आर्थिक रुपमा समृद्ध बनाउन २० बर्षे योजना तयार गर्नुपर्छ– महामन्त्री थापा

0
111

विर्तामोड।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाललाई आर्थिक रुपमा समृद्ध बनाउन २० बर्षे योजना तयार गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल विद्यार्थी संघ झापा अन्तर्गत कनकाई र इन्द्रचन्द्र क्याम्पस इकाइ समितिको आयोजनामा आज विर्तामोडमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले यस्तो धारणा राख्नुभएको हो ।

‘यहाँको पपुलेशन हेर्दा अबको २० बर्षमा नेपाल बुढो हुन्छ’–प्रतिनिधिसभाको सांसद समेत रहनुभएका थापाले भन्नुभयो–‘२० बर्ष अघि नै नेपाललाई आर्थिक रुपमा समृद्ध बनाउन सकेमात्रै यसको विकास सम्भव छ, बुढो भएपछि विकास सम्भव हुँदैन ।’ उहाँले जापान र कोरियाको उदाहरण प्रस्तुत गर्दै ती देशले जवान छँदै आर्थिक समृद्धि प्राप्त गरेका कारण मात्रै अहिले विदेशबाट कामदार लगेर रोजगारी दिन सम्भव भएको बताउनुभयो ।

‘हामीलाई नेपालको विकासका लागि योजना दिने राजनीतिज्ञ चाहिएको छ’–नेता थापाले भन्नुभयो–‘हामीलाई गनगन गर्ने र समस्या मात्रै ओकल्ने मान्छे चाहिएको छैन । समस्या त जसले पनि भन्छ ।’ युवा पुस्ताबाट देशलाई समृद्ध बनाउने योजना आउने उहाँको विश्वास थियो ।

आफूले थाहै नपाई नेविसंघको झण्डा बोकेको बताउँदै नेता थापाले भन्नुभयो–‘नेविसंघ एउटा स्कुल हो, यहाँ थुप्रै कन्टेन्टहरु छन् । लर्निङ एण्ड डुइङको अवसर छ । यहाँ प्रवेश गरेको मान्छेले कहिल्यै पछुताउनुपर्दैन ।’

राजनीतिक भाषणभन्दा पनि युवा विद्यार्थीप्रति लक्षित एवं आफ्नो विद्यार्थी जीवन र नेविसंघमा हुँदा सिकेको सिकाइका विषयमा लगभग ४५ मिनेट मन्तब्य राख्नुभएका थापाले कहिलेकाँही थाहै नपाई गरिएको निर्णयले पनि जीवनलाई सफलतातर्फ मोड्नेछ भन्दै आफ्नै उदाहरण प्रस्तुत गर्नुभयो ।

‘पहिलोपटक जेल पर्दा स्वतन्त्रता के हो ? भन्ने कुरा सिकें’ –नेता थापाले भन्नुभयो–‘दिनभरमा एकपटक मात्रै शौचालय जान र खाना खान दिइन्थ्यो, त्यसबेला मात्रै मैले स्वतन्त्रताको अर्थ बुझें, त्यसबेला स्वतन्त्रताको महत्व थियो ।’ अब प्राप्त गरिसकेको वस्तुको खासै अर्थ नहुने र स्वतन्त्रताका लागि लडाईं लड्नुनपर्ने बताउँदै नेता थापाले अब पपुलिजमका विरुद्ध लडाई लड्नुपर्ने अवस्था आएको बताउनुभयो ।

आफूलाई आम निर्वाचन २०८४ को भन्दा नयाँ पुस्ताले कस्तो नेपाल पाउँछन् ? भन्ने चिन्ता रहेको बताउँदै नेता थापाले नयाँ आउने राजनीतिक शक्तिहरुले उत्तेजनाको राजनीति गरेको बताउनुभयो ।

उत्तेजनाकै राजनीतिका कारण माओवादी द्वन्द्वकालमा देश विकासका दृष्टिकोणले पछि परेको बताउनुभएका थापाले नयाँ राजनीतिक दलहरुले समेत उत्तेजनाको राजनीति गरिरहेका कारण तिनका पछि नलाग्न र चेतनाको राजनीति गर्न युवाहरुलाई आग्रह समेत गर्नुभयो । ‘नेविसंघका नेताहरुको राजनीति, जीवनशैली एवं समाजसेवा देखेर स्कुल जीवन सकेर कलेज प्रवेश गर्दै गरेको विद्यार्थी प्रभावित हुनुपर्छ’–नेता थापाले भन्नुभयो–‘तपाईहरु चेतना र समृद्धिको राजनीतिमा लाग्नुस्।’

नेविसंघ कनकाई इकाई समिति अध्यक्ष किरण गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस झापा सभापति देउकुमार थेवे, सचिव नवीन विमली, कोषाध्यक्ष जलकुमार गुरुङ, इलामका पूर्व सभापति हिमालय कर्माचार्य, नेपाल प्रेस युनियन केन्द्रीय सचिव रेजिना गौतम, नेपाल महिला संघ केन्द्रीय सदस्य उमा शिवाकोटी, नेपाल ट्रेड युनियन केन्द्रीय सदस्य उर्मिला पोखरेल, जिल्ला सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, नेविसंघ एवं तरुण दलका केन्द्रीय सदस्यसहित विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

नेविसंघ झापा सभापति सञ्जय निरौलाले स्वागत गर्नुभएको कार्यक्रम गोकुल पौडेल र गृष्मा सापकोटाले संयुक्त रुपमा सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here