असुरक्षित बन्दै सडक: दुर्घटना रोक्न ट्राफिकको सचेतना अभियान

0
21

बिर्तामोड ।

जीर्ण सडकको अवस्था, सवारीको चाप उच्च, ट्राफिक जनशक्तिको अभाव र सवारी चालकको लापरवाहीका कारण झापामा सवारी दुर्घटना हुने गरेको पाइएको छ । जिल्लामा हुने गरेका दुर्घटनालाई आधार मान्दा अधिकांश दुर्घटना ट्राफिक नियम उल्लंघन गरेकै कारण हुने गरेको पाइएको हो ।

विशेष गरी साँझको समयमा दुर्घटना हुने गरेको र दुर्घटनामा ज्यान गुमाउने २५ वर्षभन्दा माथि उमेर समूह रहेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ । ६ देखि ९ बजेसम्म अधिक दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए । ट्राफिक नियम पालना गराउन ट्राफिक प्रहरीले जिल्लाका विभिन्न स्थानमा चेकपोष्ट खडा गर्दै कार्वाहीलाई तिब्र पारे पनि दुर्घटना भने न्यूनीकरण हुन सकेको छैन ।

चालू आर्थिक वर्षको चैत महिनासम्म ट्राफिक नियम उल्लंघन गर्ने ३६ हजार २१ सवारी चालक कार्वाहीमा परेका छन् । ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन नगरी सवारी चलाउन जिल्लाका विभिन्न स्थानमा तीन हजार दुई सय २५ वटा सचेतना कक्षा सञ्चालन गरेको र विद्यार्थीसहित एक लाख ३० हजार आठ सय ४९ जनालाई ट्राफिक सचेतना शिक्षा प्रदान गरिए पनि नियमको उल्लंघन गर्दा दुर्घटना हुने गरेको प्रहरी निरीक्षक न्यौपानेले बताए ।

मुख्य राजमार्गमा रहेका प्रहरी युनिटमा दुई जना ट्राफिक प्रहरीले चेकजाँच गर्नु पर्ने बाध्यता रहेको, सबै पोष्टहरुलाई मादक पदार्थ सेवन गरेको या नगरेको छुट्याउने उपकरण ब्रेथलाइजर उपलब्ध गराउन नसकिएको कारण पनि चेकजाँचलाई कडाई गर्न समस्या हुने गरेको उनको भनाइ छ । हाल झापामा दुईवटा मात्र ब्रेथलाइजर मेसिन ट्राफिक प्रहरीसँग रहेको प्रहरी निरीक्षक न्यौपानेले बताए ।

सडकको अवस्था जीर्ण रहेकै कारण दुर्घटना हुने गरेको र प्रविधि मैत्री हुन नसक्दा दुर्घटना बढ्ने सम्भावना रहेको बताइन्छ । शिक्षित समुदायले नै ट्राफिक नियम पालना नगर्नु, सवारी चालकले हेलचेक्र्याँइ गर्नुले पनि दुर्घटना हुने गरको उनको भनाइ छ ।

दुर्घटनामा अघिल्लो आर्थिक वर्षको यो अवधिमा ९९ जनाले ज्यान गुमाएका थिए भने यो आर्थिक वर्ष ६४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ । वैशाख महिनाको दुर्घटनालाई हेर्ने हो भने एकै दिन पाँच जनासहित आठ जनाले ज्यान गुमाइसकेका छन् । अघिल्लो आर्थिक वर्ष वैशाख महिनामा ६ जनाले मात्रै ज्यान गुमाएका थिए ।

तर अघिल्लो आर्थिक वर्षको तुलनामा दुई साता बित्न नपाउँदै आठ जनाले सवारी दुर्घटनामा ज्यान गुमाउनु परेको हो । त्यसो त अघिल्लो आर्थिक वर्षको श्रावण महिनामा १२ जनाले ज्यान गुमाएका थिए भने यो आर्थिक वर्ष पाँच जनाले ज्यान गुमाए । त्यस्तै भदौमा अघिल्लो वर्ष पाँच, यस वर्ष ७ जना, असोजमा अघिल्लो वर्ष १६, यो वर्ष तीन जना, कात्तिकमा अघिल्लो वर्ष ९ जना र यो वर्ष १३ जनाले ज्यान गुमाए । त्यस्तै मंसीरमा अघिल्लो वर्ष १४ र यो वर्ष चार जना, पुसमा अघिल्लो वर्ष १२ , यो वर्ष दश, माघमा अघिल्लो वर्ष सात जना र यो वर्ष ४ जनाले ज्यान गुमाए ।

यता फागुनमा अघिल्लो वर्ष १० जनाले ज्यान गुमाएका थिए भने यो वर्ष ७ जनाले ज्यान गुमाए । चैतमा अघिल्लो वर्ष ७ जनाले ज्यान गुमाउँदा यो वर्ष ५ जनाले ज्यान गुमाए । ट्राफिक प्रहरीले चेकजाँचलाई कडाई गरे पनि ट्राफिक प्रहरीलाई छक्याउँदै नियम उल्लंघन गर्दा दुर्घटना हुने गरेको बताइन्छ । ट्राफिक प्रहरीले अघिल्लो आर्थिक वर्षको तुलना चेकजाँचलाई तिब्र बनाउँदा राजश्व संकलन समेत बढेको तथ्याङ्कले देखाएको छ ।

अघिल्लो वर्ष चैत महिनासम्ममा दुई करोड ६६ लाख, ८६ हजार, पाँच सय रुपैयाँ राजश्व संकलन गरेको ट्राफिक प्रहरीले यो वर्ष सोही अवधिमा दुई करोड ७७ लाख ३६ हजार एक सय ४१ रुपैयाँ राजश्व संकलन गरेको प्रहरी निरीक्षक न्यौपानेको भनाइ छ ।

झापामा रहेको यातायात व्यवस्था कार्यालयका अनुसार आर्थिक वर्ष २०७९÷०८० सम्ममा दुई लाख ९६ हजार आठ सय ८५ वटा सवारी दर्ता रहेका छन् । जुन अनुपातले हेर्दा एक जना ट्राफिक प्रहरीले तीन हजार ३२ वटा सवारी साधनको रेखदेख गर्नु पर्ने अवस्था रहेको प्रहरी निरीक्षक न्यौपानेको भनाइ छ । सडक दुर्घटना न्यूनीकरणकै लागि विद्यार्थीसँग ट्राफिक सचेतना कक्षा, हेलमेटको प्रयोग सम्बन्धी सडकमै प्रशिक्षण, नयाँ चालक, व्यवसायी, परिचालकलाई विशेष कक्षा, सर्वसाधारणलाई ट्राफिक सचेतना सम्बन्धी कक्षा सञ्चालन गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here