आर्थिक चलखेल भएको आलोचना बढेपछि शिक्षक नियुक्ति प्रक्रिया तत्काल रोकियो

0
10

कानेपाेखरी,

मोरङको कानेपोखरी–०४ मिलन चोकमा रहेको पञ्चकन्या आधरभूत विद्यालयमा राहत शिक्षक नियुक्तिको लागि लिएको परीक्षामा आर्थिक चलखेल भएको आलोचना बढेपछि शिक्षक नियुक्तिको प्रक्रिया तत्काल रोकिएको छ ।

कानेपोखरी गाउँपालिकाले पुस १२ गते पत्रचार गरी तत्काल अर्को निर्देशन जारी नभएसम्मको लागि परीक्षामा उत्तिर्ण भएका उम्मेदवारलाई नियुक्त नगर्न विद्यालयलाई पत्रचार गरेको हो । गाउँपालिकाले पत्रचार गरेपछि लिखित परीक्षाबाट उत्तिर्ण भएका उम्मेदवार शोभा कोइरालालाई विद्यालय व्यवस्थापन समितिले अहिलेसम्म नियुक्ति गरेको छैन । ‘पुस ९ गते संचालित परीक्षाबाट छनौट भइ नियुक्तिको लागि विद्यालय व्यवस्थापन समितिलाई सिफारिस गरिएको उम्मेदवारलाई यस कार्यालयबाट अर्को सूचना नभएसम्म नियुक्ति नगर्नु, नगराउनु हुन अनुरोध छ,’ गाउँपालिकाले विद्यालयलाई गरेको पत्रमा उल्लेख गरिएको छ ।

कानेपोखरी गाउँपालिकाले सार्वजनिक सूचना प्रकाशन नगरी परीक्षा सञ्चालन गर्ने प्रपञ्च मिलाएर करार सूचिका ६ जना शिक्षकहरुलाई प्रतिष्पर्धा गर्नबाट वञ्चित गराएर पुस ९ गते परीक्षा लिएको थियो । उक्त परीक्षाबाट शोभा कोइराला उत्तिर्ण भएकी थिइन् ।

सेटिङमा शिक्षक नियुक्त गर्न कानेपोखरी गाउँपालिकाका शिक्षा शाखाका अधिकारी र विद्यालयका प्रधानाध्यापक समेतले मिलेमत्तो गरेको स्थानीयले आरोप लगाएका थिए । करार सूचीका शिक्षक र स्थानीयले आर्थिक चलेखेल भएर गोप्य रुपमा गरिएको परीक्षा रद्ध गरेर शिक्षा नियमावलीमा व्यवस्था भए अनुसारका करार सूचिका शिक्षक राखिनुपर्ने माग गर्दै आएका छन् ।

उक्त विद्यालयकी शिक्षिका विमला पौडेलले ५ महिना अघि राजीनामा दिएपछि रिक्त रहेको एक जना राहत शिक्षक नियुक्तिको परीक्षामा करार सूचिका ५ जना शिक्षकलाई बन्चित गराएर गाउँपालिकाले परीक्षा लिएको थियो । रिक्त रहेको एक जना प्रा.वि. तृतीय राहत अनुदानको शिक्षक नियुक्तिको विज्ञापन विद्यालयले कार्तिक १० गते सूचना गोप्य रुपमा प्रकाशित गरेको छ । तर, उक्त विज्ञापनको सूचना विद्यालय र गाउँपालिकाको वेवसाइट, पत्रपत्रिका र कार्यालय कतै टाँस गरिएको थिएन । करार सूचिका शिक्षकहरुले निवेदन दिने समयसीमा सकिएपछि मात्र कार्तिक १६ गते विद्यालयका प्रधानध्यापक भरत राजवंशीले आफ्नो फेसबुक र कानेपोखरी स्तरीय प्रधानाध्यापकहरुको फेसबुक ग्रुपमा हालेका थिए ।

कानेपोखरीमा करार सूचिका शिक्षकहरू ५ जना रहेका छन् । करार सुचि नम्बर ११६ मा रहेका कानेपोखरी ३ का नवराज सुवेदी, २९ नम्बरका करार सूचीका युवराज सापकोटा, कानेपोखरी ५ का २८ नम्बर करार सूचीका तेइन्द्र कुमार बास्तोला, कानेपोखरी ७ का ९१ नम्बर करार सूचीका विना कुमारी बुढाथोकी र सोही वडाका ७२ करार सूचीमा रहेका सीतादेवी खड्का रहेका छन् । उनीहरुलाई बाइपास गरेर विद्यालयले परीक्षा लिएको थियो ।

शिक्षा नियमावलीको उपनियम १ मा आयोगबाट प्रकाशित सूचीमा करारका लागि हुने उम्मेद्वार नरहेमा वा सूचीमा समावेश भएका उम्मेद्वारको शिक्षक पदमा नियुक्ति हुन निवेदन नपरेमा व्यवस्थापन समितिले शिक्षक छनौट समितिको सिफारिसमा बढीमा एक शैक्षिक शत्रको लागि कुनै व्यक्तिलाई करारमा शिक्षक नियुक्ति गर्न सक्ने उल्लेख छ ।

शिक्षा नियामवलीमा व्यवस्था नभएको नियमलाई विद्यालयले २ महिना अघि विज्ञापन गर्दा विज्ञापन प्रकाशन गरेको मितिले करार सूचीका उम्मेदवारलाई ७ दिन भित्र कार्यालयमा सम्पर्क गर्न र करार सूचीका नआए मात्र अन्यले आवेदन दिन पाउने विज्ञापनमा उल्लेख गरेको छ । गाउँपालिकाको शिक्षा शाखा प्रमुख बेगबहादुर काफ्ले र विद्यालयका प्रधानध्यापक भरत राजवंशीले आर्थिक चलखेल गरेर करार सूचिका शिक्षकहरुलाई राहत शिक्षक नियुक्ति प्रक्रियामा सामेल नगराउने उद्देश्यले गुपचुपमै विज्ञापन राखेको पाइएको छ ।

करार सूचिका शिक्षकले निवेदन दिने समय सकिएपछि विज्ञापन सार्वजानिक गरेको दुई महिनापछि मात्र पुस ९ गते लिएको परीक्षा लिएको थियो । यस विषयमा कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोला अधिकारीले तत्काल शिक्षक नियुक्त रोकिएको बताएका छन्। उपाध्यक्ष अधिकारीले राहत शिक्षकको परीक्षाको विषयमा अध्ययन भइरहेको सुनाए ।

गाउँपालिकाले परीक्षा रद्ध गरेर ५ जना करार सूचिका मध्ये निवेदन हालेका शिक्षकलाई नियुक्ति गर्ने तयारी गरेको बुझिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here