झापा।

नेपाली संगीत क्षेत्रमा फरक स्वाद र नयाँ ऊर्जा थप्ने उद्देश्यसहित तयार पारिएको गीत ‘ओ डारलिङ काले काले छौ’ एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ।
पश्चिमेली फ्लेभरले सजिएको यस गीतले समकालीन संगीतप्रेमीहरूलाई नयाँ अनुभूति दिने विश्वास गरिएको छ।
सार्वजनिक कार्यक्रम सुमधुर, स्नेहिल र संगीतमय वातावरणले भरिपूर्ण बनेको थियो। विशेषगरी गायिका जुनु प्रसाईको जन्मदिनको अवसरको सुखद संयोगले कार्यक्रमलाई अझ उल्लासमय र स्मरणीय बनाएको थियो। उपस्थित अतिथि तथा संगीतप्रेमीहरूले एकैसाथ गीत विमोचन र जन्मदिनको खुशी साटासाट गर्दा वातावरणमा आत्मीयता र उत्साह झल्किएको देखिन्थ्यो ।
‘ओ डारलिङ काले काले छौ’ गीत नेपाली संगीतको परम्परागत धाराभन्दा केही पृथक् शैलीमा प्रस्तुत गरिएको छ। पश्चिमेली संगीतको प्रभाव र आधुनिक प्रस्तुतीकरणले यसलाई अझ आकर्षक बनाएको छ। गीतमा गायक सन्तोष विसी र गायिका जुनु प्रसाईले स्वर दिएका छन् भने शब्द तथा सिर्जना रमेश परियार को रहेको छ। सर्जकहरूको मेहनत, समर्पण र संगीतप्रतिको गहिरो लगाव गीतका प्रत्येक लय र शब्दमा प्रतिबिम्बित भएको अनुभूति गर्न सकिन्छ।
उक्त गीत नेपाली संगीत क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आउनुभएका गीतकार तथा उच्च अदालतका पूर्व न्यायाधीश भीमकुमार ओझा को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। उहाँको संगीतप्रतिको निरन्तर योगदानले नयाँ पुस्ताका सर्जकहरूलाई प्रेरित गर्दै आएको छ।
गीत सार्वजनिक भएसँगै देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली संगीतप्रेमीहरूलाई गीत सुनी, हेरी आफ्नो अमूल्य प्रतिक्रिया, सुझाव तथा सल्लाह प्रदान गर्न अनुरोध गरिएको आयोजक पक्षले जनाएको छ। सिर्जनालाई अझ परिस्कृत र सशक्त बनाउने उद्देश्यले दर्शक, श्रोताको प्रतिक्रियालाई विशेष महत्व दिइएको छ।
संगीत केवल मनोरञ्जनको माध्यम मात्र नभई भावनाहरूको सशक्त अभिव्यक्ति पनि हो। ‘ओ डारलिङ काले काले छौ’ जस्तो नवीन शैलीको प्रस्तुतीकरणले नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने दिशामा सानो तर महत्वपूर्ण पाइला चालिएको अनुभूति हुन्छ। आगामी दिनहरूमा यस्ता सिर्जनाहरूले नेपाली संगीतलाई अझ व्यापक र विविध बनाउँदै लैजाने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा गीतकार भीमकुमार ओझा ले गीतको विषयमा प्रकाश पार्दै उपस्थित सम्पूर्ण महानुभावहरूलाई स्वागत तथा धन्यवाद ज्ञापन गर्नुभएको थियो।


























