सडक बन्द, वडामा ताला

0
838

भद्रपुर।

कालोपत्रे सडक निर्माण गर्ने बिषयमा स्थानीय सरकार तथा सम्बन्धित निकायले चासो नदेखाएको भन्दै आक्रोशित गाउँलेले सडक बन्द गरी वडा कार्यालयमा समेत तालाबन्दी गरेका छन् ।

झापाको धुलावारी–ज्यामिरगढी–भद्रपुर सडक खण्ड निर्माणमा मेचीनगर नगरपालिकासहित जनप्रतिनिधिहरुले चासो नदेखाएको भन्दै स्थानीय गाउँलेले मेचीनगर नगरपालिका अन्तर्गतको १५ नम्बर वडा कार्यालयमा बिहीवार तालाबन्दी गरेका हुन् ।

धुलो र हिलो पीडित गाउँबासी मंगलबारदेखि आन्दोलनमा उत्रिएका हुन् । आन्दोलित बनेका गाउँबासीले तीन दिनदेखि धुलावारी–ज्यामिरगढी–भद्रपुर सडकखण्डमा बाँस तेस्र्याएर सडक अवरुद्ध गर्दै आइरहेका छन् । दुई दिनसम्म गाउँबासीले सडक अवरुद्ध गरे पनि यसतर्फ जनप्रतिनिधिले खासै चासो नदेखाएको कारण आक्रोशित गाउँलेले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । तीन दिनदेखि सडक अवरुद्ध हुँदा ठूला तथा साना सवारीसाधन आवतजावत ठप्प भएको छ । वडा कार्यालयमा तालबन्दीका कारण वडाबाट प्रदान हुने सेवा प्रभावित भएको थियो ।

करिब पाँच बर्षअघि सो सडक कालोपत्रे गर्न भनी करोडभन्दा बढी बजेट छुट्टिएको थियो । दुई वटा समिति गठन गरी करिव चार किलोमिटर सडक कालोपत्रे गरिएको पनि थियो । धुलाबारी क्याम्पसबाट दक्षिणतर्फ ज्यामिरगढी माविसम्मको सडक कालोपत्रे गरियो । तर, बनेको सडक दुई बर्षमै भत्कियो ।

विभिन्न समिति बनाएर निर्माण गरिएको सडक निर्माण कम्पनीका ठेकेदार र उपभोक्ता समितिको चरम लापरवाहीका कारण अहिले फेरि गाउँलले सास्ती भोग्नु परेको छ । ज्यामिरगढी औद्योगिक क्षेत्र बन्न थालेपछि सो सडकखण्डमा ठूल्ठूला सवारीसाधन आउने गरेका छन् । त्यही सवारीसाधनले सडक भत्काउँदा सडकबाट उड्ने धुलो र पानीपछि हिलोको कारण गाउँले बर्षोदेखि पीडित बनेका छन् ।

‘यो सडक निर्माणको बारेमा पटक–पटक वडा कार्यालय, स्थानीय सरकार र सांसदसँग कुरा राख्दा भई हाल्छ, हामी बनाउँछौ भन्ने मात्र उत्तर पायौं– स्थानीय चन्द्र घोर्साईले भने– ‘लामो समय सम्म स्थानीयले पीडा सहेर बसेका थिए, तर, स्थानीयको पीडा जस्ताको तस्तै देखिने भएपछि हामी सडक बन्ददेखि वडा कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम लिएर आन्दोलित भयौं ।

कालोपत्रे सडक नबनाएसम्म आन्दोलन नछाड्ने उनले चेतावनी दिए । सडक बनाउन डीपीआर तयार गर्ने र सडकलाई ऐना जस्तो बनाउँछौ भन्ने नेताको भाषण भाषणमै सीमित देखिएको स्थानीय बबिता बुढाथोकीले बताइन् । धुलोको कारण फोक्सो लगायत स्थानीयको स्वास्थ्यमा असर पर्न थालिसकेको उनको भनाइ छ ।

एक महिनाभित्र सडकको ठेक्का लाग्छ :नगर प्रमुख आचार्य

यसैबीच मेचीनगर नगरपालिका प्रमुख बिमल आचार्यले धुलावारी, ज्यामिरगढी हुँदै भद्रपुर सडकखण्ड कालोपत्रे बनाउने काममा नगरपालिका लागीपरेको बताएका छन् । ‘सडकको डीपीआर तयार भइसकेकोले अर्थ मन्त्रालयबाट बजेट निकासा भएलगत्तै एक महिनाभित्र कालोपत्रे सडकको काम शुरु हुन्छ’– प्रमुख आचार्यले भने । स्थानीयले गरेको आन्दोलनको बिषयमा बोल्दै उनले भने– ‘नगरपालिका सो सडक निर्माण गर्न पक्षमा लागीपरेको छ ।

वडा कार्यालयमा लगाइएको ताला खुलिसकेको बताउँदै उनले भने– ‘यो स्थानीयको मात्र समस्या होइन, नगरकै समस्या हो, यस बिषयमा प्रदेश सरकारका मन्त्री तथा सडकका कर्मचारीसँग विहीवार बिराटनगर पुगेरै छलफल गरेका छांै ।’ यो सडक कालोपत्रे बनाउन काममा अब ढिलासुस्ती नहुने उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here