झापामा प्रदेश स्तरीय आठ खेल , सबै तयारी पूरा

0
302

झापा, नवौं राष्ट्रिय खेलकुदअन्तर्गत १ नं प्रुदेशस्तरीय खेलाडी छनोट प्रतियोगिताका लागि झापामा हुन लागेका खेलहरुको तयारी लगभग पूरा भएको छ ।
झापामा प्रदेशस्तरीय प्रतियोगिताका आठ खेल सञ्चालन हुने र ती खेलहरु जिल्लाका विभिन्न स्थानमा खेलाउने तयारी भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त)–ले जानकारी दिनुभयो ।
भद्रपुरस्थित मेची रंगशालामा महिला–पुरुष कबड्डी, महिला–पुरुष खो–खो र आर्चरी खेल हुनेछन् भने काँकरभिट्टामा महिला क्रिकेट र व्याडमिन्टन, दमकमा महिला भलिबल, तथा विर्तामोडमा तेक्वान्दो र शारीरिक सुगठनका खेलहरु हुने समितिका कार्यालय प्रमुख विष्णुकुमार नेम्बाङले जानकारी दिनुभयो ।
मंगलबार खेलकुद विकास समितिको पदाधिकारी तथा प्रशिक्षकहरुको टोलीले खेलहरु सञ्चालन हुने स्थल र त्यहाँको व्यवस्थापकीय पक्षको निरीक्षण तथा अनुगमन गरेको छ । सीमित स्रोत–साधनका वावजुत प्रतियोगितालाई उत्कृष्ट र सफल बनाउन समिति लागिपरेको अध्यक्ष भण्डारीले बताउनु भएको छ ।
झापामा बिहीबार दमकमा महिला भलिबलको खेलसँगै झापामा सञ्चालन हुने खेलहरुको उद्घाटन हुने समितिका उपाध्यक्ष गंगाा भुर्तेलले जानकारी दिनुभयो । उहाँले जहाँ जुन खेल हुन्छ त्यहीँ खेलको उद्घाटन गरिने पनि बताउनु भयो । झापामा भदौ ३० देखि असोज ५ गतेसम्म खेलहरु सञ्चालन हुने समितिका सचिवालय सदस्य दुर्गाराज निरौलाले जानकारी दिनुभयो ।
खेलाडीहरुको विदाइ
जिल्ला खेलकुद विकास समिति झापाले जिल्लाबाहिर खेल्न जाने खेलाडीहरुलाई विदाइ गरेको छ । मंगलबार मेची रंगशालामा एथलेटिक्सका खेलाडीहरुलाई जीतको शुभकामनासहित विदाइ गरियो । प्रशिक्षक गोपाल यादको नेतृत्वमा रहेको एथलेटिक्स टोलीलाई समितिका अध्यक्ष भण्डारीले झापाको जर्सी र झण्डा प्रदान गर्दै जीतको शुभकाकमना दिनुभएको थियो ।
त्यसैगरी, विर्तामोडमा पुरुष भलिबलका खेलाडी र अफिसियल, कनकाईमा महिला फुटबल र टेवलटेनिसका खेलाडी र अफिसियल तथा दमकमा आरटीएफ तेक्वान्दोका खेलाडी–अफिसियल र बुद्धिचालका खेलाडीलाई झापाको जर्सी र झण्डा प्रदान गरेर विदाइ गरिएको समितिका सदस्य तथा प्रवक्ता जगन दुर्वासा कार्कीले जानकारी दिनु भयो । जिल्लाबाहिर हुने खेलको तालिका अनुसार खेलाडीहरु जाने र त्यसै अनुसार समितिले विदाइ गर्ने कायृक्रम रहेको बताइएको छ ।
प्रदेशस्तरयि प्रतियोगितामा झापाबाट ४४९ खेलाडीले २७ विधाका खेलमा प्रतिस्पर्धा गर्दैछन् । प्रदेशस्तरीय प्रतियोगितामा मेडल प्राप्त गर्ने खेलाडी र टिमलाई सम्मान समितिले सम्मान गर्ने योजना रहेको अध्यक्ष भण्डारीले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here