छविराज ढकाल/ पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगरपालिकाको प्रशासनिक भनव निर्माणको लागि स्थान र जग्गा सम्बन्धमा छलफलका लागि नगर प्रमुख मोहन तुम्बापोले सर्बदलीय बैठक डाक्नु भएको छ ।
नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि कहाँ बनाउने भन्ने विषयमा पछिल्लो समयमा बाक्लो बहस चलिरहँदा नगर प्रमुख तुम्वापोले बैठक बोलाउनु भएको हो। उहाँले आज आइतबार नगरमा नयाँ कार्यपालिका निर्वाचित भएर आएपछि पहिलो पटक सर्बदलीय बैठक बोलाउनु भएको छ ।
छिमेकी पालिकाका आफ्नै प्रशासकीय भवन निर्माण सम्पन्न भै कार्य संपादन गरिरहेका छन्। संग -सँगै गाविस भएका ति पालिकाहरुले पहिलो कार्यकालमै भवन निर्माण गरेका थिए तर पथरीशनिश्चरेमा भने जग्गा र स्थानबारे अझै टुंगा लाग्न सकेको छैन। अहिले पनि नगरपालिका साबिक पथरी गाबिस भवनबाट चल्दै आएको छ ।
नगरको नयाँ प्रशासनिक भवनबारे छलफल गर्न एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा (एस), राप्रपा, संघी लोकतान्त्रिक राष्ट्रिय मञ्च (लिम्बुवान), मंगोल नेशनल अर्गनाइजेसन लगायत निर्वाचनमा भाग लिएका राजनीतिक पार्टीकाट दुई जनाको दरले बैठकमा बोलाइएको नगर प्रमुख मोहन तुम्बपोले बताएका छन् ।
पथरीशनिश्चरे गाबिस मिलाएर नगरपालिका प्रस्ताव गर्दा पालिकाको भवन भुटानी शरणार्थी बसोबास गर्दै आएको १० नं. वडामा राख्ने सर्बदलीय सहमति भएको थियो । सो सहमति अनुसारको स्थानमा भवन नबनाएको भन्दै अदालतमा मुद्धा परेपछि अदालतले १० नं. वडामा भवन निर्माण गर्न आदेश दिएको थियो । आदेश दिएपछि पनि भवन निर्माण प्रकृया नथालेपछि नगरलाई आदेश अपहेलनाको मुद्धा समेत लागेको थियो ।
भवन निर्माण गर्ने भनिएको भुटानी शरणार्थी शिविरको क्षेत्रमा पर्दछ । नगरले नम्बरी जग्गा खरिद गरेर बनलाई पास गरिदिने र सो जग्गा नगरले लिन सट्टा भर्नाको लागि जग्गा खोज समिति पनि गठन भएको थियो । अघिल्लो दिलिप कुमार राईको कार्यकालमा भवन नबनेपछि हाल पुनः तातो बहस सुरु भएको हो ।
पछिल्लो समयमा अन्य क्षेत्रमा भवन बन्नु पर्छ भन्दै पूर्वपश्चिम मुख्य सडकदेखि ७ किलो मिटर दक्षिणमा रहेको कीर्तिपुर बजारमा बनाउन माग भैरहेको छ भने मुख्य सडकसँग जोडिएको १० नं. वडाको भुटानी शरणार्थी क्षेत्रमा पनि अदालतीय फैसलाको कार्यान्वयन गर्न दवाव बढिरहेको छ ।
यसैगरी, १ नं. वडास्थित हालको नगरकै कार्यालयमा नै बन्नु पर्ने चर्चा भैरहेको छ भने उता वडा नं ७को लामाटोलमा पनि जग्गा उपलब्ध भएको भनीएको छ। विभिन्न स्थानमा भवन निर्माणका लागि प्रस्तावित स्थल तथा जग्गाका लागि प्रस्तावित स्थल र जग्गा सम्वन्धि प्रस्तावहरू आएको प्रमुख तुम्बापोले बताउनुभएको छ। कीर्तिपुर र लामोटोलीमा जग्गादाताले अनुदान दिने, १० मा शिविरकै जग्गा, शनिश्चरेमा ९ नं. वडाले प्रयोग गर्दै आएको जग्गा, १ को नगरकै जग्गा रहेको छ । यसै विषयमा केन्द्रित रहेर नगरपालिकाले बोलाएको राजनीतिक दलको सर्वदलीय बैठकले नगरबासीको हितमा भवन बनाउन सुझाव दिनेमा आफू बिश्वस्त रहेको तुम्बापोले बताएका छन् ।
पछिल्लो समयमा नगरको भवन निर्माणको लागि कतै संघर्ष समिति र कतै पहल समिति गठन गरेर आ–आफ्नो दाबी पेस हुँदै आएका छन् । यसै सवालमा वडा अध्यक्ष र कार्यपालिका सदस्यहरु समेत विभाजित देखिएका छन् ।


























