स्वतन्त्र उम्मेदवारहरू दलीय कि गैरदलीय ?

0
420


तीर्थराज खरेल
मुलुकमा यतिबेला आम निर्वाचन–२०७९ को प्रचा–प्रसार जारी छ र दलहरू मतदाताको ढोकासम्म गएर मत माग्ने योजना बनाइरहेका छन् । यो कष्टसाध्य काम हो । मेरो दलिन नटेक्नेलाई म मत दिन्न, मेरो आँगनसम्म चुनावका बेलामा आउन नसक्ने दुःख परेका बेलामा आएर कसरी सहयोग गर्छ भन्दै सर्वसाधारण मतदाता उँचो स्वरमा बोलिरहेका छन् । जनता शक्तिशाली भएका छन् अहिले । तर, सबैभन्दा बढी चर्चा–परिचर्चा चुनावमा उठेका उमेदवारका बारेमा छ । राजनीतिक दलले दिएका उम्मेदवारले विजय हासिल गर्नुलाई स्वाभाविक मानिन्छ । तर, राजनीतिक दलको सहयोग नपाएका व्यक्तिहरू पनि ठूलो चुनावी हल्लाखल्लासहित मैदानमा देखिएका छन् । गएको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकामा बालेन साह, धरान उपमहानगरपालिकामा हर्कराज राई लगायतका स्वतन्त्र रूपमा उम्मेदवारी दिनेहरूको विजयका कारण यस पटकको आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवार हौसिएका छन् । तर, बुझ्नुपर्ने कुरा के छ भने स्वतन्त्रका नाममा उठेका राजनीतिक दलकै मानिस हुन् ।

उदाहरणका लागि रवि लामिछानेलाई स्वतन्त्र उम्मेदवार भन्न मिल्दैन, उनी त भर्खरै गठन भएको नेपाल स्वतन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष हुन् । नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपा, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जस्तै हुन् अहिलेका पार्टी । अहिले भर्खरै बनेका वा बनाइएका दलबाट जनतालाई आँखामा ‘स्वतन्त्र’ भनेर छारो हाल्दै उम्मेदवार उठिरहेका छन् भन्ने कुरालाई बुझ्न आवश्यक छ । तर, उनीहरूलाई निर्वाचन लड्ने पूरा अधिकार छ । तर, स्वतन्त्र उम्मेदवार भनेर भ्रम छल्नु गलत हो । कुनै पनि पार्टीमा आबद्ध नरहेका उम्मेदवार वास्तविक रूपमा स्वतन्त्र उम्मेदवार हुन् । स्वतन्त्रको नाममा उठेका सबै स्वतन्त्र उम्मेदवार होइनन् भन्ने कुरा सञ्चार क्षेत्रले पनि बुझ्न आवश्यक छ ।

स्वतन्त्र उम्मेदवारहरूको जीत हुन पनि सक्छ र नहुन पनि सक्छ, तर राजनीतिक दलका सामु प्रश्नचिन्ह खडा भएको छ– वास्तवमा स्वतन्त्रहरूको बिगबिगी किन बढिरहेको छ ? दलहरूले आफ्ना नीति, कार्यक्रम, प्रणाली, पद्धति र व्यवहार समीक्षा गर्न आवश्यक भइसकेको हो ? के दलहरूको भूमिका माथि नागरिकहरू सन्तुष्ट नभएको अनुभूति भएको हो ? के अब विचारधाराको राजनीति सकिएको हो ? स्वतन्त्रहरूको उम्मेदवारी र लोकप्रियताले दलसामु अजङ्गको प्रश्न तेर्साएको छ । प्रश्न अनुत्तरणीय छैन, तर कठिन छ जवाफ दिन । के नेपाली जनमत वैकल्पिक राजनीतिप्रति आकर्षित हुन खोजे हो ? तर २०७४ को चुनावमा लोकप्रिय रहेका विवेकशील साझा पार्टीप्रतिको समर्थन ह्वात्तै घटेको छ ।

आजको मूल प्रश्न भनेको के गैरदलीय स्वतन्त्र उम्मेदवार मुलुकको राजनीतिको विकल्प हुन सक्लान् ? अवश्य नै राजनीतिक दलको विकल्प राजनीतिक दल नै हुन् । पुराना सोच र क्रियाकलाप अँगाल्ने राजनीतिक दलले आफूलाई जनभावना अनुरूप बदल्न आवश्यक छ भनी पार्टीको हकमा नयाँ ढंगले आत्मसमीक्षा गर्न अब समय आएको हो कि होइन भन्ने आजको यक्ष प्रश्न हो ।

आममतदाता पार्टीहरूसँग रिसाएर, निराश भएर वा योजनाको कमी भएर अरू विकल्प खोज्न चाहिरहेका छन् । कहिले काहीँ उम्मेदवारप्रतिको आकर्षणका कारणले पनि दलइतर मतदान गर्न मानिस लालायित भएका हुन सक्छन् । वास्तवमा आम मानिसले नयाँ विचार प्रवाहमा आफ्नो भविष्य खोजिरहेका छन् । हरेक दलले आत्मचिन्तन गर्ने र युगीन चेतको आवाजलाई सुन्न जरुरी छ । सर्वसाधारण मानिसको मनोविज्ञान र विचारलाई वेवास्ता गरेकै कारण यस्तो भएको हो । यसका लागि राजनीतिक दलका नीतिनिर्माता दोषी छन् ।

नेतृत्वगण, संगठक, बुद्धिजीवी र सिङ्गो सञ्चारजगत यसका लागि जिम्मेवार छन् । दलले समयको पदचाप सुन्न सक्नुपर्छ । समयको गति समाउन नसकेको सञ्चारजगत पनि जिम्मेवारी ग्रहण गर्नेमा पर्छ । दल विशेषका उम्मेदवारका पछि मात्र लागेका कारणले सञ्चारजगतका प्रस्तुतिप्रति पनि विश्वास भएन जनतामा र उनीहरू नसोचेको निर्णय लिन तम्सिए । तर जनपक्षीय, यथार्थ र विश्वसनीय कुरा राख्न सक्ने उम्मेदवारको पक्षमा वकालत नगरेकै कारण विकल्प खोजेका हुन् जनताले । वास्तवमा जनता विकल्पविहीन भएकै हुन् । राजनीति षडयन्त्र, जालझेल र कपट मात्र होइन, आमनागरिकको हरेक पाइलामा राजनीतिले पछ्यायो वा आफ्नै भुलभुलैयामा अल्मिलियो भन्ने अहम् प्रश्न हो ।

नातावाद, मोलमोलाइका आधारमा टिकट वितरण गरिएको भन्न नमिल्ने, तर सबैले बुझेको सत्य हो । स्वतन्त्र उम्मेदवारप्रति युवाको झुकावलाई स्थापित पार्टीहरू प्रतिको वितृष्णा मानेर मात्र हुँदैन । जनताका विचारलाई पार्टीका नीति, कार्यक्रम र कार्ययोजनाले छुन नसकेको र दलको विश्वासमा कमी आएको रूपमा बुझ्नुपर्छ । नयाँ पुस्ता, नवीन ज्ञान, नवीन तकनिकी र नवीन सोच लिएका र उच्च शिक्षा हासिल गरेका युवाहरूको राजनीतिमा सकारात्मक सहभागिता जरुरी छ । युवाको हकमा पनि लागू हुने द्वन्द्ववादी नियम वस्तुगत संसारले मानिसको सोच्ने शैलीमा परिवर्तन ल्याउने हो । संसार देखेका, विदेशका विभिन्न ठाउँमा घुमेका र विदेशी भूमिमा सीप सिकेका युवाका सोच, विचार र सृजनाको ढोका बन्द गरेर मुलुकको परिवर्तन सम्भव छैन ।

हरेक राजनीतिक दलले ज्ञानको आँखा खोल्ने बेला आएको छ । राजनीति गर्ने कौशल, शैली, विचार सबै कुरा एक्काइसौं शताब्दी सुहाउँदो बनाउन जरुरी छ । आजको युग सहकार्य, अनुशरण र परिमार्जनको युग हो । अबको राजकीय क्षेत्रमा जाने नेतृत्व जनताको हितका लागि दलको नेतृत्वलाई सम्मान गर्दै, आफ्नो क्षमता र सपनालाई सार्वजनिक गर्दै, सहकार्य र सहयोगका लागि जनतालाई अपिल गर्न सक्ने नेतृत्व हुनुपर्छ, जनअपेक्षालाई आफ्नो मुख्य कार्य मान्ने नेतृत्व आजको खाँचो हो । राज्य सञ्चालनका दृष्टिकोण, योजना, व्यवस्थापन र परिमार्जन गर्ने कौशलयुक्त नेतृत्व आवश्यक पर्छ । अबको राजनीति दर्शन, विचार र सोच मात्र होइन, जनताको सेवासँग पनि सम्बन्धित छ । युवा पुस्तालाई अलग राखेर अबको राजनीति हुन्न, जनसाधारणका आवाज र भावनासँगै दलहरू पनि हिँड्न जरुरी छ ।

पञ्चायतकालमा दुःखकष्ट बेहोरेको थिएँ, जेल बसेको थिएँ, जनयुद्धकालमा पूर्णकालीन कार्यकर्ता भएको, भूमिगत बसेको र बन्दूक बोकेको थिएँ, युद्धको मोर्चा समालेको थिएँ भनेर जनताबाट सधैँ मत पाइँदैन । आफ्नो परिवारबाट शहीद बनेकाले उम्मेदवारी पाऊँ र मत पाऊँ भनेर कसैले पनि सुन्न पाउनेवाला छैन । विचार बिनाको राजनीति त हुँदैन । अब विचारका साथमा, त्याग र समर्पणका साथमा जनता डेलिभरी खोजिरहेको सच्चाइलाई बुझ्न आवश्यक छ । राज्य सञ्चालन गर्न हिजोको दुःख र संघर्ष मात्र काफी छैन, यसका लागि त नत्र परम्परागत नोकरशाही चङ्गुलमा मुलुक फँस्छ । नेतृत्व कानून नियमको जञ्जालमा फँसेर बेकामे हुन्छ र असान्दर्भिक बन्न जान्छ ।

यसरी जनविश्वास उठ्छ । आजको युग नवप्रवर्तनको युग हो । सूचना तथा सञ्चारको युग हो । अरुलाई इज्जत मर्यादा र पहिचान दिन विनम्रताका साथ नेतृत्वका गलत नीति तथा क्रियाकलापको आलोचना र खण्डन गर्न सक्ने नयाँ नेतृत्व जन्माउन सकेमात्र दलहरूले विमतिलाई आन्तरिक रूपमा हल गर्दै पार्टीलाई सबलीकरण गर्न सक्छन्, नागरिकहरू पनि पार्टीभित्रको लोकतान्त्रिक अभ्यासको सकारात्मक प्रभाव महशुस गर्न सक्छन् र पार्टीका उम्मेदवारका पक्षमा उभिन सक्छन् ।
आजको नेतृत्व रातो कलमले दस्तखत गर्न मात्र होइन, मार्गदर्शन गर्ने क्षमता र समन्वयकारी क्षमताको अभिव्यक्ति पनि हो । अहिले युगको आवश्यकता भनेको जागा नेतृत्व हो । आजको आवश्यकता भनेको जागृत मनुष्यको हो । आश र त्रासमा बाँच्न अभिषप्त नेता, कार्यकर्ता र नेतृत्वबाट के अपेक्षा गर्न सकिन्छ र ! दलीय उम्मेदवारले आफूलाई बदल्न जरुरी छ । परिवर्तनका पक्षधर, कुशल प्रशासनिक क्षमतायुक्त र सबैलाई लिएर अघि जान सक्ने बनाउन पनि जरुरी छ । विभेद, पक्षपात, पेलानको युग सकिएकोले जनताका बीचमा भिजेर काम गर्न जरुरी छ । दलीय उम्मेदवारले काम नगरे स्वभाविक रूपमा गैरदलीय उम्मेदवारको आवाज ठूलो हुने हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here