विनोद सापकोटा,
शिवसताक्षी ।

पूर्णबहादुर तिम्सिना अरूले बोलेको त्यति धेरै सुन्दैनन्। ७१ वर्षीय उनको कान छेउमा गएर बोलायो भने मात्र सुन्छन्। अनि सकेको जवाफ र दोहोरो कुराकानी गर्छन् ।
झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ हल्दिबारीका पूर्णबहादुर आठ वर्षदेखि घरमा एक्लै छन्। उनलाई सघाउने कोही छैन। आफैं पकाउने, खाने, भाँडाबर्तन धुने, घरमा पालेको गाईको हेरचाह गर्ने उनको दिनचर्या हो।
श्रीमतीले १८ वर्ष अगाडि दोस्रो विवाह गरेपछि उनी एक्लिएका थिए । छोराछोरी उनीसँगै थिए, हुर्किएपछि छोराहरू आमासँगै गए, छोरीको बिहे भयो ।
पूर्णबहादुरकी छिमेकी तथा वडा सदस्य गीता दर्जीले भनिन्, ’छोरी थिइन्, आठ वर्षअघि उनको बिहे भएपछि उनी एक्लै भए ।’ अहिले दमकमा रहेकी तिनै छोरीले बाबुको हेरचाह र अन्नपातको जोहो गर्दै आएकी छन् । शनिबार वडा नम्बर ६ का अध्यक्ष मनोज खुलाल नेतृत्वको वडा कार्यपालिकाको टोली एक्कासि उनको घर पुग्यो। पूर्णबहादुर एकछिन त अक्क न बक्क भए। वडाअध्यक्ष खुलालले ’के छ बा खबर’ भनेर सोधे । उनले सुनेनन्, जवाफ फर्काएनन् । कान छेउमा पुगेर खुलालले फेरि सोधे ।

अनि पूर्णबहादुरले भने, ’सबै ठीक छ। मच्छरले टोकेर हैरान बनायो। बसिसक्नुभएन। मच्छर धपाउने केही उपाय भए सिकाइ दिनुप¥यो।’वडाध्यक्ष लगायतको टिमले जेष्ठ नागरिकलाई राहत लिएर गएको थियो। राहतका सामग्रीमा झुल पनि छ भन्ने उनले ठानेका थिएनन्।
झोलाबाट किटनासक झुल निकाल्दै वडाध्यक्षले भने, ’यो झुल दियौं भने हुन्छ ?’ मच्छरको टोकाइले दुःखले रात बिताइरहेका पूर्णबहादुर भने, ’मेरी आम्मै! किन नहुनु! यही झुल किन्ने पैसा पनि थिएन। धन्न जानेर ल्याइदिनुभएछ। रातभर मेरो बुढो शरीरको रगत चुसेर बाँचेका मच्छर अब मर्ने भए। म चाहिँ बाच्ने भएँ।’
वडाले गाउँमा खबर नगरी जेष्ठ तथा विपन्नका घरघरै राहतका सामग्री पु¥याएको थियो। खाना पकाउने प्रेसर कुकर, छाता, झुल, फाइबर सिरक, डबल बेडको तन्ना, बिस्कुट लगायत सामग्री वितरण गरेको थियो। वडाको यो कार्यक्रम एक लाख रूपैयाँ बजेटमा सञ्चालन भए पनि यसको प्रभाव पैसामा तुलना गर्नै नसकिने शिवगञ्जका स्थानीय गोकुलप्रसाद विमलीले बताए।

’वास्तविक विपन्न र जेष्ठ नागरिकको पहिचान गरेर घरघरै राहत पु¥याउन जानु विपन्नको वास्तविक अभिभावक घाषित हुनु हो,’ उनले भने। कुनै न कुनै कारणले अशक्त भएका वडाका २० परिवारले राहत पाए। ७५ वर्ष उमेर पुग्दा पनि पूर्णी ऋषिदेवले वडाले दिएजस्तो सिरक देखेकी थिइनन्।उनले सिरक पाएपछि वडाध्यक्षलाई ’यो के हो’ भनेर सोधिन्।
’जाडोमा ओढ्ने सिरक ल्याइदिएको,’ वडाध्यक्षले भने। उनको कुरा सुनेर दंग परेकी पूर्णीले भनिन्, ‘यो नयाँ सिरक थन्क्याएर राख्ने बाँचेछु भने पछी जाडो लागेपछि निकालेर ओढ्ने।’ वडाले राहत दिएका सबै परिवारको आर्थिक अवस्था निकै कमजोर छ। उनीहरूले घर खर्च चलाउन निक्कै गाह्रो भएको गुनासो गरे।
’छोराछोरीले वास्ता गर्दैनन्। सामाजिक सुरक्षा भत्ता बापत सरकारले दिने पैसाबाट घरखर्च चलाउँछौं,’ अर्की वृद्धा बसन्ती बंगालीले भनिन्, ’आफ्नो घर जग्गा केही छैन। साहुको घरमा बसेर दाताहरूले दिएको खाँदै बाँच्नुपरेको छ।’
राहत पाउने सबै परिवार वडासम्म आउन नसक्ने असक्त हुन् । त्यहि भएकाले घरमै पुगेर प्रदान गरिएको वडा अध्यक्ष खुलालले बताए।
विपन्नको पीडा बुझ्न, जेष्ठ नागरिकलाई सम्मान गर्न, उनीहरूको आर्थिक, सामाजिक, भौगोलिक, सांस्कृतिक, शिक्षा, स्वास्थ्य लगायतका विषय पनि बुझ्न घरैमा पुगिएको वडा अध्यक्षले दोश्रो कारण खुलाए ।
वडा सचिव विमल बाँस्कोटाका अनुसार १४ जातीका २० जेष्ठ नागरिकले राहत पाएका हुन् । सो वडामा आदिवासी, जनजाति, दलित, मधेसी, मुस्लिम, सन्थाल लगायतको बसोबास छ। सरकारी पक्षबाट घरैमा राहत वापतको सहयोग पाँउदा अधिकांश विपन्न खुसीले रोएका थिए।
वडा अध्यक्षको नेतृत्वको राहत वितरण टोलीमा वडा सदस्य गोमा रिजाल, गीता दर्जी, नरेन्द्र वस्नेत, गंगा ताजपुरिया र वडाकी कर्मचारी अनिता चोधरी पनि थिइन् । उनिहरुले हिलाम्ये सडक र साप्ताहिक विदा शनिवारको पर्वाह नगरी चर्को घाममा लक्षित समुदायका जेष्ठ नागरिकलाई राहत वितरण गरेका थिए ।






























