मुख्य नाकामा रु. १०० को सरसामानमा कडाइ, प्रहरीकै संरक्षणमा फर्सीको बीऊ तस्करी

0
2

पार्थ मण्डल
झापा ।

झापाको भद्रपुर–३स्थित मेचीपारि गाउँबाट प्रहरीकै संरक्षणमा चाइनिज फर्सीको वीऊ तस्करी भइरहेको छ ।

नेपाल सरकारको रु. १०० भन्दा बढीको सरसामान भारतबाट आयात गर्दा अनिवार्य रुपमा भन्सार तिर्नुपर्ने प्रावधानलाई सशस्त्र प्रहरीले सीमामा नाकामा कडाइ गरिरहेको बेला मेचीपारि गाउँबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संरक्षणमा ठूलो मात्रामा चाइनिज फर्सीको वीऊ तस्करी भइरहेको स्रोतले दावी गरेको छ । जिल्लाकै गौरीगञ्ज नाकाबाट तस्करी हुने चाइनिज फर्सीको वीऊ अहिले भद्रपुर नाकातर्फ आइपुगेको बताइन्छ ।

जिल्ला प्रहरी कार्यालय झापामा एसपी बसुन्धरा खडकाले नेतृत्व सम्हालेदेखि गौरीगञ्ज सीमा नाकाबाट हुने चाइनिज फर्सीको वीऊको तस्करी ठप्प भएको थियो । एसपी खड्का आउनुभन्दा अघि सो क्षेत्रबाट ठूलो मात्रा वीऊ तस्करी हुँदै आइरहेको थियो । त्यहीबेला त्यहाँका कारोबारी समूहले १० कन्टेनर चाइनिज फर्सीको वीऊ झापा ल्याएका थिए ।

८ कन्टेनर दमकको गोदाममा राखेर दुई कन्टेनर गौरीगञ्ज सीमा नाका पु¥याएका थिए । तर, प्रतिनिधिसभा सदस्य निर्वाचनको माहौल र भारतीय एसएसबीको कडाइका कारण सो वीऊ गौरीगञ्जकै गोदाममा थन्क्याइयो । वीऊ थन्क्याएपछि कारोबारीले शुरुमा कचनकवलको पाठामारी र केचना नाकाबाट तस्करी गर्न खोजे । तर, त्यहाँका भारतीय एसएसबीले लाइन दिन अस्वीकार गरेपछि उनीहरूले भद्रपुरको मेचीपारि गाउँलाई रोजे । त्यसपछि कारोबारीले गौरीगञ्जमा थन्किएको दुई कन्टेनर वीऊ भद्रपुर–५स्थित बसपार्क छेउको दुई वटा गोदाममा ल्याएर भण्डारण गरे ।

मेचीपारि गाउँ पारिपट्टिका भारतीय एसएसबीले लाइन दिने भएपछि भद्रपुरकै तुलाराम भन्ने कारोबारी लगायतका समूहले सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोष्टका सई देवराज पराजुली र मेचीपारि प्रहरी चौकीका असई आमाचु राजवंशीसँग सेटिङ मिलाए । त्यसपछि कारोबारीहरूले समय अनुकूल बनाएर रातको समयमा ट्याक्टरका ट्याक्टर वीऊ लोड गरी मेचीपारि गाउँसम्म पु¥याए ।

मेचीपारि गाउँका स्थानीय मोहन भन्नेले वीऊको जिम्मा लिएर भारत पठाउन सहयोग गर्ने गरेको स्रोतको दाबी छ । यहाँका कारोबारीले वीऊ भारत पठाए बापत केजीमा रु. २४ कमिशन पाउँछ । एक बोरा ४० केजीको भएकोले त्यो कटाए बापत बोरामा रु. ९६०मा कमिशन आउँछ । अहिलेसम्म मेचीपारि नाकाबाट ठूलो मात्रामा वीऊ भारत तस्करी भइसकेको स्रोतले दावी गरेको छ ।

गतबैशाख ५ गते मध्यरातमा मेचीपारि गाउँबाट वीऊ तस्करी भइरहेको भन्ने सूचना माथिल्लो निकायमा पुग्न लागेको जानकारी सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोष्टका सई पराजुली र मेचीपारि प्रहरी चौकीका असई राजवंशीले पाउने बित्तिकै वीऊ तस्करी रोक्न नाटक नै रच्यो । करिब ६० बोरा वीऊ भारत लैजान तयारी अवस्थामा रहेको बेला सशस्त्र र नेपाल प्रहरीले करिब ३० बोरा वीऊ नियन्त्रणमा लियो ।

सेटिङ मिलेका कारण सशस्त्र र प्रहरीका इञ्चार्जहरू तस्करी गर्ने कारोबारी अगाडि निरीह बने । पछि जागिर बचाउन शर्त बमोजिम कारोबारीले नेपाल प्रहरीलाई ९ बोरा, सशस्त्रलाई ३ बोरा र भारतीय एसएसबीलाई ३ बोरा गरी १५ बोरा वीऊ जिम्मा लगाए । बाँकी वीऊ त्यही दिन राति कारोबारीले भारत पु¥याए । नेपालमा फर्सीको वीऊको प्रति केजी खुद्रा बजार मूल्य १२ सयदेखि १५ सय रुपैयाँसम्म पर्छ ।

तर, प्रहरीले बरामद गरेको ९ बोरा वीऊ प्रतिकेजी रु. २५०को दरले ९१ हजारमा भद्रपुर भन्सार कार्यालय बुझाएको छ । त्यो रात होहल्लासँगै विवाद भए पनि कारोबारीहरूले केही दिन सोही नाकाबाट वीऊ तस्करी गरी रहे । सो नाकाबाट ट्याक्टरका ट्याक्टर वीऊ तस्करी हुँदा पनि जिल्लाका सुरक्षा निकायका प्रमुखहरू चुपचाप देखिए ।

मेचीपारिबाट वीऊ तस्करी भइरहेको व्यापक हल्ला चलेपछि अहिले कारोबारीहरू भद्रपुर–३कै सन्थाल बस्ती र किचकबध नाकातर्फ सरेका छन् । त्यो ठाउँ सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोष्ट पृथ्वीनगर, प्रहरी चौकी पृथ्वीनगर र किचकबध प्रहरी चौकीको क्षेत्रमा पर्छ । अब उनीहरूले त्यही नाकाबाट वीऊ तस्करी गर्न खोजिरहेको स्रोतको दाबी छ । कारोबारीले त्यहाँका इञ्चार्जहरुसँग पनि कुराकानी गरिसकेको बताइन्छ ।

यता सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे.क्वा. झापाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) अम्बिकाप्रसाद जोशीले मेचीपारि गाउँबाट चाइनिज फर्सीको वीऊ तस्करी भइरहेको बारेमा आफूलाई थाहा नभएको बताएका छन् । वीऊ तस्करी भइरहेको बारे त्यहाँका इञ्जार्चसँग बुझ्ने बताउँदै एसपी जोशीले भने– ‘वीऊ तस्करी भएको र त्यसमा संलग्नता देखिएमा विभागीय कारबाही गर्छौ ।’ अहिले जिल्लाका सीमा नाकाहरूबाट तस्करी गतिविधि नभएको उनको दावी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here