
बिर्तामोड । नेपाली काङ्ग्रेसका नेता कुमार भट्टराईले स्वतन्त्ररुपमा झापा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेद्बारी दर्ता गराएका छन् । बिर्तामोड उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्षसमेत रहेका भट्टराईले पार्टीले अन्याय गरेको भन्दै उम्मेद्बारी दर्ता गराएका हुन् । लामो समय देखि राप्रपाको राजनीतिमा रहेका उनी नेपाली काङ्ग्रेसमा प्रवेश गरेपछि उद्योग वाणिज्य संघको अध्यक्ष भएका थिए।
उनी काङ्ग्रेसबाट प्रदेश सांसदको लागि लबिङमा थिए । तर गठबन्धनको भागबन्डा अनुसार एकीकृत समाजवादीका पुस्पराज पोख्रेललाई उम्मेद्बार बनाएपछि भट्टराईले एक कदम माथि उठे प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेद्बारको रुपमा मनोनयन दर्ता गराएका छन् ।
काङ्ग्रेसकै राम मैनाली र उत्तम खनाल प्रस्तावक र समर्थक रहेका छन् ।
उनी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का कार्यसमिति सदस्य तथा प्रवक्ता हुन् । साथै रेडियो सनराइजका अध्यक्ष समेत हुन् । झापा २ का मतदाताको भावना अनुसार उनले आफूले उम्मेद्वारी दिएको बताएका छन् । स्रोतका अनुसार उनी केही कांग्रेसीकै सल्लाहमा उठेका हुन् । यो कुराको आधिकारिक पुष्टि भने भएको छैन ।


























