आजदेखि हाम्रो यात्राले ३१औं वर्ष प्रवेश गरेको छ । पूर्वी नेपालको झापा बिर्तामोडबाट २०५२ सालदेखि प्रकाशन प्रारम्भ भएको पूर्वाञ्चल दैनिकले आफ्नो ३० वर्षे यात्रा पूरा गरेको सन्दर्भमा हामीलाई हरतरहले साथ दिनुहुने स्वजन तथा शुभेच्छुक, विज्ञापनदाता र सहयोगीप्रति आभार प्रकट गर्दछौं । झापाको सानो भूगोल तत्कालीन अनारमनी गाविसबाट शुरु भएको दैनिकले अनेक आरोह, अवरोध र चुनौतिहरु पार गरेको छ । अझ लेटर प्रेसबाट शुरु भएको यात्रालाई डिजिटलसम्म ल्याइ पु¥याउन संस्थापन पक्षबाट भएको साथ र सक्रियता हाम्रो निरन्तरताको महत्वपूर्ण आधार हो ।

हामीले आफ्नो क्षमता र भूमिका स्वच्छ र स्वतन्त्र पत्रकारिताको सिद्धान्तलाई कायम राख्न लगाएका छौं । कहीँ कतै कमजोरी भए त्यसको मूल्याङ्कन हाम्रा पाठक वर्गको गर्नुहुने नै छ । अहिले पनि पत्रिकाको नियमिततामा निकै कठिनाइ छन् । यही कठिनाइका बीच पनि यो वर्ष ३४७ अङ्क प्रकाशन गर्न सफल भएका छौं । यसका लागि आम पाठकवर्ग, विज्ञापनदाता, सञ्चारकर्मी, शुभेच्छुक तथा तीनवटै तहका सरकारहरुको सहयोगको ठूलो भूमिका रहेको छ । हाम्रो यो चुनौतिपूर्ण यात्रा अब ‘लाठे’ भएको छ र हामी सबै अप्ठ्याराहरु बिर्सिएर नयाँ जोश, उत्साह, सङ्कल्प र ऊर्जाका साथ यात्रारत् रहने छौं ।
यद्यपि हाम्रासामु चुनौतीको पहाड छ, खासगरी छापा माध्यमलाई विद्युतीय माध्यमले विस्थापित गर्दै लगेको छ । तर पनि छापा माध्यमको अनिवार्यतालाई अस्वीकार गरिहाल्ने अवस्था छैन । त्यसकारण पनि छापा माध्यमलाई सुरक्षित राख्न राज्यले त्यस अनुकूलको नीतिनिर्माण गर्नुपर्छ । अहिले नै विज्ञापनदेखि फरक र अनेक सन्दर्भले छापा माध्यमले असहज अवस्था भोग्नु परिरहेको छ । त्यसमाथि महाभूकम्प, कोभिड–१९ जस्ता महाविपत्ति र महामारीका कारण उत्पन्न जटिल अवस्थाले राजधानी कै ठूला भनिने छापा माध्यमहरु समेत प्रभावित भए । त्यस्तो अवस्था पनि हामीले जसोतसो प्रकाशनलाई निरन्तरता दियौं ।
समयको गतिसँगै पनि आफ्नो स्वरुप परिवर्तन गरेका छौं । विगतका केही वर्षदेखि अनलाइन संस्करण पनि नियमित गरिरहेका छौं । हाम्रो यो यात्रालाई निरन्तरता दिएर आजको यो अवस्थासम्म ल्याउन हाम्रा सहकर्मीहरुको समेत ठूलो भूमिका र योगदान छ । हाम्रो स्वतन्त्र र निष्पक्ष पत्रकारिताको मर्म र भावनालाई आत्मसात गर्दै प्रकाशनको निरन्तरताका लागि संङ्कल्पित रहने प्रतिबद्धता व्यक्त गर्दछौं । यो यात्रामा सँगै रहनुहुने सहकर्मी, सहयोग गर्नुहुने विज्ञापनदाता, लेखक, सहकर्मी एवम् हामी सम्बद्ध कर्मचारीहरु प्रति आभार प्रकट गर्दछौं ।




























