‘ऐया बिस्तारै राख न मलाई । कस्तो हेपेर फ्यालेको ।’ तातो घाममा पसल बाहिर राख्दै गर्दा साहुजी तर्फ हेर्दै म बर्बराएँ । यत्तिकैमा छेउमा अर्को धमिलो निलो रङ्गको साथी मलाई हेर्दै भन्यो– ‘अरे तिमी आज नयाँ छौ त्यसैले यस्तो प्रतिक्रिया दिइरहेको छौ । केही समयमा बानी पर्छौ ।’
रातो रङ्गमा सजिएको मलाई उसको उत्तर पाच्य भएन । त्यसैले मैले रवाफपूर्ण जवाफ फर्काएँ– ‘त खुइलेकोलाई मेरो छेउमा देख्दा एक किक हान्न मन लाग्यो । अझ बानी पर्छौ पो भन्छस् त ।’
‘म पनि पहिला तिमी जस्तै थिए यस्तै रवाफ लाउथेँ । तर, घमण्ड नगर बिस्तारै थाहा पाउने छौ ।’ –उसले शान्त जवाफ फर्कायो । म भने झन् अशान्त हुँदै भने– ‘म भर्खरै साहुको ठूलो गोदामबाट आएको । हुन त तलाई भनेर के फाईदा कहिलेबाट यहाँ छस् ?’
‘पाच÷छ महिना भयो सायद । म पनि तिमी जस्तै गोदामबाट आएको, पहिला अरु धुलाम्म्मे अनि पुराना सुटकेश देख्दा म पनि खुब घमण्ड गर्थे । म मेरो अवतारमा आकर्षक थिए र निलो रङ्गमा असाधारण सोच्थेँ आफूलाई । तर, समयसँगै बिस्तारै थाहा भयो म व्यर्थ आफ्नो घमण्ड गरिरहेको रहेछु ।’ –निराश हुँदै निलो सुटकेश आफ्नो भाव पोख्दछ ।
‘माफ गर साथी म ब्यर्थ चिडिएछु तिमीसँग । वास्तवमा मलाई रातो रङ्गमा सजाएको छन् । कम्पनिमा सुनेको यो मेरो रङ्ग आकर्षक र छिटो बिक्री हुन्छ रे ।’ मेरो घमण्ड एकैछिनमा चकनाचुर भएर जान्छ र म निलो साथीसँग संयम भएर बोल्न पुग्छु ।
हामीसँग अन्य रङ्गका साथीहरु पनि बेलिबिस्तार लाएर गफ गर्न थाल्छन् । सबैसँग मेरो परिचय हुन्छ । हरियो, कालो, गुलाबी, सुन्तले सबै आफ्नो–आफ्नो कथा सुनाउँछन् । उनीहरु धेरैमा एउटा कुरा खड्किएको पाएँ । सबै रातो नहुँदा उनीहरुलाई हेर्न आउने मालिकले सुम्सुम्याएर हेरेर अनि नियालेर पैसा तिर्ने बेला भने रातो सुटकेश मात्र बोकेर जाने रहेछन् । अधिकांश आफ्नो रङ्ग रातो नहुनुमा पछुतो मानिरहेछन् ।
यत्तिकैमा खैरो साथीले म तिर हेर्दै भन्यो– ‘तिमीले विचार ग¥र्यौ हामी यहाँ बसेको धेरै भइसक्यो अनि आज पनि तिमी आउनसाथ साहुजीले तिमीलाई अगाडि राखेका छन् अनि आकर्षक बनाएर सजाएका छन् ।’ मैले आफूतिर नियालेर हेरे वास्तवमा हो रहेछ साहुजीले मलाई अगाडि एउटा सोपिसमा राखेका रहेछन् निलोको छेउमा अनि मलाई माथिबाट रङ्गिन लाइटले उज्यालो दिइरहेका छन् । मानौ मेरो रङ्गका साथै म पनि धेरै चम्किरहेको छु ।
एकैछिनमा पसले मलाई जुरुक्क तालुमा समाउँदै उठाउँछ । अनि आफ्नो टेबल माथी मलाई सुताउँदै दुई जना ग्राहकसँग भन्छ– ‘ल हेर्नुहोस् त हजुर आजमात्र अनलोड गरी डिस्प्ले मा राखेको मैले । हाइली कम्फरटेबल छ क्यारी गर्न अनि एट्ट्रेक्टिभ पनि छ ।’ ती दुई ग्राहकमध्ये एउटा अलिक उमेर खाएका जस्तो देखिने मान्छेले मलाई उचाल्दै मेरो चेन खोलीभित्र हेर्दै अर्को भर्खरैको केटोलाई भन्यो– ‘लौ सुरेश बेटा अन्यतिर हेरेभन्दा मलाई यही मन प¥यो । तिमी के भन्छौ ?’
सुरेश फुरुङ्ग भए झै प्रतिक्रिया दियो– ‘बाबा यही ठिक छ । रेड इज बिउटिपूmल ।’ उसले रातो अति सुन्दर छ भनेको भाव पसलेले बुझिआल्यो । उनीहरु मेरो मूल्यमा बार्गेनिङ गरिरहँदा म भने एकैछिन अघि भेटिएका साथीहरु तर्फ हेरेँ । दया लाग्यो अनि नैरश्यताले मलाई घे¥यो । सबै साथिहरु म तर्फ हेर्दै थिए अनि एउटा खैरो साथिले उत्साहित हुँदै भन्यो– ‘तिमी भाग्यमानी रहेछौं साथी आउनसाथ जान लाग्यौं । शुभ रहोस् यात्रा । तिम्रो मालिकको सामानको जतन गर्नु ।’
‘हुन्छ’ भन्ने भावले मैले फिता हल्लाए अनि कृत्रिम हासो राख्दै सबै साथीहरु तर्फ हेर्दै– ‘चाडै खरिद होस् तिमीहरुको पनि’ भन्दै मंगल भावना राखे । पसलेले मलाई सुरेशको जिम्मा लाइदियो । मलाई यी बाउछोराले स्याहार गर्दै पार्किङ्गसम्म लगे अनि एउटा रातो कारमा गएर अडिए । गोजीबाट के मेशिन निकालेर थिचेपछि सुरेशले मलाई पछाडिको ढोका खोल्दै सिटमा सुताएर राख्यो ।
गाडी एकैछिनमा इञ्जिन स्टार्ट गरेर अघि बढ्यो । मलाई गोदामबाट साहुको पसलसम्म आउँदा एक्लै परेको भाव थिएन, तर अहिले म सबै साथीहरु छाडी एक्लो अनुभव गरिरहेको छु । सुरेशका बाबाले– ‘बाबू तिमी भोलि जाँदा अब नपुगेको सामान यही सुटकेशमा हाल्नु है’ भने ।
म भित्र त खाली कागज अनि केही प्लास्टिक मात्र थिए । तर, कुरा सुन्दा लाग्यो अब त्यो हटाएर पक्कै कतै जान सामान हाल्ने भएछन् । अनि लाग्यो ऊ कतै टाढा जाँदैछ । मलाई कहाँ जाने हो सुरेश भनी सोध्न मन थियो । तर, यी कुरा अन्तरमनमा नै सिमित बन्यो ।
केही समयपछि उसले मलाई घर लग्यो र फ्यात्त आफ्नो कोठामा फ्याल्यो । मेरो चक्कामा चोट लाग्यो छेउमा अलिकति ठोकियो अनि म अचल बनी भुइँमा लड्न पुगेँ । ‘राते तिमीलाई केही त भएन नि ?’ यो आवाजले मलाई झस्कायो म वरिपरि हेरे कोठाको एउटा भित्तामा दुईवटा ठूला सुटकेश उभाइएका रहेछन् । ‘हामी ले नै सोधेका हौं । अब सामान हालेपछि हाम्रो छेउमा त उभिने हो तिमी पनि ।’ म भन्दा अझ ठूलो सुटकेश थप सुनाउँदै थियो– ‘ल अब बानी पार । बिस्तारै तिम्रो पनि रङ्ग, अवस्था र स्वरुपमा साना साना दाग लाग्न सक्छ । हामीलाई त ल्याएको एक महिना बढी भइसक्यो ।’
‘सुनन् ठुल्दाइ यो सुरेशले हामीलाई कहाँ लान लागेको हो ?’ –मैले प्रश्न गरे ।
ठूलो सुटकेश ले जवाफ फर्कायो– ‘अमेरिका रे । हामीले पनि सुनेको भोलि उड्ने अरे ।’
‘ओहो अमेरिका जाने भाग्यमानी हामी रहेछौं । नत्र अहिले त भाग्यले खाडी पुग्दा सारै दुःख पाइने रहेछ ।’ अर्को छेउको बैजनी सुटकेशले थप आफ्नो कुरा सुनाउँदै भन्यो ।
यत्तिका समय पर्खियौं अब भोलिको दिनको लागि हामी उत्सव मनाउनुपर्छ है । ढोका खुलेको आवाज आयो हामी मौन भयौं । सुरेशले चार–पाँच झोला सामान ल्याएर भुइँमा मेरो नजिक राख्यो । दुई जोर नयाँ जुत्ता पनि रहेछ । एउटा पुरानो कपडामा लपेटेको सामान पनि त्यही राख्यारहेछ । उसले मलाई समात्यो चेन खोल्यो अनि भएका सबै सामान मिलाएर हाल्यो । अन्त्यमा प्याट्ट पार्दै मलाई जिउमा धाप मा¥यो अनि भन्यो– ‘बल्ल–बल्ल सबै प्याकिङ्ग सकियो । ल त पनि अब यिनिहरु सँगै लाइन लाग । त्यसपछि उसले मलाई दुई ठूला सुटकेशको छेउमा लगि उभ्यायो ।
भोलिपल्ट बिहान उसले हामी सबैलाई एक–एक सकि–नसकी उठाउँदै लगेर गाडीमा हाल्यो । हाम्रो गाडी गुड्कियो । हुइँकियो सुरेशको सपनाको देश जाने रहर । रातो टिकामा देखिएको सुरेश निकै हर्षित देखिन्छ । उसले कलिलो उमेरमा उडान भर्न लागेको छ । उसको उत्साहमा म पनि सामेल हुन पाउँदा खुशी लागेको छ । अदृश्य मेरा साहनुभूति एवम् सहजीकरण उसका लागि सदैव रहने छ ।
हामी एयरपोर्ट पुग्यौं । त्यहाँ गाडीबाट ट्रलिमा राख्दा मैले अर्को साइडतर्फको साईनबोर्ड पढेँ । ‘एराईभल’ त्यहाँ विभिन्न थरिका मानिसहरु धमाधम एयरपोर्टबाट बाहिर निस्किँदै थिए । त्यस टर्मिनलमा अधिकांश खुशी हुँदै आफ्नो घर फर्किरहेको देख्न सक्थेँ म । त्यही खुशीका रङ्गहरु बीच फरक दृश्य पनि देखेँ । छेउमा एउटा बाकस लडाइएको थियो । काठको बाकस त्यही मेरो स्वभावको । उक्त बाकस वरिपरि केही मानिस थिए निराश भावका । उनीहरु उक्त बाकस वरिपरि सुम्सुम्याउँदै रुँदै थिए । मैले काठको सुटकेश पनि हुन्छ रे सुनेको, तर पहिलो पटक देखेको थिएँ । त्यस दृश्यलाई मैले केही बुझ्न सकिनँ ।
हामीलाई एयरपोर्टभित्र अर्को बोर्ड (डिपार्चर) लेखिएको तर्फ सुरेशले डोया¥यो । सेक्युरिटी जाँच गरिसकेपछि म दुई अन्य साथीसँग रमाउँदै अर्कै स्टोरमा छिरे । हामी जस्तै अन्यको धेरै सुटकेश त्यहाँ थियो । माथि लेखिएको थियो– ‘लगेज रुम’ ।
लामो समयपछि प्लेन लेण्ड गरेको रहेछ । यात्रामा मलाई धेरैले थिचे, कोतारे र ढकेले । मेरो माथी र तल अनि छेउछेउमा निसाशिने गरेर सुटकेश नै सुटकेश थिए । ओर्लिएपछि ठूलो क्यारियरमा हालेर हामी सबैलाई लबिमा लगि राखियो । मैले सुरेशलाई टाढाबाट चिनिहाले । ऊ व्यग्र मलाई अनि अरु दुई सुटकेश लिन कुरिरहेको थियो । घुम्ने एस्कालेटरमा उसको नजिक पुगेपछि मलाई समायो अनि अरु दुई ठुल्दाइलाई पनि समाएर बाहिर गेटमा निस्कियो । उसको प्लेकार्ड बोकी एउटा नेपाली साथी उभिरहेको रहेछ । मैले निस्कँदानिस्कँदै एयरपोर्टको नाम पढेँ– ‘न्यु योर्क इन्टरनेशनल एयरपोर्ट ।’
हामी कारमा हुइँकियौं अर्को साथीको नाम बिनोद रहेछ, किनकि गाडी गुडिरहँदा मैले सुरेशले बोलेको सुनेँ– ‘बिनोद दाइ बल्ल सपना पूरा गर्न यहाँ आउँदा म गौरवान्वित भएको छु । धन्यवाद लिन आउनु भएकोमा ।
‘सुरेश भाइ अब तिम्रो दैनिकी बदलिन्छ । तयार छौ नि ?’ बिनोद दाइप्रति प्रश्न गर्छन् ।
‘अवश्य छु दाइ । हामी जाने कुन शहर हो ?’
‘बु्रकलिन’ बिनोद दाइ उत्तर फर्काउँछन् ।
केही घण्टापश्चात् हामी घर पुग्छौं । म देखिरहेको छु बाहिरी विकास, भव्य संरचना अनि रफ्तार सडकको । कोठामा पु¥याएर हामीलाई अनलोड गरेर सुरेश नुहाइधुवाई गर्न छिर्छ । ऊ तुरुन्त बिनोद दाइसँग कतै निस्किन्छ । म भने मनमा अनेक प्रश्न खेलाउँछु । यत्रो कलिलो उमेरको सुरेशले उछाल मार्दै यहाँ यति टाढा आउने निर्णय गरेकोमा उसको साहसको कदर गर्छु । ठुल्दाइ र बैजनी दुबै मेरो समर्थन गर्दै हो मा हो थप्छन् ।
सुरेश दिनदिनै बिहान कतै निस्कन्थ्यो त बेलुका अबेरमा घर फर्किन्थ्यो । मेरो भित्र राखिएको सबै सामान अनि अन्य सुटकेशका सबै सामान उसले निकालेर मिलाइसकेको छ । उसले हामीलाई भित्ताको एक कुनामा ठड्याएर राखेको छ ।
दिन राम्ररी बित्दै थियो । ऊ हामीलाई छाडेर ढोका लगाई कता–कता जान्थ्यो । आएर पलङ्गमा पल्टिँदै मोबाइल हेर्दै फोटो पोस्ट गथ्र्यो । उसलाई टाढाबाट भए पनि दैनिक नियाल्ने काम हुन्थ्यो मेरो । नभए त सुनसान एक कुनामा बसिरहनुपर्ने पट्यार लाग्दो दिन हुन्थ्यो ।
बेला–बेला ऊ घरमा फोन गरिरहेको सुन्थे– ‘मम्मी आज पनि जागिर र पढाइको भार मिलाउन सकिनँ । थकाई लाग्यो म सुत्छु है ।’ उसले आफूलाई यस बिरानो शहरमा एक्लो पाएकोले निराश भएको म बुझिरहेको थिएँ । दिन बित्दै गयो समयले उसलाई झ्याप्प दार्ही पाल्ने अनि कपाल जिङ्रिङ भएको बनायो । ऊ बाहिरबाट आउँदा कैयौ पटक ब्याग एक कुनामा फ्याल्दै थकित शरीरलाई पलङ्गमा पल्ट्याउथ्यो अनि एकोहोरो सिलिङ्गमा झुन्डिएर घुमिरहेको पंखातर्फ हेर्दै टोलाइरहन्थ्यो । ऊ धेरै तनावमा भएको म बुझ्न सक्थेँ । म निर्जिव भएर उसलाई एक ट्वाक हेरिरहन्थे मात्र हेरिरहन सक्थेँ ।
दुई–तीन महिना बितेको हुनुपर्छ । उसको अहिले बाहिर आउनेजाने क्रम घटेको पाएँ । उसले अत्यधिक मदिरा सेवन गरेर एक्लै दिनरात कोठामा सुतिरहेको भाव प्रस्ट देख्थेँ म । उसको यो अवस्था मलाई पटक्कै मन पर्दैन थियो । उसको साथी बनेर बोल्न मन लाग्थ्यो कैयौं पटक बोलाएँ, तर ऊ सुनेन् । ऊ केबल ढुङ्गा जस्तै निर्जिव नहल्ली सुतिरहेको पाउँदा म पनि सेलाई सकेको थिएँ । मेरा उमँगहरु हराउँदै गएका थिए ।
ऊ त्यसरी नै हलचल नगरी सुतेको तीन दिन भएको थियो । एकदिन अकस्मात साझपख यसै भवनको सेक्युरिटी गार्ड जसलाई मैले पहिला आउँदा देखेको थिएँ उसले ढोका खोल्यो । ऊ आत्तियो, करायो अनि सुरेशको अवस्था देखेर पुलिसलाई खबर ग¥यो । म झन् आत्तिएँ । धुलोमैलो ले ढाकेको मलाई शरीरमा भार थियो । तर, मानसिक भार पनि बोकेको महशुस गरेँ । केही क्षण पछि प्रहरी आएँ । उसलाई स्ट्रेचरमा हालेर सायद अस्पताल लगे । सुरेशको अवस्था मलाई थाहा भएन, तर त्यहाँ निरीक्षणमा आउने एक प्रहरीले त्यस गार्डसँग भने अनुसार सुरेशलाई नेपाल फर्काइँदैछ रे । साथै उसको केही सामान पनि ।
म राहतको सास लिएँ । अन्य दुई ठूला दाइहरु भन्दा म सकुशल एवम् कम घाइते थिएँ । मेरो जिउमा सुरेशका आवश्यक कागजात अनि केही सामग्री हालियो । मलाई सुरेशलाई भेट्न नदिई एयरपोर्ट पु¥यायो । मैले त्यहाँ पनि कतै उसलाई देखिनँ । हामी नेपाल पुग्यौं ।
विदेश जाँदा जति उमँग थियो त्यो भन्दा बढी नैरश्यतामा म नेपाल फर्किएको थिएँ । वेटिङ्ग हलमा लामो समयपछि कोही ‘सुरेश मेरो बाबू सुरेश’ भन्दै डाको छोडी रुँदै गरेको सुनेँ । यसो यताउति नजर लगाएँ । आवाज आएको ठाउँ बल्ल ठम्याएँ । मेरो परिचित आवाज रहेछ । ती सुरेशका बाबा रहेछन् । उनी काठको बाकसमा सुम्सुम्याउँदै सुरेशलाई खोज्दै थिए ।
मलाई अनौठो लागेको म जस्तै देखिने सुटकेशमा थाहा पाएँ यसरी सुरेश जस्ता कैयौं नेपाली काठको सुटकेशमा फर्किँदा रहेछन् । मलाई सुकिलो–मुकिलो रातो सुटकेश हुनमा आज हिनताबोध भएको छ । मैले थाहा पाएँ रंगिन संसार खोज्न हिँडेको सुरेश आज रङ्गविहीन संसारमा कतै हराएको छ ।