झापा, हालसम्मकै ठूलो परिमाणमा झापाको बिर्तामोडबाट लागू औषध बरामद भएको छ । लागू औषध औषधि व्यवसायी भानुभक्त खरेलको भएपनि उनी पक्राउ परेका छैनन् । तर, कामदार भने पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड ५ मंगलदीप टोलस्थित मनकुमार संग्रौलाको दुई तले घरको भुईतलाको दुईवटा कोठामा भण्डारण गरेर राखेको औषधिजन्य प्रतिबन्धित लागू औषध बरामद गरेको हो । औषधि व्यवसायी भानुभक्त खरेलले भण्डारण गरेको गोदामबाट बरामद गरिएको लागू औषधजन्य औषधि आज इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलन गरी सार्बजनिक गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बूले बरामद गरिएको लागू औषध सहित कर्मचारीलाई समेत कारोवारमा सम्लग्न भएको भन्दै पक्राउ गरेको र सार्वजनिक गरेका हुन् ।
प्रहरीले ट्रामाडोल हाइड्रोक्लोराइड एक लाख तीन हजार आठसय, ट्रामाडोल हाइड्रोक्लोराइड इंजेक्सन ट्रामाडेक्स एक हजार ८ सय ७० एम्पुल, ट्रामाडोल र एसिटामिनोफेन ट्याब्लेट चार हजार ५०, डाइसाइक्लोमाइन एचसीएल ट्याब्लेट २० मिलीग्राम ९७ हजार ट्याब्लेट, सिल्डेनाफिल ट्याब्लेट १०० मिलीग्राम (जेनेग्रा एमटी रेड १००) आठ हजार ९ सय ट्याब्लेट, मिफेप्रिस्टोन ट्याब्लेटको कम्बिप्याक आई र मिसोप्रोस्पोल ट्याब्लेट (टर्मिपिल किटहरू) ७ वटा बरामद गरेको छ ।
बिर्तामोड ५ निवासी ५० वर्षीय खरेलले औषधी जन्य प्रतिवन्धित लागूऔषध भण्डारण गरी राखेको अवस्थामा प्रहरीले सनलाइट फर्मामा कार्यरत कर्मचारी अर्जुनधारा ६ दासपुल निवासी २५ वर्षीय बिनोद घिमिरेलाई समेत पक्राउ गरेको हो । प्रहरीले घिमिरेले प्रयोग गर्दै आएको १–०१–०१३ प ८९०४ नम्वरको मोटरसाइकल समेत बरामद गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
खरेलले लामो समयदेखि मनकुमार संग्रौलाको घरमा अबैध लागू औषधको गोदाम सञ्चालन गर्दै आएको बताइएको छ । उनले घर भाडामा लिएर दुईवटा कोठामा लागू औषध जन्य प्रतिवन्धित औषधि राखेको बताइएको छ ।
पक्रार सम्मेलनमा लागू औषध पक्राउका विषयमा इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठले जानकारी गराएका थिए ।




























