मेची नदी किनारमा रोपियो बाँस

0
817

झापा।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकमबाट कचनकवल–५ पाठामारीस्थित मेची नदी किनारमा बाँस रोपण गरिएको छ ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत झापा क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले छुट्याएको रकमबाट मेची किनारमा बाँस रोपिएको हो ।

सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा यो कार्यक्रममार्फत् चार करोड रुपैयाँ विनियोजन गरेको छ । मेची नदीको कटान रोेक्न तथा बोटविरुवा रोप्न भन्दै सांसद् लिङ्देनले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँ छुट्याएका थिए ।

नदीभन्दा २० मिटर पर गाउँपालिकाले माटोको बाँध बनाएको छ । नदी र बाँधबीचको क्षेत्रमा शनिबारबाट बाँस रोप्न शुरु गरिएको कचनकवल गाउँपालिका अध्यक्ष अञ्जार आलमले बताए ।

२ नम्बर प्रदेशबाट बम्बुसा प्रजातिको बाँस खरिद गरेर ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगरले जानकारी दिए । उनका अनुसार ५ मिटरको फरकमा बाँस रोपिएको छ ।

‘नदीमा पानीको वहाव बढ्दा कटान नहोस् भनेर यसो गरिएको हो’– गाउँपालिकाकी उपाध्यक्ष निमसरी राजवंशीले भनिन्– ‘नदी किनारमा डेढ किलोमिटरसम्म बाँस रोपिने छ ।’ करिब ३५ सय बाँसका विरुवा रोप्ने काम भइरहेको गाउँपालिकाका इञ्जिनियर अमित ढुंगानाले बताए । ‘यो कार्यमा स्थानीयको सहभागिता पनि उत्साहजनक छ’– उनले भने– ‘पहिलो दिन नै ८० प्रतिशत काम सकिएको छ ।’

सांसद् लिङ्देनले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम पूर्वाधारा, शिक्षा, पुल, कल्भर्ट, विद्युतीकरण, मदरसा, सामुदायिक भवन, पर्यटकीय विकास, सडक, विद्यालय सुधार, नदी नियन्त्रण लगायत कार्यमा खर्च गरिने जनाएका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको चार करोड रुपैयाँ खर्च गर्न उनले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि २० वटा आयोजना छनौट गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here