नेपालमा मनाइने एक विशेष पर्व हो– मातातीर्थ औंशी यो दिन आमा र मातृत्वको सम्मान गर्ने प्रचलन छ । त्यही कारण आजको दिन आमाहरुलाई मिठा खाद्य परिकार, कपडा र अन्य उपहारहरु प्रदान गरेर आमाको मुख हेर्ने गरिन्छ । आमा नहुनेहरुले काठमाडौंको मातातीर्थ पोखरीमा स्नान गरेर आमाको स्मरण गर्दै तर्पण दिन्छन् । आमा बराबर अर्को तीर्थ छैन÷हुँदैन भन्ने हाम्रो वैदिक मान्यता छ । आमाले एउटा सन्तानलाई गर्भमा लिँदा, जन्म दिँदा र उसको स्याहारसुसारमा समर्पण गरेको महत्वपूर्ण समयको ऋण कहिल्यै तिरेर सकिन्नँ भन्ने मान्यता छ । त्यही मान्यताका आधारमा आजको दिनलाई आमाको मुख हेर्ने दिन पनि भन्ने गरिएको छ ।

मातृऔंशी, मातृदिवस, मातातीर्थ औंशी आदि नामले चिनिने आजको दिन आमालाई प्रशन्न पारियो भने जीनवमा आइपर्ने संकटको समाधान सजिलै गर्न सकिन्छ भन्ने विश्वास छ । हुन पनि आमाको त्याग, तपस्या र बलिदानबाटै सृष्टिले निरन्तरता पाएको छ । आमाबिना सृष्टि सम्भव छैन, त्यसैले सन्तानले आमाप्रति सँधै आभारी हुनुपर्छ । धर्ती सरहकी आमाको सहनशीलता मात्र होइन सन्तानप्रतिको निःस्वार्थ स्नेह प्रदान गर्ने अरु कोही छैन र अरु कोही हुँदैन पनि । त्यसकारण जन्मदातृ आमाप्रति मन, वचन र कर्मले सम्मान गर्नु सन्तानको पहिलो कर्तव्य हो ।
आमा जीवित नहुनेहरुले आजको दिन मातातीर्थ गएर आमाको मुक्तिका निमित्त तर्पण दिने गर्छन् । उक्त स्थानको पोखरीमा पवित्र मनले हेरेमा दिवंगत आमाको स्वरुपको दर्शन पाइन्छ भन्ने जनविश्वास रहेको छ । भगवान विष्णुका अवतार पुरुषोत्तम श्रीराम वनवासका समयमा मातातीर्थ आइपुग्दा स्थानीय बासिन्दाका बीच युद्ध भएको धार्मिक कथन छ । त्यसबेला देवी सीतालाई प्यास लाग्यो र श्रीरामले गंगामाताको स्तुति गर्दै जमिनमा वाण प्रहार गर्दा पानीको कुण्ड बनेको धार्मिक मान्यता छ । त्यहीकारणले पवित्र तीर्थ कहलिएको मातातीर्थमा शास्त्रीय विधिले कर्मकाण्ड गरेर मृतात्माले मोक्षको गति प्राप्त गर्छन् र सन्तानले सुखसन्तोष पाउँछन् भन्ने विश्वास छ ।
वर्तमानमा आमा र सन्तानका बीचको सम्बन्ध भौतिक रुपले टाढिँदै गएको छ । सन्तान सुख र ऐश्वर्यको खोजीमा आमाबाट अलग भइरहेका छन् । यसले मन र भावनाले एक भएर पनि व्यवहारिक सम्बन्ध कमजोर भइरहेको छ । यद्यपि आमाप्रतिको सम्मान यथावत छ र भौतिक दूरी भएर पनि आधुनिक प्रविधिको प्रयोगले सन्तान आमासँगै छन् । अनि पनि प्रत्येक आमाहरु सन्तानसँगको सामीप्यता नै चाहन्छन् जो प्रविधिले जोडेर तापनि प्राप्त हुँदैन । तसर्थ आजको दिनले आमाप्रति श्रद्धा, कृतज्ञता र भक्ति जीवन्त राख्नु पर्दछ । त्यसका लागि ओठे र देखावटी प्रेम होइन आमाको सेवा, त्याग र समर्पणको मूल्यबोध गर्नुपर्छ । मातातीर्थ औंशीको प्रत्येक सन्तानलाई यही प्रेरणा प्रदान गरोस्– शुभकामना ।




























