भ्रष्टाचारको जरो र उन्मुलनको बाटो

0
29

नेपालमा भ्रष्टाचारको बहस प्रायः आर्थिक अनियमितता, घुसखोरी र शक्ति दुरुपयोगमा केन्द्रित रहँदै आएको छ । तर, यो केबल परिणाम हो, कारण होइन । वास्तवमा आर्थिक भ्रष्टाचार आफैंमा उत्पन्न हुँदैन, यसको जरो भ्रष्ट विचार र नैतिक विचलनसँग गाँसिएको हुन्छ । जब विचार नै विकृत हुन्छ र नैतिकता कमजोर बन्छ, तब आर्थिक भ्रष्टाचार अनिवार्य परिणामको रूपमा देखा पर्छ । त्यसैले आजको राजनीतिक सन्दर्भमा भ्रष्टाचारको अन्त्य भनेकै विचार र नीतिको शुद्धता हो ।

भ्रष्टाचारलाई केवल धनसम्पत्तिसँग जोडेर हेर्नु एक प्रकारको सरलीकरण हो । घुस लिने कर्मचारी वा कमिशन खाने नेता अन्तिम चरणका पात्र हुन् । उनीहरू त्यो संरचनाको उत्पादन हुन्, जहाँ विचार र नैतिकताको आधार नै कमजोर भइसकेको हुन्छ । जब कुनै व्यक्तिले आफ्नो स्वार्थलाई नै सत्य ठान्न थाल्छ, गलत कार्यलाई उचित ठह¥याउन थाल्छ, त्यहाँबाट नै भ्रष्टाचारको वास्तविक यात्रा शुरु हुन्छ ।

वैचारिक भ्रष्टाचारको सबैभन्दा खतरनाक पक्ष के हो भने यसले गलतलाई बैधता दिन्छ । जब नेताहरूले सिद्धान्तलाई परिस्थिति अनुसार मोड्न थाल्छन्, विचारधारालाई केवल चुनावी नारामा सीमित गर्छन्, तब राजनीति मूल्यविहीन बन्दै जान्छ । सत्ता प्राप्तिका लागि जुनसुकै गठबन्धन, कुनै पनि सम्झौता र कुनै पनि समझदारी स्वीकार्य हुने संस्कारले नैतिकताको आधार खस्काउँछ । यस्तो अवस्थामा आर्थिक भ्रष्टाचार केवल समयको कुरा मात्र रहन्छ ।

नैतिक भ्रष्टाचार अझ सूक्ष्म तर प्रभावशाली हुन्छ । यो त्यतिबेला देखिन्छ, जब मानिसले आफूले गरेको गलत कामलाई पनि सामान्य मान्न थाल्छ । ‘सबैले गर्छन्’ भन्ने तर्क नै यसको सबैभन्दा ठूलो आधार हो । जब यो सोच समाजमा व्यापक बन्छ, तब इमानदारिता अपवाद बन्छ र बेइमानी सामान्य । यही मानसिकताले प्रशासनिक संरचनादेखि राजनीतिक नेतृत्वसम्म सबै तहलाई प्रभावित पार्छ ।

अहिलेसम्मको नेपालको राजनीतिलाई हेर्दा, विचारभन्दा सत्ता र सिद्धान्तभन्दा स्वार्थ हाबी भएको स्पष्ट देखिन्छ हिजोअस्तिदेखि । पुराना राजनीतिक दलहरूमा वैचारिक र नीतिगत स्पष्टता कमजोर हुँदै गएर यो समय जन्मियो । तर, नयाँमा त झन अन्यौल नै अन्यौल छ । एकातिर समाजवादको कुरा गर्ने, अर्कोतिर व्यवहारमा विपरीत अभ्यास गर्ने प्रवृत्तिले जनतामा गहिरो भ्रम सिर्जना गरेको हो यस अघि पनि । जब नेताहरू आफैं आफ्नो विचारप्रति प्रतिबद्ध हुँदैनन्, तब उनीहरूबाट नैतिक आचरणको अपेक्षा गर्नु कठिन हुन्छ, हुन्थ्यो र हुनेछ ।

यही वैचारिक अस्पष्टता र नैतिक कमजोरीले आर्थिक भ्रष्टाचारलाई मलजल गरिरहेको थियो । जब निर्णयहरू सिद्धान्तका आधारमा होइन, व्यक्तिगत लाभका आधारमा हुन थाल्छन्, तब नीति निर्माणदेखि कार्यान्वयनसम्म सबै प्रक्रिया प्रभावित हुन्छन् । ठेक्का, नियुक्ति, बजेट वितरण सबैमा पारदर्शिता हराउँदै जान्छ र आर्थिक अनियमितता संस्थागत बन्दै जान्छ । यही हुँदै आयो ।
समस्या केवल नेताहरूमा मात्र सीमित छैन, यसले समाजको समग्र चेतनालाई प्रभावित गरेको छ । जब नागरिकले नैतिकता र विचारलाई प्राथमिकता दिन छाड्छन्, तब उनीहरू पनि त्यही प्रणालीका हिस्सा बन्छन् । मतदान गर्दा विचारभन्दा जात, सम्बन्ध वा तात्कालिक लाभलाई प्राथमिकता दिने प्रवृत्तिले पनि यो समस्यालाई झन् गहिरो बनाएको छ ।

यस अवस्थाबाट बाहिर निस्कनका लागि पहिलो कदम भनेकै विचारको शुद्धता हो । राजनीति केवल सत्ता प्राप्तिको माध्यम होइन, त्यो समाज परिवर्तनको साधन हो भन्ने बुझाइ पुनःस्थापित गर्न आवश्यक छ । राजनीतिक दलहरूले आफ्नो विचारलाई स्पष्ट, सुसंगत र व्यवहारमा लागू गर्न सक्नुपर्छ । सिद्धान्त र व्यवहारबीचको दूरी कम नगरेसम्म विश्वास पुनःनिर्माण जटिल हुने बुझ्नु आवश्यक छ ।

नैतिकताको पुनस्र्थापना अर्को महŒवपूर्ण पक्ष हो । इमानदारी, उत्तरदायित्व र पारदर्शितालाई केवल भाषणमा होइन, व्यवहारमा देखाउनुपर्छ । नेतृत्वले उदाहरण प्रस्तुत गर्नुपर्छ, किनकि समाजले त्यहीबाट सिक्छ । यदि नेतृत्व नै नैतिक रूपमा कमजोर छ भने प्रणाली बलियो बन्न सक्दैन ।

शिक्षा प्रणालीमा पनि मूल्य, शिक्षालाई दिनु आवश्यक छ । केवल सैद्धान्तिक र प्राविधिक ज्ञानले मात्र सक्षम नागरिक निर्माण हुँदैन, त्यसका लागि नैतिक चेतना र सामाजिक उत्तरदायित्व पनि उत्तिकै आवश्यक हुन्छ । नयाँ पुस्तामा सही र गलत छुट्याउने क्षमता विकास गर्न सकिएन भने भविष्यमा पनि यही चक्र दोहोरिने छ ।

अन्ततः आर्थिक भ्रष्टाचारबिरुद्धको लडाइँ केवल कानूनी कारवाहीले मात्र जित्न सकिँदैन । यसको वास्तविक समाधान विचार र नैतिकताको सुधारमा निहित छ । जबसम्म हामीले सोच र चरित्रमा परिवर्तन ल्याउन सक्दैनौं, तबसम्म कुनै पनि नीति वा संरचना प्रभावकारी हुन सक्दैन ।

त्यसैले आजको राजनीति र समाजका लागि सबैभन्दा ठूलो चुनौती र आवश्यकता एउटै हो– विचार र नीतिको शुद्धता । यही शुद्धताले मात्र आर्थिक भ्रष्टाचारलाई नियन्त्रण गर्न सक्छ र दीर्घकालीन रूपमा एउटा न्यायपूर्ण, पारदर्शी र उत्तरदायी समाज निर्माण गर्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here