झापा।

पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र काठमाडौंका पूर्व मेयर एवम् राष्ट्रिय स्वतन्त्र पार्टीले भावी प्रधानमन्त्रीको रुपमा अघि सारेका बालेन्द्र शाह एउटै निर्वाचन क्षेत्रमा आमनेसामने भएपछि झापा ५ राष्ट्रिय मात्रै होइन अन्तर्राष्ट्रिय चासोको केन्द्र बनेको छ ।
‘भावी प्रधानमन्त्री’ का उम्मेदवारबीचको प्रतिस्पर्धालाई नेपाली नागरिक मात्रै नभएर विदेशीले पनि चासोका साथ हेरिरहेका छन् । एमाले अध्यक्ष ओली आफ्नो परम्परागत क्षेत्रबाट पुनः जनादेश खोजिरहेका छन् भने बालेन्द्र शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टीले ‘परिवर्तनको प्रतीक’ का रूपमा अघि सारेको छ । यसैले यो चुनाव परम्परागत शक्ति र नयाँ राजनीतिक लहरबीचको प्रतिस्पर्धा हुने विश्लेषण गरिएको छ ।
झापा–५मा कूल १ लाख ६३ हजार ३ सय ७९ मतदाता छन् । स्थानीय तह निर्वाचन–२०७९को वडाध्यक्ष मत परिणाम हेर्दा एमाले एक्लै करिब ४१ हजार मतसहित अग्रस्थानमा देखिन्छ । नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी माओवादी र एकीकृत समाजवादी गठबन्धनको संयुक्त मत करिब ३४ हजार रहेको देखिन्छ । झापा–५को चुनावी परिणाममा सबैभन्दा ठूलो भूमिका राष्ट्रिय प्रजातन्त्र पार्टी र दमक नगरपालिकाका मेयर राम थापाको निर्णयले खेल्ने अनुमान पनि गरिंदैछ ।
यसैगरी झापा क्षेत्र नम्बर २लाई पनि स्थापित नेतादेखि नयाँ विकल्पसम्मको प्रतिस्पर्धाले रोचक बनाइरहेको छ । झापा–२मा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच कडा टक्कर हुने देखिएको छ । यहाँ मुख्य प्रतिस्पर्धीका रुपमा एमालेबाट पूर्व सभामुख देवराज घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पूर्वउपसभामुख इन्दिरा राना मगर, राप्रपाबाट अघिल्लो निर्वाचनका उपबिजेता स्वागत नेपाल, नेपाली कांग्रेसबाट पूर्व मन्त्री सरिता प्रसाईं, नेपाली कम्युनिष्ट पार्टीबाट पूर्व मन्त्री धर्मशीला चापागाँईंसहित १८ जना उम्मेदवार प्रतिष्पर्धामा छन् ।
यो क्षेत्रमा पूर्वसभामुख र उपसभामुखसहित मुख्य तीन प्रभावशाली महिला उम्मेदवारको प्रतिस्पर्धाले पनि चुनावलाई अझ रोचक बनाएको छ । यहाँ संगठनका हिसाबले कांग्रेस बलियो मानिए पनि मतदातामा देखिएको ‘परिवर्तनको लहरले मतदान कता हुन्छ भन्न सकिने अवस्था छैन । एक लाख ४७ हजार ५ सय २२ मतदाता रहेको यो निर्वाचन क्षेत्रमा १८देखि ४० वर्ष उमेर समूहका मतदाताको संख्या ४० प्रतिशत छ । जुन निर्णायक मत बन्न सक्छ ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री कष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्रका रुपमा चिनिएको झापा क्षेत्र नम्बर ३मा पनि यसपटक कम रोचक भीडन्त छैन । कांग्रेस नेता सिटौलालाई हराएर राष्ट्रिय राजनीतिमा छाएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन तेस्रो जित अर्थात् ‘ह्याट्रिक’ को लक्ष्यसहित मैदानमा छन् ।
तर, यसपटक अघिल्ला निर्वाचनहरुमा जस्तो गठबन्धन नभएको र परम्परागत शक्तिहरुसंग भीड्न नयाँ शक्ति र अनुहारहरु आएका छन् । यो क्षेत्रमा एमालेबाट हरिबहादुर राजवंशी मैदानमा छन् भने कांग्रेसले राजेन्द्र घिमिरेलाई मैदानमा उतारेको छ ।
यस्तै परिवर्तनको नारा बोकेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट सो पार्टीका जिल्ला सभापति प्रकाश पाठक चुनावी प्रतिस्पर्धामा छन् । झापा–३मा भद्रपुर नगरपालिका, कचनकवल, हल्दिबारी र बाह्रदशी गाउँपालिका तथा बिर्तामोड नगरपालिकाको १० नम्वर वडा समेटिएका छन् । आदिवासी जनजाति बाहुल्य क्षेत्र भएकाले राजवंशी समुदायको मत यसपटक सबैभन्दा महत्वपूर्ण मानिएको छ ।
यसैगरी यसअघिका निर्वाचनहरुमा कांग्रेसका वर्तमान उपसभापति विश्वप्रकाश शर्माले जित्दै आएको झापा क्षेत्र नम्बर १मा दुई स्वतन्त्रसहित १५ उम्मेदवार मैदानमा रहे पनि मुख्य भिडन्त भने नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच नै केन्द्रित हुने देखिन्छ । कांग्रेसले पार्टीका जिल्ला उपसभापति केशवराज पाण्डेलाई यो निर्वाचन क्षेत्रमा उम्मेदवार बनाएको छ भने नेकपा एमालेबाट सहकारी क्षेत्रबाट आएका रामचन्द्र उप्रेती चुनावी मैदानमा छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वसमानुपातिक सांसद निशा डाँगीलाई अघि सारेको छ । यस्तै नेपाली कम्युनिष्ट पार्टीबाट इञ्जिनियर अशेष घिमिरे प्रतिस्पर्धामा छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्राध्यापक हेमराज कार्की प्रतिस्पर्धामा छन् ।
विशेषगरी यो क्षेत्रमा धुलाबारी र काँकरभिट्टा बजार क्षेत्र निर्णायक मानिएका छन् । करिब ४० हजारभन्दा बढी मतदाता रहेको बजार क्षेत्रमा कसले जित्छ भन्ने प्रश्नले चुनावी परिणाम तय गर्ने अनुमान गरिएको छ । यो निर्वाचन क्षेत्रमा कूल मतदाता संख्या १ लाख ३१ हजार ६७ रहेको छ । झापा–१को चुनावी बहसमा विकासभन्दा पनि सुरक्षा र जीवनयापनको मुद्दा अगाडि आएको छ । जंगली हात्तीको आक्रमण स्थानीयको दैनिकीसँग जोडिएको विषय बनेको छ । सबै दलले यसलाई एजेण्डा बनाएका छन् ।
झापा क्षेत्र नम्बर–४लाई सँधै ‘लो–प्रोफाइल’ क्षेत्रका रूपमा लिने गरिएकोमा यसपटक परिस्थिति फेरिएको छ । यसअघि लगातार दुईपटक जित्दै आएका लालप्रसाद साँवालाई एमालेले तेस्रोपटकका लागि मैदानमा उतारेको छ भने कांग्रेसका जिल्ला सभापति देउकुमार थेबे पनि तेस्रो प्रयासका लागि मैदानमा उत्रिएका छन् ।
झापा–४मा कांग्रेस र एमालेबाट पुरानै अनुहार मैदानमा उत्रिँदा रास्वपाले शम्भुप्रसाद ढकाललाई उठाएको छ । झापा गाउँपालिका, शिवसताक्षी नगरपालिका, कन्काई नगरपालिकाका अधिकांश वडा, गौरीगञ्ज गाउँपालिकाका केही क्षेत्र र गौरादह नगरपालिका–९ समेटिएको यस क्षेत्रमा कूल १ लाख ३० हजार ७ सय १२ मतदाता छन् । परम्पगरागत रुपमा हेर्दा यो क्षेत्रमा एमालेको बर्चश्व रहँदै आएको देखिन्छ तर यहाँको चुनावी परिणामले जिल्लाको राजनीतिक शक्ति सन्तुलन नै बदल्न सक्ने देखिएको छ ।
समग्रमा भन्ने हो भने झापाका पाँच वटा क्षेत्रमध्ये तीन वटा क्षेत्र राष्ट्रिय राजनीतिकै इपीसेन्न्टर बनेका छन् । २०७९को निर्वाचन पछि ५० हजार २ सय २६ जना मतदाता थपिएको झापामा कूल सात लाख १३ हजार ५ सय ३७ मतदाता यो निर्वाचनमा सहभागी हुँदैछन् । झापालाई कुन–कुन क्षेत्रले पुराना नेताको दबदबा कायम राख्छ र कहाँ नयाँ शक्ति विजयी हुन्छन् भन्ने मतदाताको मनोविज्ञानले निर्धारण गर्नेछ । तर, त्यसका लागि फागुन २१ को मतदान नै पर्खिनुको विकल्प छैन ।




























