पुल बन्ने सपना अधुरै, कन्काई पुलको ठेक्का १४ वर्षपछि रद्द

0
47

झापा ।

हुलाकी राजमार्ग अन्तर्गत पर्ने कन्काई नदीमा पुल बन्न शुरु गरेसँगै दक्षिणी झापाका स्थानीय उत्साहित थिए । हुलाकी राजमार्गको स्तरोन्नति (कालोपत्रे) गर्न शुरु गर्न अगाबै कन्काई, बिरीङ लगायतका खोलामा पुल बनाउन शुरु गरिएको थियो । खोलामा पुल बन्न शुरु भएसँगै त्यस क्षेत्रका स्थानीयको वर्षाैंदेखिको पुल बन्ने सपना पूरा भएको भन्दै उत्साहित भएका थिए ।

खासगरी झापा गाउँपालिका र गौरीगञ्जको दक्षिणी भू–भागका स्थानीय यो पुलबाट बढी लाभान्वित हुन्छन् । त्यसमा पनि हुलाकी राजमार्गसँगै पुल बनेपछि दक्षिणी क्षेत्रका स्थानीयलाई सदरमुकाम चन्द्रगढी र कोशी प्रदेशको राजधानी विराटनगर आवत–जावतमा सहज हुन्छ ।

जसका कारण पुल बन्न शुरु गरेसँगै त्यस क्षेत्रका स्थानीय उत्साहित बनेका थिए । तर, निर्माण शुरु गरेको १४ वर्ष पूरा हुँदा समेत पुल नबनेपछि त्यहाँका स्थानीय निरास थिए । त्यसमाथि निर्माण कम्पनीले अधुरै छाडेको पुलको ठेक्का नै रद्द भएपछि स्थानीय झन् निराश भएका छन् ।

पप्पु–महादेव–खिम्ती जेभीले संयुक्त रुपमा पुल निर्माणको ठेक्का लिएको थियो । २०६८ जेठ ३१ मा सम्झौता गर्दै २०७२ जेठ ३० गतेभित्र काम सक्ने सहमति भएकोमा पाँच पटक म्याद थपिँदा पनि काम लक्ष्य अनुसार अघि नबढेपछि पुल निर्माणको ठेक्का नै रद्द गरिएको हो । ठेक्का रद्दसँगै हुलाकी राजमार्ग अन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने करिब सात सय २३ मिटर लामो पुल निर्माण ५६ प्रतिशतमै रोकिएको छ ।

सडक विभागको हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गत योजना कार्यालय इटहरीले सार्वजनिक सूचना जारी गर्दै ठेक्का सम्झौता तोडिएको जानकारी दिएको छ । पुल निर्माणका लागि ३४ करोड नौ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । समयमा पुल निर्माण नसकेपछि पटक–पटक म्याद थप गर्दा समेत निर्माण सम्पन्न हुन सकेको थिए ।

योजना कार्यालयले गत असोज ३१ गते जेभीलाई १५ दिने स्पष्टीकरण माग्यो । तर, काम सक्ने विश्वसनीय कार्ययोजना नआएको, स्रोत परिचालनमा गम्भीर नदेखिएको र प्रतिनिधि नै उपस्थित नभएका कारण देखाउँदै स्पष्टीकरण असन्तोषजनक पठाएपछि पुल निर्माणको ठेक्का रद्द गरिएको योजना कार्यालय प्रमुख युवराज पोखरेलले जानकारी दिए ।

यससँगै व्यवसायीको एक करोड ७१ लाख रुपैयाँ कार्य सम्पादन जमानत जफत गरिने भएको छ । बाँकी काम पूरा गर्न सरकारबाट थप खर्चिनुपर्ने रकम सरकारी बाँकी सरह असुल गर्ने र उक्त फर्मलाई कालोसूचीमा सिफारिस गर्ने प्रक्रिया समेत अघि बढाइएको छ ।

निर्माणकर्ता जेभीले २०७६ सम्म केही कामअघि बढाए पनि प्राविधिक त्रुटि देखिएपछि परीक्षण गरिएको थियो । परीक्षणले त्रुटि पुष्टि गरेपछि केही सुधारका काम भए पनि समग्र निर्माण प्रगति सुस्त रहेको थियो । पुल निर्माणका लागि २०७७, २०७८ हुँदै २०८० सम्म म्याद थपिएको थियो ।

पछिल्लो पटक सार्वजनिक खरिद नियमावली अनुसार जेभीले म्याद थपका लागि निवेदन दिएको थियो । तर, काम सम्पन्न हुने आधार नै नदेखिएको भन्दै म्याद नथपिएको बताइएको छ । १९ स्पान रहने पुलमध्ये आठ स्पानको काम सकिएको छ भने ११ मध्ये दुई स्पानमा गर्डरसम्मको काम भएको छ ।

त्यस्तै छ स्पानको जग निर्माण गरिएको छ भने तीन स्पानमा जग हाल्न बाँकी रहेको कार्यालयले जनाएको छ । ऊर्जा, भौतिक पूर्वाधार तथा सिँचाइ मन्त्री कुलमान घिसिङले योजनाको गत २६ असोजमा स्थलगत निरीक्षण गरेका थिए । उनले काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति माथि कडा कदम चलाइने चेतावनी दिँदै सम्बद्ध निकायलाई रुग्ण ठेक्का तोड्न निर्देशन दिएका थिए ।

स्थानीयवासी लामो समयदेखि पुल नबन्दा यातायात, व्यवसाय र बजार–व्यवहारदेखि पर्यटनसम्म असर परेको गुनासो गर्दै आएका थिए । मन्त्री घिसिङले स्थानीयसँग भेट्दै छिट्टै निर्णय हुने बताएका थिए । यो संगै इटहरीस्थित कार्यालयले पुल निर्माणको ठेक्का रद्द गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here