झापा,

निर्वाचित जनप्रतिनिधिलाई कलबलगुरीस्थित प्रदेश प्रशिक्षण केन्द्रले विद्यमान सवबैधानिक तथा कानुनी प्रावधानसम्बन्धी विज्ञबाट प्रशिक्षण दिँदै आएको छ ।
केन्द्रले १४ जिल्लाका जनप्रतिनिधिमध्ये प्रमुख र उपप्रमुखलाई एकै थलोमा राखेर प्रशिक्षण प्रदान गरेको थियो भने हाल वडाध्यक्षका लागि सम्बन्धित जिल्लामै तालिम सञ्चालन गरेको हो ।
केन्द्रका निर्देशक विष्णुकुमार कार्कीले आजदेखि झापामा सुरु भएको कार्यक्रमलाई सम्बोधन गर्दै ११ जिल्लाका वडाध्यक्षलाई यसअघि नै उक्त तालिम प्रदान गरिएको बताउनुभयो । तीन दिनसम्म चल्ने तालिममा जिल्लाका एक सय ३१ वडाका वडाध्यक्ष सहभागी भएका छन् ।
उहाँले वडाध्यक्षको भूमिका सङ्घीयता कार्यान्वयनमा महत्वपूर्ण हुने हुँदा उनीहरुले गर्ने काममा कानुनी अड्चनका कारण समस्या नहोस्, काम, कर्तव्य र अधिकार क्षेत्रका बारेमा स्पष्ट भएर काम गर्न सहज होस् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको बताउनुभयो ।
जन्मदेखि मृत्युसम्मको सिफारिसको जिम्मा वडाध्यक्षलाई हुने भएकाले उनीहरुलाई जिम्मेवार, सामाजिक सुरक्षा, योजना तर्जुमा, कार्यालय व्यवस्थापन, अनुगमन र उपभोक्तासँग गरिने कार्यका बारेमा आवश्यक पर्ने कानुनलगायत १२ वटा विषयमा प्रशिक्षण प्रदान गरिने उहाँको भनाइ थियो।
जिल्ला समन्वय समितिको संयोजनमा आयोजित कार्यक्रममा एक सय ३१ वडाध्यक्षलाई तीनवटा सभाकक्षमा राखेर प्रशिक्षण दिन थालिएको छ । उक्त समितिका संयोजक विश्वनाथ बरालले तालिमले जनप्रतिनिधिको व्यक्तित्व विकाससँगै कार्यक्षमतामा समेत वृद्धि गराउने जनाउँदै तालिममा सिकेका कुरालाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो । आजदेखि सुरु भएको तालिम असोज २ गतेसम्म चल्नेछ ।






























