काठमाडौँ । “दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” अन्तर्गत आज दोस्रो दिन काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले व्यापक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । सडक दुर्घटना न्यूनीकरण र सुरक्षित सडक संस्कारको विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानबाट हजारौँ सडक प्रयोगकर्ता लाभान्वित भएका छन् ।
आजको अभियानअन्तर्गत ट्राफिक प्रहरीले ५ हजार ३ सय १ जना यात्रु तथा पैदलयात्रीलाई जेब्राक्रसिङ, आकाशे पुल र सब–वे प्रयोग गरी सुरक्षित तरिकाले बाटो काट्न प्रेरित गरेको छ । यस्तै, २ सय ७० वटा सडक फर्निचर सरसफाइ गरिएको छ भने १ सय ३५ वटा सवारीसाधनका चालकलाई ‘पिक एन्ड ड्रप’ सम्बन्धी जानकारी दिइएको छ ।
सडक सुरक्षालाई प्राथमिकतामा राख्दै ३ सय १९ जना चालकको एकदिने आँखा स्वास्थ्य परीक्षण गरिएको छ । साथै, २ सय ११ जना चालक तथा परिचालकसँग चियापान कार्यक्रम गरी प्रत्यक्ष संवादमार्फत सचेतना अभिवृद्धि गरिएको ट्राफिक प्रहरीले जनाएको छ । स्कुल तथा कलेजका १८ जना विद्यार्थीलाई ट्राफिक सचेतना दिइएको छ भने ४२ जना ट्रिपर चालकलाई दुर्घटना न्यूनीकरणसम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ ।
अभियानमा ८३ जना ट्राफिक स्वयंसेवक परिचालन गरिएका थिए । रात्रीकालीन दुर्घटना न्यूनीकरणलाई ध्यानमा राख्दै २ हजार ८ सय ८ जनालाई विशेष सचेतना दिइएको छ । यस्तै, ४ हजार ८ सय ३५ जना चालक तथा परिचालकसँग ‘२ मिनेट कार्यक्रम’ सञ्चालन गरिएको थियो ।
आजको दिन दुईपाङ्ग्रे सवारीसाधनका २ हजार २ सय ३४ जना चालक र चारपाङ्ग्रे सवारीसाधनका २ हजार ९ सय ३७ जना चालक गरी जम्मा १९ हजार ९ सय २३ जना सडक प्रयोगकर्ता विशेष सचेतना अभियानबाट लाभान्वित भएका छन् । यससँगै १० हजार ६ सय १० जनालाई ट्राफिकसम्बन्धी पर्चा–पम्प्लेट वितरण गरिएको छ । ‘No Horn’, ‘No Drink and Drive’, ‘Drug use is harmful’, लेन अनुशासन, ओभरस्पिड र रातो बत्तीसम्बन्धी सन्देशसहित ४ हजार ५ सय १४ वटा स्टिकर विभिन्न स्थानमा टाँस गरिएको छ ।
“सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी” भन्ने नाराका साथ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको आयोजनामा हिजोबाट ट्राफिक सप्ताह सुरु भएको हो । सप्ताहभर ट्राफिक नियम, अनुशासन र सुरक्षित यात्रा सम्बन्धी जनचेतनामूलक गतिविधि सञ्चालन गरिने कार्यालयले जनाएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सडकमा हुने सानो लापरबाहीले ठूलो दुर्घटनाको रूप लिन सक्ने यथार्थलाई आत्मसाथ गर्दै सुरक्षित सडक संस्कार विकास गर्न ट्राफिक सप्ताह आयोजना गरिएको बताए । सडक दुर्घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण नै अभियानको मुख्य उद्देश्य रहेको उहाँको भनाइ छ ।































