स्मृतिमा कुन्दन भट्टराईः जो सबै दलका प्रिय

0
1

सञ्चारकर्मी, लेखक, राजनीतिकर्मी, सामाजिक अभियानकर्मीका रुपमा कुन्दन भट्टराई– पूर्वी नेपालमा परिचित नाम हो । भौतिक रुपमा उहाँ अहिले हामीमाझ नभए पनि नेपाली राजनीतिक र समाज रुपान्तरणका लागि उहाँले गर्नुभएको योगदान जीवन्त छन् । थोमनाथ अर्थात् कुन्दन भट्टराईले प्रवासमा रहँदा होस् या त नेपालमा नेपाली कम्प्युनिष्ट आन्दोलन अझ नेकपा एमालेमा रहेर जिम्मेवारी निर्वाह गर्नुभयो । २०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन अर्जुनधारा गाउँ विकास समितिको अध्यक्ष हुँदा होस् या त पार्टीका जिम्मेवारी तथा समाजका विभिन्न भूमिकामा रहेर उहाँले निर्वाह गर्नुभएको योगदान स्मरणीय छन् ।

एक अध्ययनशील राजनीतिकर्मी, प्रष्टवक्ता तथा समाज परिवर्तनका लागि अहोरात्र खट्ने उहाँको स्वभाव र कार्यशैली आजका पुस्ताका लागि प्रेरणाका स्रोत हुन् । अल्पायुमै भौतिक रुपमा यो संसारबाट विदा भए पनि उहाँले राजनीति र समाजमा विभिन्न भूमिकामा रहेर सकारात्मक योगदान पु¥याउनुभएको छ, जसका कारण समाजले उहाँलाई बिर्सन सक्दैन । पत्रकारिता तथा लेखनमा पनि उहाँको योगदान छ । प्रवासमा रहँदा भारतबाट प्रकाशित हुने विभिन्न पत्रिका तथा नेपालका स्थानीयदेखि राष्ट्रिय स्तरका पत्रपत्रिकामा उहाँका लेख, रचनाहरु प्रकाशित छन् । उहाँले स्वाधिन संवाद साप्ताहिकको कार्यकारी सम्पादकको जिम्मेवारमा रहेर केही समय पत्रकारिता समेत गर्नुभएको इतिहास छ ।

द्वन्द्व व्यवस्थापनका लागि वार्ता, संवाद, सहमति र मेलमिलापमा समेत उहाँको योगदान पाइन्छ । संवाद समूह झापाको सदस्यको रुपमा उहाँले केही समय निर्वाह गर्नुभएको भूमिका स्मरणीय छ । विवादित पक्षहरुसँग सहमति, सहकार्य र एकताका लागि उहाँको भूमिका जहिले पनि महत्वपूर्ण हुन्थ्यो । आन्दोलनरत् पक्षसंग निर्धक्क कुरा राख्ने र विभिन्न विकल्पहरुमा छलफल गरी सहमतिका लागि तयार गराउने काममा उहाँको संवादमा भूमिका हुन्थ्यो । उहाँले झैं अरु पार्टीका नेताले समेत निर्वाह गरेको कुशल भूमिकाले झापा मुलुकमै राजनीतिक चेतना र संस्कारयुक्त जिल्लाको रुपमा परिचित हुन सकेको छ । जिल्लाका साझा समस्यामा सबै दलका नेता राजनीतिभन्दा माथि उठेर चिन्तन गर्ने अनि समाधान खोज्ने संस्कार र संस्कृति कै कारण झापा शान्त रहँदै आएको छ । यो विषय यसकारण उल्लेख गर्नु आवश्यक भयो कि यस कार्यमा कुन्दन भट्टराईको पनि महत्वपूर्ण योगदान रहेको थियो ।

सबैसँग मिजासिलो र उत्तिकै ठट्यौलीमा पनि रमाउने उहाँलाई जिल्लाका सबै राजनीतिक दलका नेताहरुले समेत प्रिय राजनीतिकर्मी तथा सामाजिक अभियानकर्मीको रुपमा चिन्नुहुन्थ्यो । भर्खरै भेट भएकाहरुसँग पनि पुरानो चिनजान झैं गरी कुरा गर्ने शैली, विषयको गहिराईसम्म पुग्ने उहाँको बानी थियो ।

नेपाली कांग्रेस प्रदेश नं. १ का सभापति तथा कांग्रेस झापाका पूर्व सभापति अर्जुनधारा निवासी उद्धव थापा उहाँको सम्झना आइरहने बताउनुहुन्छ । थापाले भट्टराईलाई नेपाली राजनीतिका स्पष्टवक्ता, हक्की स्वभाव भएका आफ्ना अनन्य मित्रको रुपमा स्मरण गर्नुभएको छ । वामपन्थी आन्दोलनका एक सशक्त योद्धा जीवनरभर राजनीतिक भूमिकामा सक्रिय, उदाहरणीय सामाजिक व्यक्तित्वका रुपमा उहाँलाई आफूले चिनेको थापाले बताउनु भएको छ । भट्टराईले जनप्रतिनिधि समेत भएर समाजसेवाका क्षेत्रमा पु¥याएको योगदान महत्वपूर्ण भएको थापाको भनाइ छ । थापा भन्नुहुन्छ– उहाँले गरेका काम अहिले पनि समाजमा स्मरणीय छन्, त्यसैले मलाइ उहाँको बारबार सम्झना आइरहन्छ– श्रद्धाञ्जलि छ कुन्दन भट्टराईज्यूमा ।

कुन्दन भट्टराईको बारेमा प्रदेश १ कि पूर्व सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर भन्नुहुन्छ– समाजका विकृति, असमानता हटाउन र न्याय निरुपणका लागि उहाँ सधैँ डटेर लाग्ने गर्नुहुन्थ्यो । सामाजिक सेवाभावले ओतप्रोत, कुशल नेतृत्वकर्ता, जुझारु क्षमता, स्पष्टवक्ता र अध्ययनशील व्यक्तित्वको रुपमा आफूले कुन्दन भट्टराईलाई पाएको गजमेर बताउनुहुन्छ ।

संविधानसभाका सदस्य तथा नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्की देश र प्रवास जहाँ रहे पनि पार्टीलाई बलियो बनाउन निरन्तर भूमिका निर्वाह गर्ने सशक्त र पुरानो कार्यकर्ताको रुपमा कुन्दन भट्टराईलाई आफूले पाएको बताउनुहुन्छ । कार्की भन्नुहुन्छ– कुन्दन भट्टराई कुशल जनप्रतिनिधि, जनताका समस्या चिन्ने, बुझ्ने र समाधानको बाटो दिनसक्ने सक्षम नेता हुनुहुन्थ्यो । विषय बुझेर प्रस्तुत गर्ने अध्ययनशील नेता, समाज रुपान्तरणका लागि अझै केही गर्ने आँट र सम्भावना उहाँमा थियो । उहाँको निधनले कम्प्युनिष्ट आन्दोलनमा अपुरणीय क्षति भएको कार्कीको अनुभूति छ ।

जिल्ला तहको नेता तथा पार्टीको कार्यालय सचिव समेत भएर लामो समय काम गर्नुहुने भट्टराईलाई कतिपय अवस्थामा पार्टीले चिन्न नसकेको र सही ठाउँ दिन नसकेको आफूलाई अनुभूति भएको कार्की बताउनुहुन्छ । प्रदेश १ का कृषि मन्त्री तथा नेकपा माओवादीका नेता झलकसिंह दर्लामी सन्देश निडर र स्पष्टवक्ताको रुपमा कुन्दन भट्टराईलाई चिन्नुहुन्छ । आफूलाई लागेको कुरा निर्धक्क भन्ने, सरल जीवनशैली भएको र सामाजिक काममा समेत उत्तिकै लगाव भएको नेताको रुपमा छोटो संगतमा मैले कुन्दन भट्टराईलाई अनुभूति गर्न पाएँ– सन्देश भन्नुहुन्छ ।

नेपाली कांग्रेस झापाका सभापति देउमान थेवेले कुन्दन भट्टराईलाई २०५४ सालको स्थानीय निर्वाचनबाट चिन्नुभएको हो । थेवे भन्नुहुन्छ– म कुमरखोद गाविसको दोस्रो पटक अध्यक्ष र उहाँ अर्जुनधारा गाविसको अध्यक्षको रुपमा निर्वाचित भएपछि हाम्रो भेट र चिनजान भयो । त्यतिखेरका जनप्रतिनिधि निक्कै उग्र थिए । तर, कुन्दन दाइ उमेरले म भन्दा अगुवा भए पनि हामी सबैलाई साथीसमान व्यवहार गर्ने सरल र संयमित व्यक्तित्व हुनुहुन्थ्यो । सबैलाई मिलाएर अघि बढ्ने राजनीतिक संस्कार भएको र अनुशासित व्यक्तित्वको रुपमा थेवेले भट्टराईलाई चिन्नुभएको छ । उहाँ साथीहरुसँग ठट्यौली गर्ने, रमाउने, जे काम गरे पनि निरन्तर लागीरहने र त्यसमै रमाउने व्यक्तित्व भएको थेवेको भनाइ छ ।

शान्ति समितिका पूर्व संयोजक तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य सूर्यनारायण गणेश समाजका लागि चिन्तन गर्ने र सकारात्मक मार्गमा अघि बढ्ने व्यक्तित्वको रुपमा कुन्दन भट्टराईलाई चिनाउनुहुन्छ । आफ्नो समाज सु–संस्कृत र राम्रो बनाउने अभियानमा लाग्नुका साथै कर्तव्यनिष्ठ र मानव जातिका लागि केही गरौं भन्ने भावना बोकेका व्यक्तित्वको रुपमा गणेशले भट्टराईलाई बुझ्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका अध्यक्ष केशवप्रसाद ओझा सरल मिजासिलो र अनुशासित व्यक्तित्वको रुपमा कुन्दन भट्टराईलाई चिनाउनुहुन्छ । ओझा भन्नुहुन्छ– उहाँ राजनीतिक रुपमा प्रतिबद्ध, राजनीति गर्ने मान्छेमात्र नभएर असल मान्छे , समाज र मानवता राजनीतिभन्दा धेरै माथि छ भन्ने चेत भएको नेता हुनुहुन्थ्यो भट्टराई ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्चका प्रान्तीय सचिव धनबहादुर पन्धाक सहकार्य र सहमतिका लागि निरन्तर अग्रसर रहने नेताको रुपमा कुन्दन भट्टराईलाई परिचित गराउनुहुन्छ । उहाँ भन्नुहुन्छ– कुन्दन दाइमा कुनै अहम्ता पाइँदैन थियो । मिलनसार, प्रष्टवक्ता, सामाजिक र राम्रो बोलिबचन भएको नेता हुनुहुन्थ्यो ।

नेतृत्व क्षमता, कार्य कुशलता, स्पष्टवक्ता, मिलनसार व्यक्तित्व कुन्दन भट्टराईका जीवनका विविधि पाटोलाई उजागर गर्न, उहाँको योगदान समाज र भावी पुस्ताको विस्मृतिमा जान नदिन, उहाँका अधुरा सपना पूरा गर्न तथा उहाँले गरे झैं असल कार्यमा लाग्न प्रेरित गर्नका लागि यो स्मृति ग्रन्थ महत्वपूर्ण बन्ने देखिएको छ । कुन्दन भट्टराईलाई सबैको मानसपटलमा ताजै राख्न भएको यो प्रयत्नको प्रशंसा गर्दछु । साथै आदरणीय कुन्दन भट्टराईप्रति श्रदासुमन ।

(कुन्दन भट्टराई स्मृति ग्रन्थबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here