निर्वाचन आचारसंहिता उल्लंघनको प्रतिवाद गरौंः लीला उदासी

0
838

बिर्तामोड ।

नेपाल कानून आयोगका पूर्व सदस्य तथा वरिष्ठ अधिवक्ता लीला उदासीले निर्वाचन आचारसंहिता ठिक ढंगले पालना नभए विश्वसनीयता घट्ने बताएका छन् ।

उनले निर्वाचन आचारसंहिताको उल्लंघनले शान्ति भंग हुने र निर्वाचन सफल हुन समस्या उत्पन्न हुने बताए । सबैलाई निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गर्दै उनले नागरिकका तर्फबाट खबरदारी गर्न र प्रशासनको तर्फबाट अनुगमनसहित कारवाहीको व्यवस्था प्रभावकारी बनाउन आग्रह गरेका छन् ।

संवाद समूहले आइतबार बिर्तामोडमा आयोजना गरेको छलफलमा बोल्दै उदासीले पर्यवेक्षकहरुलाई लक्षित गर्दै भने– ‘निर्वाचनको पर्यवेक्षण मतदानको दिन मात्र होइन, आचारसंहिता लागू भएकै मितिबाट शुरु गर्नुपर्छ ।’ उदासीले अहिले उम्मेदवारको टिकट र मतदाता दुबै खरिद गर्नुपर्ने अवस्थाबारे कतिपय ठाउँमा बहस हुन थालेको प्रसंग कोट्याउँदै भने– ‘यदि यसो हो भने यो भन्दा ठूलो आचारसंहिता उल्लंघन अरु के होला ?’ उदासीले आचारसंहिता उल्लंघनको सचेततापूर्वक प्रतिवाद गर्न आमनागरिकमा आह्वान पनि गरे ।

सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्व सदस्य समेत रहेका उदासीले राजनीतिक दलहरुले मुलुकभरका लागि एउटै घोषणापत्र जारी गर्नु नागरिकको आँखामा छारो हाल्ने र झारा टार्ने काम भएको उल्लेख गर्दै उम्मेदवारको प्रतिबद्धता स्थानीय भूगोल र आवश्यकता बमोजिमको हुनुपर्नेमा जोड दिए ।

उम्मेदवारी सुनिश्चिततापछि उनीहरुसँग स्थानीय नागरिकको के अपेक्षा हुन सक्छ , ती आवश्यकताहरु प्रतिबद्धता पत्रमा समावेश भए कि भएनन् भनेर स्थानीय नागरिकलाई सहभागी गराएर प्रतिबद्धता खोज्ने अभियान सञ्चालन गर्नुपर्ने पनि सुझाव दिएका छन् ।

मुलुकमा नो भोटको व्यवस्थाका लागि सर्वोच्च अदालतले आदेश दिए पनि कानून नबन्दा त्यो अधिकारबाट मतदाता वञ्चित रहनुका साथै इच्छा विपरीत मतदान गर्नुपर्ने अवस्था सृजना भएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here