अर्जुनधारा ।

चासोक तङनाम एवम् उधौली पर्व–२०८२ को अवसरमा झापाको अर्जुनधारा नगरपालिका–१ मदनपुरस्थित चासोक तङनाम व्यवस्थापन समितिको आयोजनामा आइतबारदेखि अन्तर सामुदायिक वन उपभोक्ता समूह भेट्रान्स नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।
स्थानीय संस्कृति खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष उपेन्द्र बस्नेतले उद्घाटन गरेका थिए ।अर्जुनधारा र छिमेकी पालिका माई नगरपालिकामा रहेका जम्मा आठ वटा सामुदायिक वन उपभोक्ता समूहको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यही मंसीर १७ गते हुने समितिका उपाध्यक्ष एवम् प्रतियोगिता आयोजक समितिका संयोजक विजय सेन्दाङले जानकारी दिए । उनका अनुसार प्रतियोगिताका विजेता र उपविजेता टिमले नगद पुरस्कार क्रमश ४० हजार र ३० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

त्यसैगरी सोही दिन सम्पन्न भएको उद्घाटन खेलमा अर्जुनधारा–९ र ११स्थित नमूना सामुदायिक वन उपभोक्ता समूह र अर्जुनधारा–१स्थित हचुमासा सामुदायिक वन उपभोक्ता समूह विजयी हुँदै प्रतियोगिताको सेमीफाइनलमा पुगेको छ ।
पहिलो खेलमा अर्जुनधारा–२स्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहलाई ६–० गोल अन्तरले पराजित गर्दै नमूना सेमीफाइनलमा पुग्न सफल भएको हो । नमूनाको जीतको लागि खेलको २४औं, ३७औं र ४९औं मिनेटमा बाबुराम धिमालले गोल गर्दै प्रतियोगिताको पहिलो ह्याटरीक गरेका थिए ।
त्यस्तै खेलको २५औं र ३०औं मिनेटमा युवराज गिरीले दुई गोल र खेलको ११औं मिनेटमा टंकप्रसाद राईले गोल गरेका थिए । विजेता टिमका धिमाल खेलको उत्कृष्ट खेलाडी घोषित भएका थिए । उनलाई कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष बस्नेत, आयोजक समितिका अध्यक्ष राजेश जवेगुलगायतले नगद पुरस्कार १५ सयसहित ट्रफी प्रदान गरेका थिए । उक्त नगद पुरस्कार प्रगतिशिल निर्माण सेवाका प्रोपाइटर गंगा गौतमले सौजन्य गरेका थिए ।
यता दोस्रो खेलमा अर्जुनधारा–१स्थित हलुवागढ सामुदायिक वन उपभोक्ता समूहलाई टाइब्रेकरमा ३–२ले पराजित गर्दै हचुमासा सामुदायिक वन उपभोक्ता समूह सेमीफाइनलमा पुग्न सफल भएको हो ।
निर्धारित समयको खेलमा दुवै टिमबाट २–२ गोलको बराबरीमा खेल सम्पन्न भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । हचुमासाको लागि खेलको २४औं र ४०औं मिनेटमा क्रमश मदन लिमेल मगर र सुवास राईले तथा हलुवागढको लागि खेलको १५औं र १७औं मिनेटमा विक्रम गोलेले गोल गरेका थिए ।

दोस्रो खेलमा विजेता टिमका गोलरक्षक सुवास राई खेलको उत्कृष्ट खेलाडी घोषित भएका थिए । उनलाई कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष बस्नेत र कार्यक्रमका अध्यक्ष जवेगुले नगद पुरस्कार १५ सयसहित ट्रफी प्रदान गरेका थिए । समितिका अध्यक्ष जवेगुको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत कोषाध्यक्ष शर्मीला सुब्बाले र कार्यक्रमको सञ्चालन पत्रकार अमित खम्बूले गरेका थिए ।
भोलि(सोमबार)को पहिलो खेल दिँउसो १ बजे अर्जुनधारा–४स्थित दहीझोडा सामुदायिक वन उपभोक्ता समूह र अर्जुनधारा–२ र माई–४स्थित दाहालटार सामुदायिक वन उपभोक्ता समूह तथा दोस्रो खेल दिँउसो २ बजे अर्जुनधारा–३स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूह र अर्जुनधारा–३ र माई–४स्थित सुखानी सामुदायिक वन उपभोक्ता समूहबीच प्रतिस्पर्धा हुने खेल तालिका रहेको छ ।
प्रतियोगितामा विजेता र उपविजेता हुने टिमलाई मंसीर १८ गते आयोजना हुने चासोक तङनाम र उधौली पर्व–२०८२ विशेष शुभकामना आदानप्रदान कार्यक्रममा पुरस्कारहरु वितरण गरिने प्रतियोगिता आयोजक समितिका संयोजक सेन्दाङले जानकारी दिए ।


























