विदेश छाडेर गाउँमा जैविक कृषिमा रमाएका ‘कुमार’

0
91

भोजपुर।

कृषिप्रति भोजपुरका युवाको मोह बढ्दै गएको छ । वैदेशिक रोजगारबाट फर्केर यहाँका युवाहरू व्यावसायिक कृषिमा जुट्न थालेका छन् ।

भोजपुर नगरपालिका–५ बोखिमका कुमार विष्ट विदेश छाडेर कृषि व्यवसायमा लागेका छन् । वैदेशिक रोजगारीका सिलसिलामा आठ वर्ष बिताएका उनी व्यावसायिक जैविक अकबरे खुर्सानी खेतीमा जुटेका हुन् ।

विदेशमा दुःख गर्नुभन्दा आफ्नै गाउँठाउँमा व्यावसायिक बनेर कृषि गर्न सके राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ । उन्नति कृषि तथा पशुपालन फार्म दर्ता गरेर गाउँमा नै व्यावसायिक रूपमा कृषि पेसामा जुटेको उनको भनाइ छ ।

राम्रो मूल्य पाएको खण्डमा यो वर्ष खुर्सानीखेतीबाट दुईदेखि तीन लाख रुपैंयासम्म आम्दानी लिने लक्ष्य रहेको उनको भनाइ छ ।

आफ्नो बारीमा अहिले एक हजार ४०० बोट खुर्सानी लगाएको उनले जानकारी दिए । युवाहरूमा विदेशप्रतिको मोह बढिरहेको अवस्थामा कृषिबाट उदाहरणीय बन्ने लक्ष्यका साथ कृषिकर्ममा जुटेको उनले बताए ।

आफ्नो बारीमा उत्पादन भएको अकबरे खुर्सानी स्थानीय बजारमा प्रतिकेजी दुई सयदेखि तीन सय रुपैंयामा बिक्री हुने गरेको उनले जानकारी दिए। यहाँ उत्पादन भएको खुर्सानी स्थानीय बजारसँगै धरान, विराटनगर काठमाण्डौँलगायत सहरमा जाने गरेको उनी बताउँछन् ।

पछिल्लो समय खुर्सानीमा पात कुप्रो पर्ने, फलमा कीरा लाग्ने, जरा कुहिनेलगायत रोग देखिन थालेको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here