बिर्तामोडका व्यवसायीद्वारा नगरपालिकाले बृद्धि गरेको कर फिर्तामा जोड

0
24

बिर्तामोड ।

बिर्तामोड नगरपालिकाले अव्यवहारिक रुपमा कर वृद्धि गरेको भन्दै व्यवसायीहरुले वृद्धि गरिएको कर तुरुन्त फिर्ता लिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

नगरपालिका करको दर नघटाए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा बुधबार भएको कर वृद्धि तथा विज्ञापन करका सम्बन्धमा व्यवसायीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै विभिन्न वस्तुगत संगठनका प्रमुख तथा व्यवसायी, उद्योगी, राजनीतिक दलका नेताहरुले करको दर तत्काल घटाउनुपर्ने विचार व्यक्त गरे ।

नगरपालिकाले लागू गरेको करको विषयमा तथा व्यवसायीको असहमतिको बुदागत विषय प्रस्तुत गर्दै बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले व्यवसायीसँगको अन्तरक्रियाको विषयमा प्रष्ट पारेका थिए ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाले गरेको कर वृद्धि र त्यसको व्यवहारिकताको विषयमा रोशन सुवेदीले प्रष्ट पारेका थिए । उनले नगरपालिकाले वृद्धि गरेको कर अव्यवहारिक भएको भन्दै तत्काल सच्याउनुपर्ने माग गरेका थिए ।

त्यस्तै व्यवसायी सुजन शिवाकोटीले बिर्तामोड नगरपालिकाले विज्ञापन करका रुपमा अव्यवहारिक रुपमा व्यवसायिकहरुसँग कर संकलन शुरु गरेको भन्दै आफूहरु विज्ञापन वापतको कर तिर्न असक्षम रहेको धारणा व्यक्त गरे । उनले कर वृद्धिका विषयमा व्यवसायीहरुसँग परामर्श गर्नुको साटो मनोमानी रुपमा कर वृद्धि गरेको भन्दै कुनै पनि हालतमा कर नतिर्ने बताए । उनले नगरपालिकाले दादागिरी शैलीमा कर असुली गरे त्यसबिरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

कार्यक्रममा व्यवसायी सजेश शिवाकोटीले पेट्रोलियम व्यवसायीहरुबाट नगरपालिकाले चर्कोरुपमा कर असुलेर व्यवसायीलाई धरासायी बनाउने काम गरेको उल्लेख गरे । उनले बिर्तामोड उद्योग वाणिज्य संघका महासचिवको हस्ताक्षर नै दुरुपयोग गरेर कर वृद्धिमा व्यवसायीका नेताहरुको सहमति छ भन्ने हिसाबले भ्रम सिर्जना गरेकाले अब व्यवसायीहरु नगरपालिकाबिरुद्ध एकजुट भएर अगाडि बढ्नुपर्ने बताए । उनले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले सिंगो नगरपालिका चलाइरहेकाले जनप्रतिनिधिले नगरपालिका चलाउनुपर्ने विचार व्यक्त गरे । व्यवसायी करमा गरिएको वृद्धि तत्काल फिर्ता नलिए आन्दोलनको विकल्प नरहेको बताए ।

त्यस्तै व्यवसायी ओमकृष्ण विमलीले कृषि क्षेत्रमा गरिएको कर वृद्धि तत्काल फिर्ता लिनुपर्ने धारणा व्यक्त गरे । कृषि क्षेत्रलाई स्थानीय तहले प्रोत्साहन गर्नुको सट्टा हतोत्साही बनाउने हिसाबले कर लादेको भन्दै त्यसबिरुद्ध वाणिज्य संघले गर्ने आन्दोलनमा आफूहरुको पूर्ण साथ र सहयोग गर्ने प्रतिबद्धता जनाए ।

व्यवसायी राजेन्द्रकुमार थापाले नगरपालिकाले करप्रति गरेको वृद्धि तत्काल फिर्ता लिनुपर्ने धारणा व्यक्त गरे । वृद्धि गरिएको कर फिर्ता नलिए व्यवसाय नै बन्द गरेर आन्दोलनमा उत्रने चेतावनी दिँदै थापाले व्यवसायीको पक्षमा सबै एकजुट हुनुको विकल्प नरहेको उल्लेख गरे ।

कार्यक्रममा व्यवसायी पार्वता विमलीले बिर्तामोड उद्योग वाणिज्य संघले गर्ने आन्दोलनमा आफूहरुको पूर्ण समर्थन रहने उल्लेख गरे । उनले नगरपालिकाले गरेको कर वृद्धि अव्यवहारिक भएको धारणा व्यक्त गरिन् ।

व्यवसायी युवराज बाँस्कोटाले कर वृद्धिका बिरुद्ध सशक्त ढंगमा आन्दोलन गर्नुको विकल्प नरहेको उल्लेख गरे । नगरपालिकाले व्यवसायीहरुलाई संरक्षण र प्रोत्साहन गर्नुको साटो पलायन बनाउने हिसाबले कर वृद्धि गरेको भन्दै त्यसबिरुद्ध वाणिज्य संघले सशक्त प्रतिकार गर्नुपर्ने विचार व्यक्त गरे । उनले फोहोर संकलनको नाममा मनपरी रकम असुल गरिरहेकाले त्यसबिरुद्ध पनि व्यवसायी एकजुट हुनुपर्ने विचार व्यक्त गरे ।

व्यवसायी कृष्णप्रसाद घिमिरेले अब नगरपालिकाबिरुद्ध आन्दोलनमा जानुको विकल्प नरहेको धारणा व्यक्त गरे । उनले नगरपालिकाले कर वृद्धि गर्दा व्यवसायीसँग छलफल र परामर्श नगरेको भन्दै वृद्धि गरिएको कर आन्दोलनकै माध्यमबाट घटाउनुपर्ने विचार व्यक्त गरे ।

व्यवसायी गौरव तिम्सिनाले नगरपालिकाले वृद्धि गरेको कर सबैले बहिष्कार गरेर सशक्त आन्दोलनमा जानुको विकल्प नरहेको धारणा व्यक्त गरे । उनले सबै नगरबासीलाई करको विषयमा जानकारी गराएर आन्दोलनमा उतार्नुपर्ने विचार व्यक्त गरे ।

त्यस्तै व्यवसायी विपीन बजगाँईले नगरपालिकाले मनपरी ढंगबाट कर लगाउने काम गरेको भन्दै त्यसबिरुद्ध सशक्त आन्दोलनको विकल्प नरहेको विचार व्यक्त गरे । वाणिज्य संघले करको दर घटाउन गरेको प्रयासप्रति नगरपालिकाले उपेक्षा गरेको भन्दै यसबिरुद्ध व्यवसायी एकजुट भएर आन्दोलनमा उत्रनुपर्ने विचार व्यक्त गरे । उनले सम्पूर्ण व्यवसायीलाई व्यवसाय बन्द गरेर नगरपालिकाबिरुद्ध उत्रन वाणिज्य संघले आह्वान गर्नुपर्ने विचार व्यक्त गरे ।

त्यसैगरी व्यवसायी चिरञ्जीवी अधिकारीले कर वृद्धि गर्दा व्यवसायीको अवस्था कारोबार लगायतको मूल्यांकन गर्नुपर्नेमा नगरपालिकाले मनपरी ढंगबाट कर वृद्धि गर्ने निर्णय गरेको भन्दै सबै व्यवसायी एक भएर नगरपालिकाबिरुद्ध उत्रनुपर्ने विचार व्यक्त गरे । उनले गत आर्थिक वर्षमा कवाडी व्यवसायीले प्रति ट्रक एक हजार रुपैयाँ राजश्व तिरेकोमा चालू आर्थिक वर्षमा २१ हजार प्रति ट्रक कर तिर्नुपरेको भन्दै यो करको दर अव्यवहारिक भएको धारणा व्यक्त गरे । उनले व्यवसायीहरु व्यवसायबाट पलायन हुने अवस्थाामा मन लाग्ने कर असुल्ने काम बन्द गर्नुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा एकीकृत समाजवादीको नेता श्रीप्रसाद सिटौला, राप्रपा नेतृ रञ्जु प्याकुरेल, राष्ट्र स्वतन्त्र पार्टीका अर्जुन उप्रेती, माओवादी केन्द्रका नेता जेबी जबेगू, कांग्रेस नेता लक्ष्मी आचार्य लगायतले नगरपालिकाले हचुवाको भरमा कर वृद्धि गरेकाले व्यवसायीहरुले गर्ने आन्दोलनप्रति राजनीतिक दलको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।

कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले आन्दोलनलाई अगाडि बढाउनका लागि सबै पक्षसँग छलफल र परामर्श गरेर अगाडि बढ्ने विचार व्यक्त गरे । उनले बिर्तामोड उद्योग वाणिज्य संघ अहिले पनि व्यवसायीका मुद्दामा एकजुट भएर अगाडि बढ्ने धारणा व्यक्त गरे ।

अन्तरक्रिया कार्यक्रमको सञ्चालन बिर्तामोड उद्योग वाणिज्य संघका उद्योग सचिव कुशल खतिवडाले गरेका थिए । कार्यक्रममा बिर्तामोडका व्यवसायीहरुको सक्रिय सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here