झापा, पूर्व सभामुख तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवराज घिमिरेले महाकाली सन्धीलाई राष्ट्रघाती भनेर फैलाइएको प्रचार भ्रमपूर्ण र नियोजित भएको बताउनु भएको छ ।
झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनु भएका घिमिरेले निर्वाचन नजिकिँदै जाँदा आफूविरुद्ध गलत प्रचार गरिएको भन्दै त्यसको खण्डन गर्नुभयो ।
झापाको बिर्तामोडमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व सभामुख घिमिरेले केही दिनअघि नियोजित रुपमा सामाजिक सञ्जालमा महाकाली सन्धीमा हस्ताक्षर गरेर राष्ट्रघात गरेको भन्दै भिडियो सामग्री भाइरल गराएको प्रति आपत्ति जनाउँदै सार्वजनिक रूपमा स्पष्टीकरण दिनुभएको हो ।
महाकाली सन्धी राष्ट्रहितविरुद्ध नभई नेपाल–भारतबीचको साझा नदीको पानी उपयोग सम्बन्धी ऐतिहासिक समझदारी भएको उहाँको भनाई छ ।
महाकाली नदीको पानी आधा–आधा प्रयोग गर्ने सहमति भएको विषयलाई तोडमोड गरेर राष्ट्रघाती भनियो, उहाँले भन्नुभयो – “त्यो सन्धी राष्ट्रघात होइन, भ्रम सिर्जना गरेर राजनीतिक लाभ लिन खोजिएको हो ।”
विश्व इतिहासमै साझा नदीको पानी बराबरी आधारमा उपयोग गर्ने समझदारी स्थापित हुनु सकारात्मक उपलब्धि भएको उल्लेख गर्नुभएका घिमिरेले उक्त व्यवस्था अहिले पनि सही रहेको र त्यसलाई गलत भन्नु यथार्थ विपरीत हुने उहाँको भनाई छ ।
महाकाली सन्धीप्रति आफू अहिले पनि स्पष्ट रूपमा पक्षमा रहेको बताउँदै घिमिरेले सन्धीलाई लिएर व्यक्तिविशेषमाथि लक्षित आक्रमण हुनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्नुभयो ।
निर्वाचनको मुखमा यस प्रकारका गतिविधि हुनु नियोजित हो। यसले नेपाली जनतालाई गलत दिशातर्फ लैजान खोजिरहेको छ,” उहाँले भन्नुभयो ।
महाकाली सन्धीमा हस्ताक्षर गर्दा आफू सरकारको आधिकारिक प्रतिनिधि नभएको स्पष्ट पार्दै पार्टीको हैसियतमा गरिएको निर्णय देशहितमै रहेको जिकिर गर्नुभयो ।
राजनीतिक प्रसङ्गमा उहाँले नेकपा (एमाले) विरुद्ध विभिन्न शक्ति सक्रिय भएको आरोप लगाउनुभयो । आन्तरिक रूपमा पुनरोत्थानवादी, प्रतिगामी तथा अग्रगतिलाई रोक्न चाहने शक्तिहरू एकजुट भएर एमाले कमजोर पार्न लागिपरेको उहाँको दावी थियो ।
नेपाललाई आफ्नो स्वार्थअनुसार उपयोग गर्न चाहने साम्राज्यवादी शक्ति र कम्युनिष्ट प्रभाव नियन्त्रण गर्न खोज्ने पूँजीवादी शक्ति पनि एमालेविरुद्ध सक्रिय छन्,” उहाँले भन्नुभयो “तर राष्ट्रियताको संरक्षण गर्ने सवालमा एमाले सधैँ दृढ रहँदै आएको छ।”
आफू सधैँ देश र जनताको हितमा उभिएको बताउँदै भ्रम र आरोपभन्दा तथ्यका आधारमा मूल्याङ्कन गर्न उहाँले मतदातासँग आग्रह गर्नुभयो ।





























