बुद्धशान्ति वडा १ को अनुदान सहयोग कार्यक्रम : बायो ग्यास प्रयोगकर्ता बढे, पशुको कृतिम गर्भाधान सेवा

0
4

बुद्धशान्ति। 

वडाले अनुदान सहयोगको कार्यक्रम ल्याएपछि झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ का पशुपालक कृषकहरुले बायो ग्यासको प्रयोग बढाएका छन् ।

वडा नं. १ को दीर्घकालीन योजना अन्तर्गत कृषकलाई वडाबाट १० हजार रूपैँया अनुदान सहुलियत दिए पछि आर्थिक वर्ष २०८०/०८१ मा बायो ग्यास जडानमा कृषक आकर्षित भएका हुन् ।

नागरिकका नविनतम आवश्यकता परिपुर्तिका लागि योजनागत रूपमा अघि बढिरहेको बुद्धशान्ति वडा नं १ ले पशुपालनमा थप हौसला दिँदै उर्जाका लागि हुँदै आएको खर्च कटौति पनि हुने र २० बर्ष माथि टिकाउ हुने गोवर ग्यास निर्माणमा प्रति प्लान्ट १० हजार रुपैँया अनुदान सहयोग गरेको हो । पशुपालक किसानलाई थप सहुलियत होस् भनेर वडाले गाई भैँसीको एआई सेवामा पनि सहुलियत दिइरहेको छ । कृतिम गर्वाधान सेवामा किसानको रु १ सय र बाँकी ३ सय वडाले सहुलियत दिइरहेको छ ।

वडा कार्यालयको अनुदान रकमको ब्यवस्थापन साथै लोक कल्याण बायो ग्यास कम्पनि र मुनाल बायो ग्यास कम्पनि सँगको सहकार्यमा वडा नं १ का २९ घरमा गोबर ग्यास प्लान्टहरु स्थापना भएका छन् ।

एक परिवार बरावर वार्षिक रुपमा २० हजार देखि ३० हजार रुपैँयाको सिलिण्डर ग्यास खपत हुने आंकडा रहेको छ । वडा कार्यालयको सहयोगमा ६ घनको ग्यास प्लान्ट निर्माण भएका छन् । वडा नं. १ मा १९ सय ६० वटा गाईहरु वडाको सेवा क्षेत्रका कृषकहरुको गोठमा रहेको अध्यक्ष वाग्लेले बताउनुभयो ।

बायो ग्यास स्थापनाका लागि हाल बुद्धशान्ति गाउँपालिका वडा नं. १ का कृषकहरूको चासो र उत्साह वढि नै रहेको पाइन्छ । कृषकको मागलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षका लागि बायो ग्यास प्लान्ट स्थापनाका लागि बजेट ब्यवस्थापनलाई निरन्तरता दिने वडा अध्यक्ष अनिल वाग्लेले बताउनुभयो । विकास भनेको बाटो घाटो मात्रै बनाउनु होइन नागरिकको दैनिकीमा सहजता ल्याउनु, नागरिकको खर्च घटाउने गरीका दीर्घकालीन योजना लागू गर्नु, बहुउपयोगी खालका कार्यक्रम सञ्चालन गरेर सुविधा दिनु पनि विकासको आधारहरू भएको वडा अध्यक्ष वाग्लेको भनाई छ।

बुद्धशान्ति गाउँपालिका वडा नं. १ मा वडा कार्यालयको महत्वपूर्ण सहयोग प्राप्त भएको बताउँदै सिलिण्डर ग्यासको प्रयोग घटेको साथै यसबाट निस्केको गोबरबाट गुणस्तरीय जैविक मल बनाउन सकिने मुनाल बायो ग्यास कम्पनीका महा प्रबन्धक श्याम खनालले बताउनुभयो ।

बिश्वमा बढ्दै गएको उर्जा संकटलाई सम्बोधन गर्नका लागि बायो ग्यास प्लान्टको भुमिका महत्वपूर्ण हुने देखिएको छ । कार्वन उत्सर्जनमा समेत सहयोग गर्ने बायो ग्यासमा मिथेन ग्यास खपत भई मलका लागि आवश्यक सम्पूर्ण तत्व यथावत रहने हुँदा कृषकलाई चौतर्फि फाइदा पुग्ने नेपाल बायो ग्यास प्रवद्धन संघ कोशी प्रदेशका अध्यक्ष सन्तोष उप्रेतीले बताउनु भयो ।

लोक कल्याण बायो ग्यास कम्पनि र मुनाल बायो ग्यास कम्पनि साथै वडा नं १ कार्यलय साथै उपभोक्ताको गरि त्रिपक्षिय कार्यक्रम अन्तरगत कुल लागत २१ लाख २४ हजारको लागतमा २९ घरमा बायो ग्यास स्थापना भइरहेको छ । बायो ग्यास स्थापनाका लागि वडाले ३ लाख बजेट ब्यवस्था गरेर कार्यक्रम सञ्चालन गरेको बताउँदै प्लान्ट ३० वर्ष सम्म चल्ने साथै खर्च कटौतीमा महत्वपूर्ण भुमिका खेल्ने वडा नं. १ का अध्यक्ष अनिल वाग्लेले बताउनुभयो ।

गोबर ग्यास प्लान्ट स्थापनाका लागि वडा कार्यालयको सहयोगबाट राहत पुगेको बताउँदै समय र पैसा बचत भएको मात्र होइन संकटमा समेत सहज हुने स्थानीय पदम भुर्तेलले बताउनुभयो । बुद्धशान्ति गाउँपालिका वडा नं. १ मा केही कृषकहरुले लामो समयदेखि गोबरग्यास प्रयोगमा ल्याएको पाइन्छ ।

मानिसलाई विभिन्न ढंगबाट बायो ग्यासले सहयोग पुग्ने बताउँदै बुद्धशान्ति गाउँपालिका वडा नं. १ का नन्दकुमार तिम्सिनाले प्लान्टबाट निस्केको मल समेत प्रभावकारी हुने बताउदै वडाले राम्रो काम गरेकोले यस कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

बायो ग्यास निर्माणमा प्रयोग भएका सामग्री र मेकानिजम अत्यन्तै मजबुत भएको बताउँदै प्राविधिक लेखनाथ अधिकारीले प्रयोग कर्ताले प्लान्ट संरक्षणमा ध्यान पूर्याउन सकेको खण्डमा लामो समय टिकाउ हुने बताउनुभयो ।

वायो ग्यास निर्माण हुँदा सिलिन्डर ग्यासमा हुने खर्च बच्ने छ भने गोवरका लागि पालिएका पशुबाट दूध बिक्रि गरि तथा मल प्रयोग गरि किसानले आय वृद्धि गर्न सक्नुहोस् भन्ने लक्ष्यका साथ वडाले सो कार्यक्रम सुरुवात गरेको बताएको छ । जसले किसानमा खुसी छाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here