भुटानी राजालाई पत्र

0
219

विष्णुप्रसाद पोखरेल,
दमक ।

भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेलले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुकलाई लिखित पत्र पठाउँदै नेपाली भाषी भुटानीहरुको अधिकार सुनिश्चित गर्न र बिभिन्न जेलहरुमा आजीवन कारावास बिताइरहेकाहरुको अवस्था सार्वजनिक गर्दै रिहाइ गर्न माग गरेका छन् ।

उनले दक्षिणी क्षेत्रमा बसोबास रहेका भुटानीहरुलाई शरणार्थी बन्न बाध्य बनाएर अहिले उक्त ठाउँमा अन्य भुटानीहरुलाई ल्याएर राखिन थालेको भन्दै यस्तो कार्य रोक्न समेत माग गर्दै पत्र पठाएका हुन् । दक्षिणी भुटानीहरूको सांस्कृतिक पहिचान अन्त्य गर्न खोजिएको भन्दै उनले यस्तो कार्य रोक्न आग्रह गरेका छन् ।

‘राजालाई जनताको संरक्षक, जनताप्रति दयालु, जनताको स्वामी, भूमिका स्वामी, मानव देवता भनेर मान्यता दिइएको उल्लेख गर्दै पत्रमा आफ्नो प्रजाको सुरक्षा, पालनपोषण र खुशीको जिम्मेवारी वहन गर्नु पर्ने उल्लेख गरिएको छ । हामी विश्वास गर्न चाहन्छौं कि भुटानले जनताको शक्ति, विविध सांस्कृतिक सम्पदालाई स्वीकार गर्ने र अन्तर्राष्ट्रिय समुदायको जिम्मेवार सदस्यको रूपमा अद्वितीय उपस्थिति स्थापित गर्नेछ’– पौडेलले पठाएको पत्रमा उल्लेख छ ।

भुटानको विकास र यसको सीमानाको सुरक्षाप्रति प्रतिबद्ध वफादार नागरिकहरूमाथि भएको भेदभाव र जातीय हिंसालाई नजिकबाट हेर्न उनले आग्रहसमेत गरेका छन् । भुटानको कूल जनसंख्याको करिब २० प्रतिशत देश छोडेर शरणार्थीको रूपमा बस्न बाध्य भएको उनले स्मरण गराएका छन् । निर्वासनमा रहेका नागरिकहरूको आकांक्षाप्रति म ध्यानाकर्षण गराउन चाहान्छु – उनले राजालाई पठाएको पत्रमा उल्लेख छ ।

हाल भुटान करिब दुई सय राजनीतिक कैदीले कुनै सुनुवाइ वा मुद्दाबिना नै जन्मकैदको सजाय भोगिरहेको पौडेलले उल्लेख गरेका छन् । यस बिषयमा उनीहरुका आफन्तलाई समेत थाहा नभएको पत्रमा उल्लेख छ । तीन दशकदेखि भुटान सरकारले कैयौं थुनुवाहरूलाई मनोमानी रूपमा यातना दिइरहेको छ, जसको ठेगाना सार्वजनिक गरिएको छैन – भुटानी राजालाई लेखिएको पत्रमा भनिएको छ ।
त्यस्ता केही बन्दीहरुको नाम समेत भुटानी राजा जिग्मे खेसर नामग्याल वाङ्चुकलाई पत्र पठाउँदै पत्रमा उनीहरूको छिट्टै रिहाइको आदेश हुने समेत अपेक्षा गरेका छन् । राजतन्त्रलाई स्थापित गर्न अहिले विस्थापित गरिएकाहरुको समेत योगदान रहेको उनले पत्रमा उल्लेख गरेका छन् ।

‘सन् १९७२ मा जिग्मे दोर्जी वाङ्चुकको निधन हुँदा म सहित १७ हिन्दू पुजारी दक्षिणका जनताको प्रतिनिधित्व गर्दै स्वर्गीय राजाको अन्त्येष्टिमा सहभागी भएका थियांै । हामीले हिन्दू परम्परा अनुसार वैदिक मन्त्र जप गर्यौं र स्वर्गीय राजाको दिवंगत आत्माको चिरशान्तिको लागि सात दिनसम्म प्रार्थना गर्यौं’– पौडेलले पत्रमा उल्लेख गरेका छन् ।

सन् १९७४ मा राजकुमार जिग्मे सिङ्ये वाङ्चुकको राज्याभिषेकलाई असफल पार्न रचिएको षड्यन्त्रलाई दक्षिणका एक साधारण वायरलेस अपरेटरले पर्दाफास गरेको कुरा भुटानका सबै नागरिकलाई थाहा छ – पत्रमा भनिएको छ । जब महामहिम जिग्मे सिङ्ये वाङ्चुकको विवाह हुँदै थियो, त्यो समय दक्षिणका जनताले खुसीयाली मनाएका थिए – राजालाई स्मरण गराइएको छ ।

हामीलाई आफ्नो घर फर्कन र व्यक्तिगत रूपमा महाराजको राज्याभिषेक र विवाहमा उपस्थित हुन अनुमति नदिए पनि निर्वासनबाट हजुरको सुखी र लामो दाम्पत्य जीवनको कामना गरेका थियांै, पौडेलले पत्रमा लेखेका छन् ।

पत्रमा दक्षिणी भुटानीहरूलाई निष्कासन गर्ने र उत्तरबाट जनसंख्या स्थानान्तरण गर्ने कार्य रोक्न माग गरिएको छ । यो कार्य रोकेर निर्वासनमा रहेका भुटानी जनतालाई स्वदेश फिर्ता गर्ने र भुटानी जनतालाई विना भेदभाव नागरिकता दिने व्यवस्था मिलाइनेछ भन्ने हाम्रो विश्वास छ – राजालाई पठाइएको पत्रमा भनिएको छ । निर्वासित जनसख्यालाई स्वदेश फर्काएर शान्ति र राष्ट्रको सर्वाङ्गिण विकासमा योगदान दिन सक्षम नभएसम्म खुशी राष्ट्र बन्न नसक्ने पौडेलले पत्रमा उल्लेख गरेका छन् ।

भुटानको ग्रस नेशनल ह्याप्पिनेस (जीएनएच) सूचकांकलाई थप मजबुद बनाउन निर्वासनमा रहेकाहरुलाई स्वदेश फिर्ती आवश्यक रहेको उल्लेख गर्दै पत्रमा निर्वासनमा रहेका राजनीतिक दलहरूसँग वार्ता हुनेमा आशाबादी रहेको पनि जनाएका छन् । निर्वासनमा रहेका भुटानीहरूलाई स्वदेश फिर्ता नगरेसम्म अन्तर्राष्ट्रिय मञ्चमा यो वास्तविकता बन्न सक्दैन– पत्रमा लेखिएको छ ।

भुटान पिपुल्स पार्टीका अध्यक्ष पौडेलले पठाएको पत्रको अन्त्यमा राष्ट्रिय मेलमिलापका लागि उपायहरू अवलम्बन शुरु हुने र यसको वास्तविक शुरुवात सबै राजनीतिक बन्दीहरूको बिना शर्त रिहाई हुने उल्लेख छ । पौडेलका अनुसार आफूहरुले इमेल मार्फत र डाकबाट समेत पत्र पठाएको जनाएका छन् । गत जुलाई ३० मा आफूहरुले लेखेरे पठाएको पत्र राजदरवार तथा राजासम्म पुगेको जानकारी पाएका छौं –झापाको बिर्तामोडमा निर्वासित जीवन बिताइरहेका पौडेलले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here