दुर्घटना न्युनीकरण गर्न ट्राफिक सप्ताहः सप्ताहमै पाँच जनाले ज्यान गुमाए, १६ जना गम्भिर घाइते

0
25

बिर्तामोड ।

कोशी प्रदेशका १४ जिल्लामा ट्राफिक सप्ताहकै अवधिमा पाँच जनाले ज्यान गुमाएका छन् । सातै दिन सात काम, सडक सुरक्षा हाम्रो अभियान भन्ने नाराका साथ कोशी प्रदेशका १४ वटै जिल्लामा ट्राफिक सप्ताह गत असार ६ गतेबाट शुरु भएको थियो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निर्देशनमा प्रदेशका झापासहित मोरङ, सुनसरी, उदयपुर, धनकुटा, तेह्रथुम, इलाम, पाँचथर, ताप्लेजुङ, भोजपुर, संखुवासभा, खोटाङ, ओखलढुंगा र सोलुखुम्बूमा एकैसाथ ट्राफिक सप्ताह शुरु भएको थियो ।

सडक दुर्घटना दैनिकरुपमा बढिरहेको भन्दै ट्राफिक प्रहरीले सचेतना अभियान सञ्चालन गरे पनि ट्राफिक सप्ताहककै अवधिमा झापामा दुई जना, सुनसरीमा एक जना, उदयपुरमा एक, संखुवासभामा एक गरी पाँच जनाले ज्यान गुमाए । ज्यान गुमाउनेमा तीन पुरुष र दुई जना महिला रहेको राजमार्ग सुरुक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक मोहनविक्रम दाहालले पूर्वाञ्चललाई जानकारी दिए ।

ट्राफिक सप्ताहकै अवधिमा सबैभन्दा धेरै मोरङ जिल्लामा २८ वटा सवारी दुर्घटना भएका छन् भने सुनसरीमा २४, झापामा १४ र धनकुटामा चारवटा सवारी दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । उक्त अवधिमा भएका दुर्घटनामा १६ जना गम्भीर घाइते भएका थिए भने एक सय २३ जना सामान्य घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।

सचेतामूलक कार्यक्रमसहित साद दिन फरकफरक कार्यक्रम गरेको ट्राफिक प्रहरीले सुनसरीमा ९ सय ३६ वटा सवारी साधानलाई कार्वाही ग¥यो भने झापामा एक हजार दुई सय ६२ सवारी ट्राफिक नियम उल्लंघन गरेको भन्दै कार्वाहीमा परे ।

त्यस्तै मोरङमा एक हजार ३३, उदयपुरमा ३ सय ६्४, धनकुटामा दुई सय १३, तेह्रथुममा २३, इलाममा ३ सय ३६, पाँचथरमा ६४, ताप्लेजुमा १८, भोजपुुरमा ५५, संखुवासभामा ५२, खोटाङमा एक सय १६, ओखलुढुंगामा ९५ र सोलुखुम्बूमा ५९ वटा सवारीलाई ट्राफिक नियम उल्लंघन गरेको भन्दै कार्वाही गरिएको प्रहरी नायव उपरीक्षक दाहालले जानकारी दिए ।

उनका अनुसार चार हजार ६ सय २६ वटा सवारीलाई कार्वाही गर्दा ३० लाख, ४६ हजार ५० रुपैयाँ राजश्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

जिल्लाका विभिन्न स्थानमा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धी सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरे पनि सवारी दुर्घटनामा कमी आउन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here