेपाली कांग्रेसले नगरपालिकातर्फ गौरादह र मेची नगरपालिकामा जीत हासिल गरेको थियो भने गाउँपालिकातर्फ झापा, बाह्रदशी र बुद्धशान्ति गरी तीनवटा स्थानीय तहमा जीत हासिल गरेको थियो । वाह्रदशीमा अध्यक्ष र उपाध्यक्ष पदमा नै जीत हासिल गरेको कांग्रेसले गौरीगञ्ज गाउँपालिकामा उपाध्यक्ष पद मात्रै जित हासिल गरेको थियो । सात वटा प्रमुख पदसहित ३८ वटा वडामा वडाध्यक्ष जीतेको नेपाली कांग्रेसले अहिले गठबन्धन दलसंग साझेदारी गर्दै नेकपा एमालेलाई एउटा पनि स्थानीय तहमा जित्न नदिने रणानीत बनाउँदैछ । यता तेस्रो शक्तिको रुपमा झापामा राप्रपा स्थापित छ । राप्रपाले कचनकवल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको थियो भने गौरीगञ्ज र हल्दिवारीमा पनि अध्यक्ष पद राप्रपाले नै जीत हासिल गरेको थियो ।

१३१ वटा वडा रहेको झापामा एकीकृत नेकपा माओवादी केन्द्रले ६ वटा वडामा मात्रै वडाध्यक्ष पद जितेको थियो । २०७४ सालको स्थानीय तहको निर्वाचनलाई आधार मान्दा एकीकृत नेकपा माओवादी केन्द्र झापामा कमजोर देखिएको छ । तथापि नेकपा माओवादी केन्द्रले संगठन विस्तारलाई सुदृढ गर्दै अघि बढेसँगै यसपटकको स्थानीय तहको निर्वाचनमा उपस्थिति बलियो रहने बताइन्छ । यसअघि भएको निर्वाचनको तथ्याङ्कलाई आधार मान्ने हो भने नेकपा एमाले अहिले पनि पहिलो शक्तिको रुपमा देखापर्न सक्छ । तर, नेकपा एमालेभित्रको विभाजन र सत्ता साझेदार दलहरुबीच राष्ट्रियस्तरको गठबन्धनका कारण झापामा नेकपा एमालेले अपेक्षाकृत मत प्राप्त गर्न नसक्ने एकथरीले विश्लेषण गर्दै आएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दवदवा रहेको गृह जिल्ला झापामा पार्टी विभाजित भएपछि त्यसको असर तल्लो तहसम्म परेको प्रष्ट छ । नेकपा एकीकृत समाजवादीले झापाका सबै स्थानीय तह र वडाहरुमा पार्टी संठगन विस्तार गर्दै लगेपछि एमालेको शक्ति क्षयीकरण हुने निश्चित छ ।

राष्ट्रियस्तरको गठवन्धन कार्यदलको निर्णय अनुसार झापामा पनि वैठक बसिरहेको छ । जसले पाँच दलको एकतालाई बलियो बनाउँदै लैजाने अवस्था बन्दै गएको छ । दलीय गठबन्धनलाई बलियो बनाउन नेपाली कांग्रेस झापाको अगुवाइमा अहिले निरन्तर दलका नेतासँग छलफल र संवाद भइरहेको नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले बताए । उम्मेदवारको टुङ्गो लगाउन केही दिनदेखि निरन्तर हामी छलफलमा रहेका छौं– सभापति थेवेले भने– झापाका १५वटै पालिकाबाट तहगत निर्णय गरेर उम्मेदवार टुङ्ग्याउँछौं । सवै पालिका गठबन्धनले जित्ने गरीको हाम्रो तयारी छ ।
झापाका १५वटै पालिका जित्ने गरी गठवन्धनका दलहरु हामी एक ठाउँमा जुटेको र गठवन्धनभन्दा बाहिर रहेका केही दलहरुलाई पनि समेट्ने प्रयास भइरहेको सभापति थेवेले बताए । १ नम्वर प्रदेशमा सहभागी दललाई पनि समेटेर अघि बढ्ने नेता थेवेको भनाइ छ । एकीकृत समाजवादी पार्टी मूलतः एमालेको बिद्रोही पार्टी भएका कारण एमालेले जितेका स्थानमा एकीकृत समाजवादी पक्षका उम्मेदवारलाई अगाडि सारे जित सुनिश्चित गर्न सजिलो हुने भन्दै नेकपा एकीकृत समाजवादी लागीपरेको छ । एमालेको मत काट्न एमालेकै बिद्रोही उम्मेदवार चाहिने भन्दै नेकपा एकीकृत समाजवादी समुचित र सन्तुलित व्यवहारसहित गठबन्धनलाई कसिलो बनाउँदै नेकपा एमालेलाई पाखा लगाउने दाउमा छ ।

यता २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पहिलो शक्तिको रुपमा स्थापित नेकपा एमाले आफ्नो बिरासत जोगाउन चाहन्छ । जसका लागि जस्तोसुकै परिस्थिति आए पनि परिणाम आफ्नो पक्षमाा ल्याउन नेकपा एमालेले कुटनीतिक योजना बनाएर अघि बढ्ने पार्टीका अध्यक्ष दीपक कार्की बताउँछन् । उनी भन्छन्– गठबन्धन उनीहरुको बाध्यता हो । कसले कसलाई मत हाल्छ उनीहरुबीचमा नै विश्वास छैन । नेतृत्व गठबन्धन भए पनि मतदाता गठबन्धन हुँदैनन् । तसर्थ हामी एक्लै पनि मुद्दा लड्न तयार छौं । नेता कार्की भन्छन्– हाम्रोबिरुद्धको गठबन्धन अक्षम भएर हो, कमजोर भएर हो । तसर्थ हामीलाई गठबन्धनले केही असर पार्दैन । मतदाताले कामको मूल्याङ्कन गर्ने भएकाले झापाका १५ वटा पालिकामा नेकपा एमालेले सोचेभन्दा राम्रो मत परिणामा ल्याउनेमा आफू ढुक्क रहेको अध्यक्ष कार्कीको भनाइ छ । कम्युनिष्टहरुको उद्गम जिल्लाको रुपमा चिनिएको झापामा गठबन्धन कसिलो रुपमा अगाडि आएमा एमालेलाई ठूलै धक्का पुग्ने विश्लेषण हुँदै आए पनि पनि नेकपा एमाले आफ्नो बिरासत जोगाएर झापालाई लालकिल्ला कायम गर्न चाहन्छ भने सत्तारुढ दल नेपाली कांग्रेस भने नेकपा एमालेलाई एक सिट पनि जित्न नदिने रणनीतिमा अघि बढेको छ ।

यता अघिल्लो निर्वाचमा तेस्रो शक्तिको रुपमा देखापरेको राप्रपा पर्ख र हेरको स्थितिमा छ । नेकपा एमालेका अध्यक्ष ओलीको निर्वाचन क्षेत्र दमक नगरपालिकासहित केही पालिकामा उम्मेदवारको टुङ्गो लगाएको राप्रपा कोसँग निर्वाचनमा तालमेल गर्ने भन्ने विषयमा टुङ्गोमा पुग्न सकेको छैन । पार्टीका अध्यक्ष केशव ओझा भन्छन्– अहिले हाम्रो काम भनेको पार्टीको आन्तरिक रुपमा उम्मेदवार छनौट हो । उममेद्वारको टुङ्गो लागेपछि मात्रै कोसँग गठबन्धन गर्ने हो त्यस विषयमा सोच्छौं । अहिले हामी दुवै पक्षसँग छलफल र संवादमा रहेका छौं ।

केही पालिकामा उम्मेदवार घोषणा गरेको भन्दै अध्यक्ष ओझाले भने– हामी अहिले आफ्नै वलमा निर्वाचनमा जाने तयारी गरिरहेका छौं । केन्द्रको पनि त्यही निर्देशन छ, एलायन्सको कुरा पछिको हो । यता एकीकृत नेकपा माओवादीका जिल्ला अध्यक्ष राजु आचार्य अग्नि नेकपा एमाले समाज परिर्वतनको विरोधी पार्टी भएकाले उसलाई प्रतिष्पर्धी पार्टीको रुपमा आफूहरुले नहेरेको बताउँछन् । उनी भन्छन्– परिर्वतन चाहने पार्टी एक ठाउँमा उभिएकाले झापाका १५वटै पालिकामा गठबन्धनको जीत हासिल हुन्छ ।

स्थानीयस्तरको नीति निर्माणको तहमा जनतालाई पु¥याइने हुँदा यो स्थानीय तहको निर्वाचनमा गठवन्धनका सबै उम्मेदवारलाई बिजयी गराउन सबै एक ढिक्का हुने उनको भनाइ छ । ‘झापामा कडा रुपमा गठबन्धन भएमा र दलहरुबीचको एकता कायम गर्दै आकांक्षीहरुको उचित सम्बोधन भएमा झापाका १५ वटा पालिका र १३१ वटै वडामा गठबन्धन पक्षले जित्ने निश्चित छ’– नेकपा एकीकृत समाजवादी झापाका प्रचारविभाग प्रमुख तीर्थ सिग्देल भन्छन्– ‘यो स्थिति भयो भने नेकपा एमालेले एउटा पनि वडा जित्न सक्दैन ।’ स्थानीय तहको निर्वाचनका लागि राजेन्द्र लिङ्देनले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले केही पालिकामा उम्मेदवार टुङ्गगो लगाएपनि अन्य पार्टीले आफ्ना उम्मेदवार टुङ्ग्याउन सकेका छैनन् । हरेक पालिकामा आकांक्षी धेरै भएकै कारण दलहरु उम्मेदवार छनौटमा अलमलमा छन् । नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाउन आन्तरिक छलफललाई तीब्र बनाएको छ भने नेकपा एमालेले आन्तरिक निर्वाचन नै गर्नुपरेको छ । पार्टीभित्रै उम्मेदवार छनौटमा रस्साकस्सी भएपछि निर्वाचनको मिति नजिकिँदै जाँदा समेत दलहरु उम्मेदवार छनौटमा नै अलमलिरहेका छन् । कतिपय जनप्रतिनिधिले दोहो¥याउने अडान राखेपछि झापामा उम्मेदवार छनौटमा नै सकस देखिएको हो । स्थानीय तहमा अब निर्वाचित जनप्रतिनिधि विकासप्रेमी र सबैलाई मिलाएर लान सक्ने क्षमताका हुनुपर्ने भन्दै मतदाताले समेत जनप्रिय उम्मेदवार खोजिरहनुले पनि झापामा उम्मेदवार छनौटमा सकस देखिएको हो ।
निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्ला निर्वाचन कार्यालय झापाले समेत निर्वाचनको तयारीलाई तीव्र बनाएको छ । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनको तुलनामा यसपटक झापामा एक लाख ३६ हजार १८ जना बढी मतदाता थपिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार झापामा ६ लाख ४६ हजार २ सय ३४ जना कूल मतदाता रहेका छन् । जसमा पुरुषको भन्दा महिलाको संख्या बढिरहेको छ । महिला मतदाता मात्रै ३ लाख २४ हजार ७ सय ५ जना छन् भने पुरुष मतदाताको संख्या ३ लाख २१ हजार ५ सय २० जना रहेको छ । झापामा अघिल्लो निर्वाचनमा ५ लाख १० हजार २ सय १६ जना मतदाता रहेका थिए । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि झापामा ७ सय ५५ मतदान केन्द्र र २ सय ८६ मतदानस्थल तोकिएको छ । सोही अनुसार झापामा रहेका राजनीतिक दल अहिले आफ्नो पक्षमा परिणाम ल्याउन दौडधुप गरिरहेका छन् ।

चुनाव जित्न कस्तो छ गठबन्धनको बटमलाईन ?

नेपाली कांग्रेसले जित हासिल गरेको ठाउँमा नेपाली कांग्रेसले नै उम्मेदवार खडा गर्ने र एमालेले जित हासिल गरेको ठाउँमा नेकपा एकीकृत समाजवादी र माओवादीका उम्मेदवार खडा गर्ने योजना अघि सारिएको छ । त्यस्तै राप्रपा लगायतका अन्य दलका विषयमा समेत छलफल भइरहेको बताइएको छ । साना दललाई समेत समेटेर अघि बढ्ने योजना बनाएको गठवन्धनले जनप्रिय उम्मेदवार उठाउने र सवैले इमान्दारीसहित निर्वाचनमा भाग लिने भएको छ । एमालेको विद्रोही पार्टीका रुपमा रहेको नेकपा एकीकृत समाजवादीलाई सम्मानजनक स्थान दिइने बताइन्छ ।

कसको कहाँ आकांक्षा ?

नेकपा एकीकृत समाजवादीले अर्जुनधारा, शिवसताक्षीमा मेयर पदको आकांक्षा राखेको छ । त्यस्तै बिर्तामोड, मेचीनगर, कमल, कनकाई र वुद्धशान्तिमा उपमेयरको आकांक्षा राखेको पार्टीका जिल्लास्तरीय एक नेताले बताए । अर्जुनधारामा मेयरमा भाष्कर काफ्लेलाई अघि सारिएको र कारणवश उपमेयरमा चित्त बुझाउनु परे प्रेमसागर सापकोटा र प्रत्युष रानामध्ये एकलाई अघि बढाउने भएको छ ।
त्यस्तै बिर्तामोडमा मेयरको दावी नरहेको र उपमेयरमा श्री सिटौला र तीर्थ सिग्देललाई अघि बढाएको छ । कनकाईमा कांग्रेसकोतर्फबाट मेयर र उपमेयरमा प्रतीक राजवंशी वा अम्विका उप्रेतीमध्ये एकलाई अघि बढाउने निर्णय गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here