काठमाण्डौं ।

विश्वमा आफ्नो हैकम स्थापित गर्ने आवेगमा चीनले एकपछि अर्को हरकतहरू गरिरहेको छ। यद्यपि चीनका सबै हरकतहरू अहिले विश्वसामु उजागर भएकाले चीनको पोल पनि खोलिँदै गइरहेको छ।
चीनले भारत र जापानलगायत धेरै देशलाई लक्ष्य गरेर जासुसी बेलुनहरू व्यापक मात्रामा सञ्चालन गरेको छ। एक मिडिया रिपोर्टमा यो दाबी गरिएको छ। अमेरिकी सेनाले संवेदनशील अमेरिकी प्रतिष्ठानहरूमा घुमिरहेको चिनियाँ निगरानी बेलुनलाई नष्ट गरेको केही दिनपछि रिपोर्ट आएको थियो।
अमेरिकी अधिकारीहरूले चिनियाँ बेलुनबारे भारतलगायत आफ्ना मित्र र सहयोगी राष्ट्रहरूलाई जानकारी गराएका छन्। शनिबार साउथ क्यारोलिनाको तटमा एट्लान्टिक महासागरमा एउटा लडाकु विमानले चिनियाँ बेलुनलाई नष्ट गरेको थियो। अमेरिकी उपपरराष्ट्रमन्त्री वेन्डी शर्मनले सोमबार यहाँ करिब ४० दूतावासका अधिकारीलाई यसबारे जानकारी गराएका हुन् ।
रिपोर्टअनुसार बेलुन-निगरानी प्रयासअन्तर्गत “जापान, भारत, भियतनाम, ताइवान र फिलिपिन्सलगायत धेरै देशहरूमा र चीनको लागि उदीयमान रणनीतिक चासोका क्षेत्रहरूमा सैन्य सम्पत्तिहरूबारे जानकारी सङ्कलन गरेको छ।”‘ चीनले बेलुनको माध्यमबाट चीनका लागि रणनीतिक चासोका क्षेत्रहरूको सैन्य सम्पत्तिबारे जानकारी एकत्र गर्ने उद्देश्य थियो।
रिपोर्टअनुसार चीनको पीएलए वायु सेनाद्वारा सञ्चालित उक्त निगरानी बेलुनलाई पाँचवटा महाद्वीपहरूमा देखिएको थियो। एक वरिष्ठ रक्षा अधिकारीलाई उद्धृत गर्दै भनिएको छ, “यी बेलुनहरू पीआरसी (पीपुल्स रिपब्लिक अफ चाइना) बेलुनहरूको भाग हुन्, जसलाई निगरानी सञ्चालन गर्न विकसित गरिएको छ र यसले अन्य देशहरूको सार्वभौमसत्ताको उल्लङ्घन गरेको छ।”
हालैका वर्षहरूमा हवाई, फ्लोरिडा, टेक्सास र गुआममा कम्तिमा चार बेलुन देखिएका थिए र यसअतिरिक्त गत हप्ता थप एउटा बेलुन देखिएको हो।
अर्कोतिर चीनको जासुसी बेलुन नष्ट पारेपछि अब अमेरिकाले बेलुनको पार्टपुर्जा दिन अस्वीकार गरेको छ। परराष्ट्र मन्त्रालयले मन्त्री एन्टोनी ब्लिन्केनको अर्को महिना बेइजिङको प्रस्तावित भ्रमण पनि रद्द गरेको छ। अमेरिकाको यो कठोर निर्णयको चीनले आलोचना गरेको छ।
यता, अमेरिकी वायुसेनाको एक गुप्तचर रिपोर्टले सारा संसारमा हलचल मच्चाएको छ। अप्रिल २०२२ को यो रिपोर्टमा चिनियाँ जासुसी बेलुनको बारेमा जानकारी दिइएको छ। रिपोर्टमा भनिएको छ कि सन् २०१९ अघि पनि बेलुनले विश्वका धेरै देशमा घुमेर जानकारी संकलन गरिरहेको थियो।
अमेरिकी रक्षा विभाग पेन्टागनका अनुसार यो २०० फिटको जासुसी बेलुन पाँचौं पटक ल्याटिन अमेरिकी तटको आकाशमा उडेको हो। क्यानडाबाट सूचना पाएपछि अमेरिकी एजेन्सी सतर्क भएको थियो र यसलाई एट्लान्टिक महासागरमा खसालिएको थियो।
अमेरिकी रक्षा मन्त्रालयका एक बताएअनुसार सुरुमा यो सामान्य देखिन्थ्यो तर त्यसपछि क्यानडाबाट सूचना आयो, त्यसपछि यसको निगरानी गरिएको थियो। पछि यसलाई F-16 जेटबाट खसालिएको थियो। बेलुनको ओजन लगभग 2000 पाउन्ड रहेको बताइएको छ।
अमेरिकी वायुसेनाको गोप्य रिपोर्टका अनुसार जनवरी २०२२ मा यो बेलुन भारतको अण्डमान निकोबार टापुको नजिक देखिएको थियो। यसअघि सन् २०२० मा पनि यो बेलुन जापानको तटीय भागमा उडिरहेको भेटिएको थियो । यो बेलुन फेब्रुअरी २०२३ मा कोलम्बियामा पनि देखिएको थियो। वास्तवमा, अण्डमान र निकोबार टापुहरू भारतीय नौसेनाको महत्त्वपूर्ण आधार हो।
यसैले सम्भवतः यहाँ पनि सैन्य जानकारीहरू बटुल्नका लागि चिनियाँ बेलुनहरू पठाइएको हुनसक्ने आशंका व्यक्त गरिएको छ।






























