एकल पुरुषलाई ६००० भत्ता

0
541

बिर्तामोड।

झापामा एकल पुरुष कति होलान् आधिकारिक तथ्याङ्क कसैसँग छैन । झापा गाउँपालिकाले भने अहिले एकल पुरुषको पनि तथ्याङ्क राख्न शुरु गरेको छ । जिल्लामै फरक र नौला–नौला कार्यक्रम सञ्चालन गर्दै आएको गाउँपालिकाले एकल पुरुषको तथ्याङ्क मात्र राखेको छैन, अहिले उनीहरुलाई भत्ता समेत प्रदान गर्न शुरु गरेको छ ।

एकल पुरुषलाई जीवनयापनमा सहज होस् भन्दै गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता सरह नै वार्षिक रुपमा ६ हजार रुपैयाँ प्रदान गर्न थालेको गाउँपालिका अध्यक्ष जयनारायण साहले जानकारी दिए । उनले भने– ‘हामीले गत वर्षबाट एकल पुरुषलाई भत्ता प्रदान गर्न थालेका हौं, गत वर्ष ३२ एकल पुरुलाई भत्ता वितरण गरिएको थियो ।’

यस वर्ष पनि गाउँपालिकाभित्रका एकल पुरुषको तथ्याङ्क संकलन भइरहेको र ६०देखि ७० वर्ष उमेर समूहका एकल पुरुषलाई भत्ता वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष साहले बताए । उनले भने– ‘७० वर्षभन्दा माथि संघीय सरकारले नै ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्छ तर, हामीले ६० वर्ष पार गरेका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेका छौं ।’

गाउँपालिकाले योसँगै ८४ वर्ष उमेर समूह पूरा गरेका ज्येष्ठ नागरिकलाई वार्षिक ६ हजार रुपैयाँ प्रदान गर्दै आएको छ । गतवर्षबाटै गाउँपालिकाले ८४ वर्ष उमेर समूह पूरा गरेकालाई वार्षिक ६ हजार रुपैयाँ प्रोत्साहन स्वरुप प्रदान गर्दै आएको अध्यक्ष साहले बताए । झापा गाउँपालिकामा ८४ वर्ष उमेर समूह पूरा गरेका एक सय ५० जना ज्येष्ठ नागरिक रहेको बताइएको छ ।

गाउँपालिकाले शिशु जन्मिँदा पनि एक हजार रुपैयाँ प्रदान गर्दै आएको छ तर, दलित समुदायलाई मात्रै । ‘ गाउँपालिकाले शिशु जन्मिएको ३५ दिनभित्र जन्म दर्ता गर्न आउने दलित परिवारलाई जन्मदर्तासँगै एक हजार रुपैयाँ प्रदान गर्छ’– अध्यक्ष साहले भने– ‘यो रकम आमालाई पौष्टिक आहारका लागि प्रदान गरिएको हो ।’

त्यस्तै गाउँपालिकाले बर्थिङ सेन्टरमा बच्चा जन्माउने आमालाई एक हजार रुपैयाँ प्रदान गर्दै आएको छ । ‘वर्थिङ सेन्टरमा बच्चा जन्माउने आमालाई संघीय सरकारले नै प्रोत्साहन स्वरुप रकम प्रदान गर्दै आएकोमा त्यसमा हामी एक हजार रुपैयाँ थपिदिन्छौं’– अध्यक्ष साहले भने– ‘सुत्केरी आमा र नवजात शिशुको ज्यान जोखिम नहोस् भन्दै स्वास्थ्य संस्थामै शिशु जन्माउन प्रोत्साहन स्वरुप एक हजार रुपैयाँ प्रदान गर्न थालिएको हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here