प्रावि र निमावि दरबन्दीको भरमा मोहनमाया, एसइई नतिजा भने उत्कृष्ट

0
36

सुरेन्द्र भण्डारी,
झापा ।

बिर्तामोड नगरपालिका –२ मा रहेको मोहनमाया माध्यमिक बिद्यालय देशकै उत्कृष्ट विद्यालय मध्येको एक हो । शैक्षिक गतिविधिका हिसबाले यो बिद्यालय झापामा मात्र होइन देशकै उत्कृष्ट विद्यालयको सूचिमा १५ औं नम्वरमा छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उत्कृष्ट विद्यालयको मापदण्ड २०७९ मा मोहनमाया १५ औं नम्वरमा पर्न सफल भएको हो ।

मन्त्रालयको मापदण्ड अनुसार सामुदायिक विद्यालयतर्फ एसइई परीक्षामा सहभागी भएका विद्यार्थीले ३.२० जीपीए वा सोभन्दा माथि ३० प्रतिशतभन्दा माथि विद्यार्थी उत्तीर्ण हुनुपर्छ । तर, मोहनमाया माध्यमिक बिद्यालयबाट गत वर्ष एसइई परीक्षामा सहभागी विद्यार्थी मध्ये ३.२० जीपीएभन्दा माथि ९२ जना उत्र्तीण भएका थिए । अर्थात गत वर्ष ६२.५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । जसका कारण मोहनमाया देशकै उत्कृष्ट बिद्यालयमा पर्न सफल भएको थियो ।

यो वर्षपनि ३.६० भन्दा माथि जीपीए आउने विद्यार्थीको संख्या २४.४९ प्रतिशत रहेको छ । यो जिल्लाकै प्रथम भएको विद्यालयको दावी छ । यता मन्त्रालयले तयार गरेको मापदण्डका आधारमा मोहनमायाले सामुदायिक विद्यालयतर्फ ३.६० देखि ४ जीपीए ल्याउने ३६ जना र ३.२० देखि ३.६० जीपीए ल्याउने ५६ जना विद्यार्थी उत्तीर्ण गराउन सफल भयो । यो नतिजा गत वर्षको भन्दा राम्रो भएको विद्यालयका प्रधानाध्यापक शेरवहादुर श्रेष्ठले बताए । यो नतिजाका आधारमा मोहनमाया सामुदायिक विद्यालयतर्फ देशभरमै उत्कृष्ट भएको प्रधानाध्यापक श्रेष्टको दावी छ ।

तर, यही विद्यालयमा शिक्षक दरबन्दी न्यून छ । न्यून शिक्षक दरबन्दीका बीच मोहनमायाले एसइईको नतिजा विगतका वर्षदेखि नै राम्रो निकाल्न सफल भएसँंगै बिद्यार्थी र अभिभावकको रोजाइमा छ । जसका कारण यस वर्षदेखि यो विद्यालयले दुई शत्रमा कक्षा सञ्चालन गर्दै आएको छ । विद्यार्थी संख्या धेरै र कक्षा कोठाको अभावमा कक्षा ५ देखि ९ सम्म विहानी शत्रमा पठन पाठन गराउनु परेको प्रधानाध्यापक श्रेष्ठले बताए । हाल यो विद्यालयमा दुई हजार दुई सयभन्दा बढी विद्यार्थी अध्ययनरत् छन् ।

यो विद्यालयमा माध्यमिक तहमा एउटा मात्र दरवन्दी छ । जुन दरबन्दीमा प्रधानाध्यापक श्रेष्ठ आफैं कार्यरत् छन् । साविक उच्च मावि तह (११– १२) मा एउटा पनि दरवन्दी छैन । त्यस्तै निम्न माध्यमिक तहमा राहतसहित ५ वटा मात्र दरवन्दी छ भने प्राथमिक तहमा १५ वटा दरवन्दी छ । विशेष श्रोत कक्षाका लागि दुई, सहयोगी ६ जना र कर्मचारी दुई जना गरी ३३ जनाको दरवन्दी रहेको यो विद्यालयमा शिक्षक अभाव भएसंँगै निजी श्रोतबाट ७७ जना शिक्षक कर्मचारी राख्नु परेको प्रधानाध्यापक श्रेष्ठले बताए । निजी श्रोत र सरकारी दरवन्दीका शिक्षक गरी हाल एक सय १० जना शिक्षक कर्मचारी कार्यरत् छन् ।

विद्यालयमा विद्यार्थीको चाप उच्च, कक्षा कोठाको अभाव र शिक्षक दरवन्दीसमेत न्यून हुँदा समुदायसँंग आश्रित हुनुको विकल्प नरहेको प्रधानाध्यपक श्रेष्ठको भनाइ छ । २०६८ सालबाट कक्षा ९ सञ्चालनको अनुमति पाएको विद्यालयमले ११/१२ मा व्यवस्थापन र विज्ञान संकायका कक्षा सञ्चालन गर्दै आएको छ । त्यस्तै प्राविधिक धारतर्फ सीटीइभीटीबाट सम्वन्धन लिई डीप्लोमा इन सिभिल इञ्जिनियरिङ र हाइड्रो इञ्जिनियरिङका कक्षा सञ्चालन गर्दै आएको छ ।

सरकारले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनेपनि सरकारबाटै पर्याप्त सहयोग नपाउँदा शिक्षालाई निःशुल्क गर्न नसकिएको र समुदायसँंग आश्रित हुनु परेको प्रधानाध्यपक श्रेष्टको भनाइ छ । दरवन्दी मिलान गर्न नसक्नु, विद्यार्थी संख्याको आधारमा शिक्षक दरवन्दी कायम गर्न नसक्नुले पनि धेरै विद्यालय समुदायस्तरमा आश्रित हुन परेको उनको भनाइ छ ।

विद्यालय भवन अभाव हुँदा सरकारले भन्दा छिटो समुदायले कक्षा कोठा निर्माणमा सहयोग गरेको उनले बताए । हाल सरकारी सहयोगबाट १२ कोठा निर्माण भएका छन् भने समुदायबाट ३० वटाभन्द बढी कक्षा कोठा निर्माण गरिएको प्रधानाध्यापक श्रेष्टले बताए । यो वर्ष बल्ल संघीय सांसद हर्कमाया विकको पहलमा विद्यालयलाई भौतिक संरचना निर्माणका लागि एक करोड रुपैयाँ बजेट बिनियोजन भएको प्रधानाध्यापक श्रेष्ठले बताए ।

निजी श्रोतबाट राखिएका ७७ जना शिक्षक र कर्मचारीलाई तलब खुवाउन हाल अभिभावकसँंग सहयोग माग्नु परेको श्रेष्ठको भनाइ छ । गत वर्ष कक्षा ११ मा १६७ विज्ञान र २४० व्यवस्थापन संकायमा विद्यार्थी भर्ना भएका थिए । यो वर्ष २०० विज्ञान र २०० व्यवस्थापन संकायमा विद्यार्थी भर्ना गराउने बताइएको छ । तल्लो तहमा समेत अभिभावक र विद्यार्थीको प्रेसरका कारण क्षमताभन्दा तीन गुणा बढी विद्यार्थी भर्ना लिनु परेको उनको भनाइ छ । कक्षा ९ सम्म विद्यार्थी भर्नाको क्षमता तीन सय ५० रहेपनि ९ सय ५० को आवेदन परेको र त्यसमा ६ सय ५० जना विद्यार्थी छनौट गरिएको र हाल दुई शत्रमा पठनपाठन गराउँदै आएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here