बाह्रदशी गापामा राईलाई हाजिर गर्न रोक

0
11

झापा।

गत १३ साउनमा झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले सरकारी क्वाटरमा महिलासँग अश्लील गतिविधि गरेको भिडियो बाहिरिएको थियो ।

मदिराको नशामा एक महिलासँग अश्लील गतिविधि गर्दै गरेको भिडियो टिकटकमा सार्वजनिक भएपछि प्रमुख प्रशासकीय अधिकृत निरौलाले क्वाटरमा रङरोगन गर्न लगाएका थिए ।

यो घटना सेलाउन नपाउँदै माईजोगमाई गाउँपालिका इलामका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले २७ असारमा कार्यालयभित्र अश्लील हर्कत गरेको भिडियो हालै सार्वजनिक भयो । तीन महिनाअघिको भिडियो सार्वजनिक हुनुअघि नै प्रमुख प्रशासकीय अधिकृत काजीमान राई बाह्रदशी गाउँपालिका सरुवा मिलाएर आए ।

प्रमुख प्रशासकीय अधिकृतको अश्लील भिडियो सार्वजनिक भएसँगै बाह्रदशी गाउँपालिकाले समेत उनलाई कार्यालयमा हाजिर नगराउने निर्णय गरेको गाउँपालिका प्रमुख देविन्द्रप्रसाद चम्लगाँईले जानकारी दिए । उनी एक साताअघि मात्रै बाह्रदशी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका थिए ।

उता माईजोगमाई गाउँपालिका इलामका अध्यक्ष कुशबहादुर थेवे भिडियो आफूले पनि देखेको र यस्तो हर्कत कार्यालयभित्रै भएको पाइएको बताउँछन् । ‘प्रमुख प्रशासकीय अधिकृत त यसअघि नै यहाँबाट सरुवा भएर गइसक्नुभयो’ –उनले भने– ‘तर गाउँपालिका कार्यालयभित्र यस्तो कार्य हुनु लज्जाको विषय हो ।’

आइतबार (१७ भदौ)मा जिल्ला तथ्यांक कार्यालय, चितवनका प्रमुख यज्ञमूर्ति भण्डारी कार्यालय सहयोगी महिलामाथि यौनशोषण गरेको आरोपमा पक्राउ परे । पीडित महिलाका अनुसार भण्डारीले तीन वर्षदेखि यौनशोषण गर्दै आएका थिए । अहिले चार महिनाको गर्भपतन गराउन खोजेपछि पक्राउ परेका भण्डारीलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिइसकेको छ ।

कार्यालयमा अश्लील हर्कत गर्ने दमकका प्रमुख प्रशासकीय अधिकृत निरौला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौंमा बोलाएर उनलाई अतिरिक्तमा राखेको छ । तर, बाह्रदशीका प्रमुख प्रशासकीय अधिकृत काजीमानको भने कहाँ जाने भन्ने टुंगो लागेको छैन । आर्थिक घोटाला, भ्रष्टाचार र अनियमिततामा संलग्न भएका कारण स्थायी सरकार भनेर चिनिने कर्मचारी प्रशासनको छवि यो घटनाले झनै धमिलिएको छ ।

पछिल्लो समय कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण)–२०७१ ऐन छ, तर यौनजन्य गतिविधि गर्नेहरुलाई आचारसंहिता उल्लंघनमा विभागीय कारबाही बाहेक अरु कानूनी कारवाही हँुदैन । साथै पछिल्लो समय सार्वजनिक भएका कार्यस्थलमा यौनजन्य क्रियाकलाप वा अश्लील गतिविधि गरेको घटना आउँदा कर्मचारी संयन्त्रमाथि थप अविश्वास बढ्ने अधिकारीहरु बताउँछन् ।

मन्त्रालयका एक अधिकारी यस्ता लाजमर्दा घटनाका विषयमा औपचारिक प्रतिक्रिया दिन नसकिने बताउँछन् । ‘नैतिक र पदीय सीमाभित्र बस्नु कर्मचारीको न्यूनतम् मर्यादाको विषय हो भन्ने जानकारी नभएको होइन’ –एक अधिकारी भन्छन्– ‘सामान्य नागरिकसँग अपेक्षा गरिएको मर्यादा स्थायी सरकारको भूमिका निभाइरहेकाहरुमा नदेखिनु चिन्ताको विषय हो ।’

कर्मचारीहरुले आफ्ना आधारभूत नैतिक जिम्मेवारी र कर्तव्यबोध नगर्दा घटना दोहोरिरहेको उनको भनाइ छ । ‘हिजो पनि यस्तो घटना हुँदैन थिए भन्न त सकिन्नँ’ –उनी भन्छन्– ‘तर कार्यालय परिसरमै यस्तो गम्भीर नैतिक विचलनका घटनाहरु सार्वजनिक भएको तथ्य कमै थियो ।’

अहिले प्रविधिको प्रयोग बढिरहेका बेला हिजोभन्दा बढी जिम्मेवार र सचेत हुनुपर्नेमा उनको जोड छ । एक पूर्व प्रशासक पनि सरकारी कार्यालयभित्र भएका यस्ता घटनालाई ‘नियमित’ किसिमले हेर्ने छुट सरकारलाई नभएको बताउँछन् । समाजको नियामक व्यक्तिबाट भइरहेका यस्ता घटनाले समाजको मनोविज्ञानलाई समेत दूषित बनाउने भन्दै उनले उपचारको खोजी गर्नुपर्ने बताए । ‘कार्यालय परिसरमा खुल्लमखुला भइरहेका यस्ता घटनामा सामान्य कारबाहीको व्यवस्थाले पुगेन कि ?’ –उनी भन्छन् ।

सार्वजनिक पद धारणा गरेका व्यक्तिले सार्वजनिक जीवनमा आफूलाई आदर्श पात्रका रुपमा प्रस्तुत गर्नुपर्नेमा आफ्ना विचलित निजी जीवन बाहिर ल्याउने गरी हर्कतहरु गर्दा कर्मचारी संयन्त्रभित्र विकृति मौलाएको गलत सन्देश जाने डर भएको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

सरकारी कार्यालय वा निवासमा हुने जबरजस्ती करणी वा यौनजन्य गतिविधिमा संलग्न कर्मचारीको जति निन्दा गरे पनि नपुग्ने भन्दै एक पूर्व प्रशासक भन्छन्– ‘जे भए पनि यदाकदा हुने यस्ता घटनालाई आधार बनाएर कर्मचारी संयन्त्रबारे समाजमा दूषित सोच बन्न दिनुहन्न ।’

पूर्व सचिव पूर्णचन्द्र भट्टराई यस्ता घटनाहरुलाई टिप्पणीयोग्य मान्दैनन् । उनका अनुसार आधारभूत मानवीय मूल्य–मान्यतालाई कर्मचारीले सम्मान गर्ने व्यवस्था निजामती सेवा ऐन र नियमावली मै छ ।

ऐनमै कर्मचारीको आचारसंहिता सम्बन्धी विषयहरु छन् । कामको प्रकृतिका आधारमा विभागीय स्तरबाट समेत आचारसंहिताहरु जारी हुन सक्छन् । कतिपय कामहरु राति र प्रतिकूल अवस्थामा समेत गर्नुपर्ने भन्दै उनले कार्यस्थल र संयन्त्रलाई मर्यादाभित्र बस्न प्रोत्साहित गर्ने गरी आवश्यकता अनुसार विभागीय प्रमुखहरुले आचारसंहिता जारी पनि गर्छन् ।

‘कम्तीमा समाजको विधिविधान चलाउनेले विधि छोड्दैन भन्ने सामान्य मूल्य–मान्यता हो’ –पूर्व सचिव भट्टराई भन्छन्– ‘सामान्य रुपमा यस्ता घटना हुन सक्छन् भन्ने परिकल्पना गरिँदैन । यस्तो परिकल्पना गर्नुपर्ने अवस्थामा कर्मचारी समाज पुग्यो भने त्यो पीडादायी विषय हुन्छ ।’

उनका अनुसार पछिल्ला घटनाहरुले कर्मचारी वृत्तलाई आत्मानुशासन, नैतिक चरित्र विकास, मानवीय मूल्यमान्यता आत्मसात् गर्ने विषयमा अझ प्रशिक्षित गर्नुपर्ने देखिएको छ । ‘अहिले पनि स्टाफ कलेजले यस्ता विषयमा कर्मचारीलाई जागृत त गरिरहेको छ’ –भट्टराई भन्छन्– ‘तर, थप प्रयास आवश्यक देखियो ।’

साथै समग्र कर्मचारी प्रशासनको साखलाई उँचो बनाउन तीन वटै तहका सरकारले पनि पहल गर्नुपर्नेमा उनको जोड छ । ‘अहिले जुन घटनाहरु चर्चामा छन्, त्यसले कर्मचारी संयन्त्रभित्र चिन्ता थपेको छ’ –पूर्व सचिव भट्टराई भन्छन्– ‘सिर्जनात्मक ढंगले स्थायी सरकारको सम्मान र भरोसालाई अझै माथि लैजान सबैले भूमिका खेल्नुपर्छ, हिलो छ्याप्न लागेर देशको भलो हुँदैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here