झापा । संगठन विस्तारको क्रममा रहेको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले झापा जिल्ला कमिटी गठन गरेको छ ।
बिर्तामोड नगरपालिका–४ स्थित हिमालप्रकाश कन्दङ्वाको निजी निवासमा शुक्रबार दिउँसो सम्पन्न भेलाले केशव भण्डारीको अध्यक्षतामा झापा जिल्ला कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा सुमनकुमार पोखरेल, सम्पूर्नी राई र प्रेम दमी राई चयन भएका छन् । सचिवमा शिवन सोराली मगर, सहसचिवमा करण संग्रौला र बालकुमार भुजेल तथा कोषाध्यक्षमा ससिता राई र सह–कोषाध्यक्षमा दीपेन्द्र राई रहेका छन् ।
प्रत्येक नगरपालिका र गाउँपालिकाबाट पाँच–पाँच जना सदस्य रहने गरी जिल्ला कमिटीलाई पूर्णता दिइने जनाइएको छ । आगामी पुस ९ गते केन्द्रीय अध्यक्ष हर्क साम्पाङको उपस्थितिमा बिर्तामोड–५ स्थित सिटी सेन्टरमा जिल्ला सभा आयोजना गरिने पार्टीले जनाएको छ ।
भेलामा श्रम संस्कृति पार्टीका झापा जिल्ला सहजकर्ता हिमालप्रकाश कन्दङ्वाको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो । पार्टीका केन्द्रीय कोषाध्यक्ष समिता पालुङवा राई प्रमुख अतिथिका रूपमा सहभागी थिइन् । कार्यक्रममा दमक नगर कमिटी अध्यक्ष पूजा गुरुङसहित करिब ८०–९० जनाको उपस्थिति रहेको थियो ।




























