कचनकवलको स्तम्भ नभत्काउन माग

0
613

भद्रपुर। ऐतिहासिक कचनकवल स्तम्भ भत्काएर गाउँपालिकाले नयाँ स्तम्भ बनाउन लागेपछि स्थानीय युवाहरु बिरोधमा उत्रिएका छन् ।

नेपालकै होचो भू–भागको रुपमा परिचित कचनकवल स्तम्भको २०४४ साल पुस १६ गते तत्कालीन राजा वीरेन्द्रले कछुवाको आकृतिको जगमा स्तम्भ निर्माण गरेको इतिहास छ ।

ऐतिहासिक स्तम्भलाई मर्मत सम्भार गर्नुको साटो गाउँपालिकाले गुरुयोजना बनाएर इतिहास नै मेटाउने गरी नयाँ स्तम्भ निर्माण गर्न लागेको भन्दै त्यसलाई रोक्न कचनकवल–६स्थित बनियानी युवा क्लवले जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाएको छ ।

स्तम्भको बारेमा ध्यानाकर्षण गराउँदै क्लबका अध्यक्ष हरि बस्नेत (चट्टान)सहित गएको युवाहरुको टोलीले झापाका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेललाई ज्ञापनपत्र बुझाएको हो । क्लवले सोही ज्ञापनपत्र जिल्ला समन्वय समिति झापालाई समेत बुझाएको जनाइएको छ ।

सो ज्ञापनपत्रमा तत्कालीन राजा वीरेन्द्रले कछुवाको आकृतिमाथि स्तम्भ शिलान्यास गरेको इतिहास रहेको अवस्थामा वर्तमान स्थानीय सरकारको नाममा संरचना जीर्णोद्धार गर्नुभन्दा कछुवाको सट्टा माछाको आकृति बनाई सम्पदाको स्वरुप नै परिर्वतन हुने गरी स्तम्भ बनाउनका लागेकोमा आपत्ति जनाइएको छ ।

अध्यक्ष बस्नेतले भने– ‘ऐतिहासिक स्तम्भलाई मर्मत सम्भार गरी गुरुयोजना बनाएर अघि बढ्नु पर्ने थियो, तर गाउँपालिकाले त्यस्तो नगरेकोले हामी बिरोधमा उत्रिन बाध्य भएका हौं ।’

समुद्री सतहबाट ५८ मिटर उचाइमा रहेको कचनकवल मुलुककै होचो भू–भागमा परेपछि सरकारले यस क्षेत्रको ५ बिगाह ८ कठ्ठा क्षेत्रफल संरक्षणमा राखेको थियो । उक्त जमिनमा सामान्य तारबार र १४ फिट लम्बाइको एउटा स्तम्भ बनाइएको थियो । बर्षाैं अघि बनाइएको ऐतिहासिक स्तम्भ खुइलिएर भत्किन थालेको छ । कछुवाको सट्टा माछा आकृति स्तम्भ बनाएर गुरुयोजना बनाएकोे गाउँपालिकाले गत मंगलबार एक कार्यक्रमकाबीच नयाँ स्तम्भको शिलान्यास गरेको थियो ।

नया स्तम्भ बनाउनु हुदैन : सांसद बानिया

नेपालकै होचो भूभाग कचनकवल स्तम्भको संरक्षण र विकासको लागि चालूआर्थिक बर्षमा १ नम्बर प्रदेश सरकारले ५० लाख रुपैयाँ विनियोजन गरेको प्रदेश सांसद बसन्त बानियाँले जानकारी दिए ।

गाउँपालिकाको १४ लाख र प्रदेश सरकारको सोही रकमबाट गाउँपालिकाले पाँच बर्षीय गुरुयोजना बनाएर काम अघि बढाएको जानकारी आएको बताउँदै प्रदेश सांसद बानियाँले भने– ‘नयाँ स्तम्भ निर्माणको बारेमा गाउँपालिकाले केही जानकारी गराएको छैन, शिलान्यास कार्यक्रममा समेत आफूलाई बोलाइएन ।’ गाउँपालिकाले गुरुयोजना बनाएर काम अघि बढाएको कुरा राम्रो पक्ष नै हो– उनले भने– तर, ऐतिहासिक स्तम्भ नै हटाएर नयाँ स्तम्भ बनाउनु राम्रो पक्ष होइन, पुरानो स्तम्भलाई मर्मत सम्भार गरी थप बाँकी योजनाहरु बनाउनु पथ्र्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here