बसन्त

0
12

नौलो गन्ध सुगन्ध यो पवनमा लट्याउने माधुरी
नाच्दै गाउँ कि बागमा सडकमा रन्काउँदै बाँसुरी
फूर्ती यो तनमा उमँग मनमा के हो नियाल्दै गएँ
देखेँ राज बसन्तको धरणिमा आनन्द लट्ठै भएँ ।

वृद्धा वृक्ष लता समस्त तरुणा कोही फली झप्प छन्
कोही छन् पिपिरा झपक्क चिचिला कोही फुली ढक्क छन्
लेकाली वनमा गुराँस रमिता ऐँसेलु मीठा फल
मौरी यी भमरा भुलेर रसमा बिर्से कि आफ्ना घर ।

उद्यानै घरका बुट्यान परका ठूला घना जंगल
गुञ्जन्छन् पशुका चरा मजुरका आवाज छन् मंगल
डाँफे, न्याउल, कोइली सब चरा गाई इशारा दिने
आयो मौसम पक्षिणी लगनको रोजेर जोडा लिने ।

जोडी भै बटुली पराल गुणका निर्माणमा व्यस्त छन्
कोही काम छिनेर ढुक्क मनले सम्भोगमा मस्त छन्
जाडो छैन कतै न धूप अहिले बग्दै हिमाली जल
कोशी बागमती तमोर त्रिशुली सिञ्चेर गंगा जल ।

चौतारी रमिते बतास वरले पंखा चलाओस् अब
हेर्दै बस्नु पहाडका हिमगिरी बेंसी तराई सब
यस्तो शान्त वसन्तमा अझ नयाँ भाकाहरु गीतका
लेखौंला कविता निबन्ध भविता नेपालका प्रितका ।

बिर्तामोड–५, झापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here